भूकम्पपीडितका पुनर्निर्माणका लागि भू–स्वामित्व भएन


काभ्रेपलाञ्चोकमा गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्याले पुनःनिर्माणका लागि भूकम्प पीडित स्थानीयवासीलाई पिरोल्न थालेको छ ।

खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् । केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्, भने केहीले दोस्रो र तेस्रो किस्ता नपाएर अलपत्र परेका छन् ।

कसैले पुनःनिर्माणका लागि कुनै पनि राहत नै पाएका छैनन् भने कसैले  ५० हजार लिएर पनि घर बनाउनसकेका छैनन् ।

जिल्लाको भूम्लु गाउँपालिका, मण्डनदेउपुर गाउँपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिकालगायतका क्षेत्रमा भू–स्वामित्व आफ्नो नहुँदा सरकारले दिएको राहतमा पनि स्थानीयवासीको पहँुच स्थापित हुन सकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलका प्रमुख ध्रुव गँैडाले साविक घर बनाएको ठाउँमा नै पुनःनिर्माण हुने उल्लेख गर्दै निस्साका आधारमा पुनःनिर्माण गर्न सकिने बताए।

उनले त्यसका लागि शौचालयसहितको भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्नेमा जोड दिँदै कतिपय ठाउँमा वर्षौदेखि तिरो नतिरेको बताए।

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठीका विभिन्न प्रकार रहेकाले त्यसको खारेजी आवश्यक भएको उल्लेख गर्दै गुठी खारेज भए त्यस जग्गामा अधिकार स्थापित हुने बताए।

भू–स्वामित्व नभएको जग्गामा घर बनाएर त्यस घरमा कस्को अधिकार हुने भन्दै उनले गुठी लगायतका जग्गामा सामन्तवादको अवशेष अहिले पनि रहेको बताए।

द्वन्द्व रुपान्तरण केन्द्रका संवादकर्ता पत्रकार मधुसुदन गुरागाईंले पुनःनिर्माणमा भूमि सम्बन्धी समस्याले प्रभाव पारेकाले स्थानीयवासीको पक्षमा वकालतको काम गर्न खोजिएको बताउछन्।

तथ्यांकअनुसार जिल्लामा ३००० घरपरिवार गुठी जग्गामा, खाँण जग्गा ४०० रोपनी र चार हजार ५०० घरपरिवार सुकुम्वासी रहेका छन् । गुठी जग्गा पनि नुन छर्ने, जात्रा देखाउने, टपरी लगायतका छन्, भने खाँण जग्गा पाँचखाल नगरपालिकाको दनुवार बस्तीमा रहेको छ । तत्कालीन चन्द्रध्वज खाँणको नाममा रहेको जग्गा भएकाले त्यसलाई खाँण जग्गा नामाकरण भएको हो ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले खाँण जग्गा राणाको बिर्ता भएको उल्लेख गर्दै टाठावाठाले विसं २०५४ मा पुर्जा लिएको जानकारी दिए।

गुठी संस्थान, धुलिखेलकाअनुसार काभ्रेपलाञ्चोकमा तैनाथी गुठी जग्गा १३७ रोपनी १४ आना दुई पैसा एक दाम, अधिनस्थ गुठी जग्गा २६ हजार २६२ रोपनी ११ आना, तीन पैसा, एक दाम र रैतानी गुठी जग्गा दुई हजार ८९० रोपनी, सात आना दुई पैसा रहेको रहेको छ ।

संस्थानका वरिष्ठ लेखापाल युवराज रेग्मीले आर्थिक वर्ष २०७३÷७४ असारदेखि गुठी जग्गाको दर्ता बन्द भएपछि थप समस्या आएको जानकारी दिए। जिल्लामा ११० गुठी छन् त्यसमध्ये ८० गुठी जात्रा पर्व चलाउने छन् ।  (रासस)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.