आइपिएल २०२५ शनिबार गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातको जितमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे।
दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। अक्षर पटेलले ३९ रनको योगदान दिए भने अशुतोष शर्मा ३७ बनाए। गुजरातका प्रसिद्ध कृष्णाले ४ विकेट लिए।
गुजरात टाइटन्सले २०४ रनको लक्ष्य ३ विकेटको क्षतिमा १९.२ ओभरमा पूरा गर्दै जित हात पार्यो। उसका लागि जोस बटलरले ५४ बलमा ९७ रनको अविजित पारी खेल्दै टिमलाई जित दिलाए। शेर्फेन रुथरफोर्डले ३४ बलमा ४३ रन बनाए।
यस जितसँगै गुजरात टाइटन्स अंक तालिकामा शीर्ष स्थानमा उक्लियो। गुजरात, दिल्ली र पन्जाब किंग्स सबै टोलीको समान १०-१० अंकमा छ भने नेट रन रेटमा गुजरात अघि छ।