इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा आठौं खेलमा लखनउ सुपर जायन्ट्सले सनसनीपूर्ण जित निकालेको छ।
गएराति लखनउले राजस्थान रोयल्सविरूद्ध २ रनको सनसनीपूर्ण जित निकालेको हो।
१८१ रनको लक्ष्य पछ्याएको राजस्थानलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। शिमरन हेटमायर र ध्रुव जुरेल ब्याटिङमा थिए। बलिङमा लखनउका अवेश खान थिए।
पहिलो बलमा एक रन लिएर ध्रुव जुरेलले हेटमायरलाई स्ट्राइक दिए। हेटमायरले ओभरको दोस्रो बलमा दुई रन लिए। तेस्रो बलमा हेटमायर क्याच आउट हुन पुगे। त्यसपछि आएका शुभम दुबेले पहिलो बल डट खेले दोस्रो बलमा दुई रन लिए। अन्तिम बलमा चार रन आवश्यक थियो। तर दुबेले एक रन मात्रै लिएपछि लखनउले २ रनको जित निकालेको हो।
राजस्थानले ५ विकेट गुमाएर १७८ रन बनायो। त्यसक्रममा यशश्वी जयसवालले सर्वाधिक ७४ रन बनाए। उनले ५२ बलमा ५ चौका र ४ छक्का हाने। अर्का ओपनर वैभव सुर्यवंशीले २० बलमा ३४ रन बनाउँदा २ चौका र ३ छक्का हाने।
कप्तान रियान परागले २६ बलमा ३ चौका र २ छक्का हानेर ३९ रन बनाएका थिए। अन्य ब्याटर चलेनन्।
बलिङका लखनउका अवेश खानले तीन तथा शार्दुल ठाकुर र एडेन मर्क्रमले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो।
लखनउका दुई ब्याटरले अर्धशतक बनाए। ओपनर एडेन मर्क्रमले ४५ बलमा ५ चौका र तीन छक्का हानेर ६६ रन बनाए। आयुश बदोनीले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ५० रन जोडे।
अब्दुल शामद ३० र डेविड मिलर ७ रन जोडेर नट आउट रहे।
बलिङतर्फ राजस्थानका वानिडु हसरंगाले २ तथा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुसार देशपाण्डेले एक/एक विकेट लिए।
लखनउ पाँच जितसहित अंक तालिकाको चौथो स्थानमा छ। राजस्थान आठौं स्थानमा छ। उसले दुई खेल मात्रै जितेको छ।