नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले हराउँदै एक दिवसीय मान्यताका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ।
पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभर भित्रै पार गर्यो।
पिएनजी विरुद्धको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे। उनले ५८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनले २३ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टिमलाई जिताएका थिए। यस्तै रोहितकुमार पौडेलले नटआउट रहेर ३ रन जोडे।
ऐरीसँग ६७ रनको साझेदारी गरेका आरिफ शेखले २६ रनको योगदान दिए। आरिफ र दीपेन्द्रबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।
सदाझै नेपालको सुरुवात खराब रह्यो। तेस्रो ओभरमा दुबै ओपनर गुमाएको नेपाललाई पारस खड्काले केही उकासे। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन तथा अनिल साह ९ रनमा पेवेलियन फर्किएका थिए।
कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो। तर त्यसपछि ऐरी र शेखले सम्हालिएर खेल्दै नेपाललाई विजयी बनाए।
यसअघि जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै समान ४-४ विकेट लिए। करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।
यदि आज प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराए नेपालले स्वत: एकदिवसीय मान्यता पाउनेछ। जारी खेलमा हङकङ विजयी भएमा एकदिवसीय मान्यताका लागि शनिबार नेपाल र हङकङबीच भिडन्त हुनेछ। विजयी हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।