नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले बुधबार रोमाञ्चक जित निकाल्यो। लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले अन्तिम बल बाँकी छँदा आठ विकेटको क्षतिमा पूरा गरेर दुई विकेटको जित निकाल्यो।
विराटनगरको जितमा ओपनर लोकेश बमले जोडेको ७१ रन महत्वपूर्ण सावित भयो। उनी र बसिर अहमदबीच पाँचौं विकेटका लागि ७७ रनको साझेदारी भएको थियो। यो साझेदारी नै विराटनगरको जितको आधार बनेको थियो।
खेलपछि लोकेशले ठूलो लक्ष्य भए पनि जित्ने विश्वासका साथ मैदानमा उत्रिएको बताए।
‘ओपनर भएपछि जहिले पनि टोलीलाई राम्रो ओपनिङ दिने लक्ष्य हुन्छ,’ उनले भने, ‘ब्याटिङका लागि जानुअघि राम्रो ओपनिङ गर्ने कुरा भएको थियो। हामी खेल जित्छौं भन्ने विश्वास थियो। त्यो कुरा सबैले गरिरहेका थियौं। हामीले एकअर्कामा विश्वास गरेर नतिजा निकाल्न सफल भयौं।’
अघिल्ला दुई खेलमा राम्रो खेल्न नसकेका उनले आजको खेल जिताउन खेल्ने सहकर्मीलाई बताएका थिए।
‘दुई खेलमा राम्रो गर्न सकिनँ। त्यसैले आज पाएको बलमा राम्रो खेल्छु र राम्रो सुरूआत दिलाउँछु भन्ने थियो,’ उनले भने।
बसिर अहमदसँग खेललाई अघि बढाउने विषयमा क्रिजमा कुरा भएको उनले सुनाए।
‘बसिरसँग राम्रो खेल्नुपर्छ भन्ने कुरा भएको थियो। पछिको ब्याटरलाई छोड्न हुन्न भन्नेमा हामी थियौं। ११-१२ रन रेटमा अघि बढ्ने हाम्रो कुरा भएको थियो,’ उनले भने, ‘बिहान नै आजको खेल जिताउँछु भनेर साथीहरूलाई भनेको थिए।’
उत्कृष्ट खेल देखाएका उनले शतक हान्ने सोचेर नखेलेको पनि प्रष्ट पारे।
साथै उनले त्रिभुवन विश्वविद्यालय मैदानको विकेट सोचेजस्तो नभए पनि नेपाली खेलाडीले विकेटको अवस्था हेरेर ब्याटिङ गर्नुपर्ने उनको धारणा छ।
‘यहाँको विकेट सोचेको जस्तो छैन। ब्याटिङ गर्न गाह्रो छ। यो विकेटमा नेपाली खेलाडी भिज्न सक्नु पर्छ। हामी खेलिरहेको मैदान भएर नेपाली खेलाडी नै म्याच विनर हुनुपर्छ,’ उनले भने।
अरू टोलीले विदेशी खेलाडीलाई विकेटकिपरको रूपमा खेलाए पनि विराटनगरले भने उनलाई विश्वास गरेको छ। तर पनि विकेटपछाडि मिस फिल्ड हुँदा एक्स्ट्रा रन बढि भइरहेको छ। बुधबार लुम्बिनीविरूद्ध विराटनगरले २९ रन एक्स्ट्रा दिएको थियो।
त्यसको जवाफमा उनले आफूबाट एक्स्ट्राको आधा रन गएको बताउँदै आगामी खेलमा सुधार गर्ने बताए।