नेपाल प्रिमियर लिग (एनपिएल) मा ओपनिङ ब्याटर शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले काठमाडौं गुर्खाजविरूद्ध ५ विकेटको क्षतिमा १४९ रन जोडेको छ।
भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे। अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे। सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए। अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए।
नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोडे। मक्सुद र धनवबीच ६५ रनको साझेदारी हुँदा कर्णालीको स्कोर बढेको थियो।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।
चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।
बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।
बलिङमा काठमाडौंका इरासमसले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए
काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए।