करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक सिरिजका दौरान केसीले ५० विकेट पूरा गरेका हुन्।
उनले बिहीबार पिएनजीविरूद्धको खेलमा ५० विकेट पूरा गरे। उनले ५० विकेट पूरा गर्ने क्रममा इनिङको चौथो बलमा पिएनजीका ओपनर लेगा सिएकालाई १ रनमा आसिफ शेखको हातबाट क्याच गराए।
केसी टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्न दोस्रो खेलाडी हुन्। यसअघि कप्तान सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका थिए।
केसीले ३६ खेल खेल्दै ५० विकेट पूरा गरेका हुन्। उनको टी-२० मा उत्कृष्ट बलिङ १७ रन दिएर ४ विकेट लिनु हो। उनले सन् २०१५ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा टी-२० मा डेब्यू गरेका थिए।