विषाक्त खानाका कारण भारतमा १७० भन्दा बढी बालबालिका बिरामी

फाइल फोटो


भारतको पूर्वी उडिसा राज्यका तीन विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका विरामी भएका छन्।

झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महशुस गरेका थिए।

बिहानको खाजा खाने बित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।

सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पिटडिएका र निम्न आर्थिक अवस्था भएका परिवारका बालबालिका अध्ययनरत छन्।

बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएका छन्,’ एक सरकारी अधिकारीले भने । उनले थपे, ‘विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन्।

गत चौबिस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउसोको खाना खाएपछि १२० जना भन्दा बढी विद्यार्थी बिरामी भएका थिए।

उक्त विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ,’एक जना सरकारी अधिकारीले भने।

विगत केही वर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ। भोकमरी र कुपोषण न्युनिकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो।

गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा बिरामी भएका मध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.