अस्ट्रेलियाविरूद्धको पाँच खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डले डिएलएस मेथडमा ४६ रनको जित निकालेको छ।
यससँगै सिरिजमा अस्ट्रेलियाको अग्रता २-१ मा आएको छ। यस्तै अस्ट्रेलियाले एकदिवसीय खेलमा जित हात पारको १४ खेलको जितको यात्रा पनि समाप्त भएको छ।
सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकासँग पराजित भएपछि अस्ट्रेलियाले ३४८ दिनसम्म हारेको थिएन।
खेलमा अस्ट्रेलियाले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ३७.४ ओभरमा ४ विकेटको क्षतिमा २४५ बनाउदा वर्षा भएको थियो। त्यसपछि खेल हुन नसक्दा इंग्ल्यान्डले डिएसएल मेथडमा जित निकाल्यो।
वर्षाले खेल अवरुद्ध हुनुअघि इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ९४ बलमा १३ चौका र २ छक्काको मद्दतमा ११० रन जोडेका थिए। यस्तै ज्याक विल्सले ८४ रन बटुलेका थिए।
त्यसअघि अस्ट्रेलियाले एलेक्स क्यारीको नटआउट ७७ रन र स्टिभ स्मिथको ६० रनको मद्दतमा ७ विकेटको क्षतिमा ३०४ रन जोडेको थियो।