अप्टिकल फाइबर विस्तारको क्रममा कामदारको मृत्यु


दुरसंचार सेवाको लागि अप्टिकल फाइबार विस्तारमा कार्यरत एक कामदारको तनहुँकाे आबुखैरेनीमा मृत्यु भएको छ। हाइवे प्राली कम्पनीको काममा संलग्न गोरखाका सुरज गुरुङको मृत्यु भएको कम्पनीका कार्यकारी निर्देशक फिरोज मास्केले जानकारी दिए।

एनसेलको लागि फाइबर विस्तारको ठेक्का लिएको कम्पनीको काममा कार्यरत गुरुङको कार्यस्थलमै मृत्यु भएको हो। तार विस्तारको सबै काम सकिएपछि भुँइमा जेलिएको तार र उक्त स्थानमा रहेको भर्याङ उठाउँदा उक्त भर्याङको टुप्पोले बिजुलीको तार छुँदा करेन्ट लागेर मृत्यु  भएकाे आशंका गरिएको मास्केले जानकारी दिए।

‘पोस्टमार्टम रिपोर्ट नआई यही कारणले मृत्यु भएको भन्न सकिने अवस्था छैन’ मास्केले सेतोपाटीसँग भने,‘भोली पोस्टमार्टमको रिपोर्ट आएपछि कारण एकिन हुन्छ।’

तारको काम गर्ने अन्य कामदारहरु पनि त्यही भएको समयमा उक्त घटना भएको र लगत्तै १० मिनेटभित्र अस्पताल पुर्याइएपनि मृत्यु भएको उनले जानकारी दिए।

अहिले उक्त समयमा त्यहाँ रहेका साथीहरुलाई प्रहरीले छानविनको लागि नियन्त्रणमा लिएको छ।

मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको लागि छलफल भइरहेको र कम्पनीको नीतिअनुसार आफूहरु उक्त व्यवस्था गर्न तयार रहेको मास्केले जानकारी दिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.