साढे चार करोडभन्दा बढी रकम बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै काठमाडौं महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार विशेष अदालतमा महानगरका तत्कालीन इन्जिनियर कोइरीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनको चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।
उनले आफ्नो पदीय मर्यादा विपरीतका काम गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
कोइरी काठमाडौं महानगरपालिकामा २०४६ वैशाख १९ गतेदेखि २०७८ फागुन ३० गतेसम्म रहँदाको आय र व्ययको विवरणमा अख्तियारले जाँच गरेको हो।
जाँचको क्रममा उनको आयको तुलनामा व्यय अमिल्दो देखिएको, कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको अख्तियारको दाबी छ।
कोइरीले शंकारहित तवरबाट सम्पत्तिको प्रमाणित गर्न नसकेको अख्तियारले जनाएको छ।
जाँच गर्दा उनको खर्च र लगानीमात्रै ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ थियो। यद्यपि उनको जाँच अवधिमा स्रोत तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँको मात्रै खुलेको प्रवक्ता पौडेलले बताए।
उनको स्रोत नखुलेको चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी उनलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति समेत जफत गर्न माग गरेको छ।
त्यसैगरी उनले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरेको पनि आरोप छ।
झुटा विवरण पेस गरेको भन्दै त्यसमा पनि थप एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेको छ।
उनकी श्रीमतीको नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात समेत रहेको भन्दै सम्पत्ति जफत गर्नको लागि प्रतिवादी बनाएको छ।