मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण वैशाख १३ देखि विराटनगरमा सुरू हुने भएको छ।
पछिल्लो समयमा कमै आयोजना हुने ५० ओभर फम्र्याटको एक दिवसीय प्रतियोगितामा नेपाल र भारतका ६ वटा टिमले सहभागिता जनाउने भएका छन्। मनमोहन मेमोरियल कप फाउण्डेसनले आयोजना गर्ने प्रतियोगिता वैशाख २० गतेसम्म चल्नेछ।
सुनसरीको इनरूवामा रहेको फाउन्डेसनले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार लिग कम नकआउट शैलीमा प्रतियोगिता खेलाइने छ। प्रतियोगिताले खेलाडी उत्पादन र एक दिवसीय खेलको विकासमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।
फाउन्डेसनका अध्यक्ष विप्लव घोषले दिएको जानकारी अनुसार दुई समूहमा विभाजित गरिएका ६ टिममध्ये दुवै समूहका दुई शीर्ष टिमले फाइनलमा उपाधिका लागि खेल्नेछन्।
समूह ए मा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको टिम र वागमती प्रदेश छन्। समूह बीमा नेपाल पुलिस, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।
विराटनगर १९ वैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख पुरस्कार पाउनेछन्। त्यस्तै प्लेयर अफ दि टुर्नामेन्ट हुने खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले १५–१५ हजार र प्लेयर अफ दि म्याचले ४ हजार नगद पुरस्कार पाउनेछन्।
फाउन्डेसनले यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको आयोजना गरिसकेको छ। सुनसरीको इनरुवामा भएको दुवै संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो।