नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाषामा सहमति भए सदन खुल्ने बताएका छन्।
कांग्रेससँग संसद भवनको शंकर हलमा आइतबार बसेको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले समझदारी टुंग्याउने प्रयासमै रहेको बताएका हुन्।
'छलफल चलिरहेको छ। समझदारी र सहमतिको भाषा टुङ्ग्याउने प्रयासमा छौं,' उनले भने।
उनले सहमतिका लागि सबै लचिलो बन्नुपर्ने बताएका छन्।
'प्रतिपक्षी पनि लचिलो बन्नुपर्छ। सरकार पनि लचिलो बन्नुपर्छ। भाषामा समझदारी भए सदन चल्छ,' उनले भने।
कांग्रेस र माओवादी केन्द्रबीच बानेश्वरमा भएको छलफलमा सदन खुलाउने विषयमा नयाँ उपायबारे केन्द्रित भएको छ।
तत्कालका लागि भिजिट भिसा प्रकरणलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्ने र अख्तियारको छानबिनपछि समिति वा आयोग बनाएर पुनः छानबिन गर्ने विषयमा छलफल भएको छ।
त्यसरी सहमति भए सदन खुलाउने भन्नेबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।
कांग्रेस र माओवादीबीच लिखित सहमति नै गर्ने र त्यसका लागि मस्यौदाको भाषामा छलफल भइरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन्।
छलफलबाट प्रचण्ड बाहिरिए पनि माओवादी केन्द्रका अरू नेताहरू सहभागी छन्।