रातो हाब्रे संरक्षणमा कठिनाइ

रातो हाब्रे संरक्षणमा कठिनाइ


आज रेड पाण्डा डे अर्थात् आठौँ अन्तर्राष्ट्रिय रातो हाब्रे दिवस ।

‘सेभ द रेड पाण्डा’ भन्ने नाराका साथ यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन शुरु गरेको हो । रातो हाब्रे संरक्षणकै लागि नेटवर्कले विभिन्न गैरसरकारी संघसंस्थासँग मिलेर काम गर्दै आएको छ ।

पूर्वमा नेटवर्कको सहयोगमा संरक्षणका गतिविधि गर्दै आएका हिमालीका संरक्षण मञ्च ताप्लेजुङ, दीपज्योति युवा क्लब पाँचथर र इलामको उच्च हिमाली जडीबुटी उत्पादन तथा संरक्षण संस्थाले विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । वर्षेनी समुदायस्तरमा समेत पुगेर विभिन्न क्रियाकलाप सञ्चालन गरिँदै आएको छ तर रातो हाब्रे संरक्षणमा भने दिनानुदिन विभिन्न कठिनाइ थपिँदै गएको छ । रातो हाब्रेको वासस्थान विनाश, चोरी शिकारका घटना, संरक्षणमा कम लगानीलगायत कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो ।

दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य हाब्रे संरक्षणका मुख्य चुनौती रहेको सरोकार भएकाहरुले बताएका छन् । यस्तै संरक्षणका लागि सरकारको लगानी न्यून रहनुले पनि समस्या भएको छ ।

हाब्रे पाइने पूर्वी क्षेत्रमा गैरसरकारी संघसंस्थाका भरमा मात्र यसको संरक्षणका लागि काम भइरहेको छ । नेटवर्कको सहयोगमा संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको हिमालीका संरक्षण मञ्च ताप्लेजुङका रमेश राईले वनजंगलको विनाश, मानव बस्तीको विस्तार, चोरी शिकारजस्ता कार्य बढ्दै गएकाले संरक्षणमा कठिनाइ उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार रातो हाब्रे पाइने पूर्वका ताप्लेजुङ, पाँचथर र इलामका क्षेत्रमा पछिल्लो समय वनजंगलको फँडानी, बढ्दो बस्ती विस्तार, चोरी शिकारजस्ता कार्य भइरहेकाछन्

सन् २०१३ को एक अध्ययननुसार ताप्लेजुङमा ७७ देखि १३४, पाँचथरमा २५ देखि ४३ र इलाममा २३ देखि ४० वटासम्म रातो हाब्रे रहेको अनुमान गरिएको संयोजक राईले बताए। यो अध्ययन नेटवर्क र स्थानीय साझेदार संस्था संरक्षण मञ्च ताप्लेजुङ, दीपज्योति युवा क्लब र उच्च हिमाली जडीबुटी उत्पादन तथा संरक्षण संस्थाले गरेको थियो । नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रातो हाब्रे पाइन्छ । भारत, भुटान, म्यान्मा र चीनमा समेत गरी एक हजारको हाराहारीमा रातो हाब्रे छ । नेपालमा मात्रै ५०० भन्दा बढी रातो हाब्रे भएको एक तथ्यांकमा जनाइएको छ ।

समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ८०० मिको उचाइमा अवस्थित मिश्रित जंगलमा पाइने रातो हाब्रे घर पालुवा, गोठमा राखिने र शिकारी कुकुरको समेत शिकार हुने गरेको छ । यस्तै रातो हाब्रेलाई नै लक्ष्य नगरी अन्य जनावरलाई थापिएको पासोमा समेत रातो हाब्रे पर्ने गरेको छ । रातो हाब्रेको मुख्य आहारा मालिङ्गो र निगालो मासिँदै जानु, अव्यवस्थित चरिचरन, चोरी शिकार र संरक्षणका लागि जनचेतनाको कमी नै अहिलेको मुख्य चुनौती रहेको संरक्षणकर्मी बताउँछन् ।

आकर्षक र लजालुः

हेर्दा अत्यन्तै आकर्षक र लजालु स्वभावको रातो हाब्रे विश्वकै दुर्लभ वन्यजन्तु हो । स्थानीय भाषामा यसलाई हाब्रे भन्ने गरिन्छ । प्रकृति संरक्षण क्षेत्रमा कार्यरत आइयुसिएनको रातो पुस्तिकाको अति संकटापन्न सूचीमा रातो हाब्रे सूचीकृत छ । यस्तै नेपाल सरकारले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

मालिङ्गो या निगालोको टुसालाई मुख्य आहाराका रुपमा प्रयोग गर्ने रातो हाब्रे अन्य वन्यजन्तुको तुलनामा निकै सोझो मानिन्छ । हलुका रातो, सेतो र कालो रङमा देखिने रातो हाब्रे रुखको टोड्कामा बस्न रुचाउँछ । रातो हाब्रेको माघ, फागुन र असारदेखि भदौ महिनासम्म बच्चा जन्माउने समय हो । संरक्षणकर्मीका अनुसार कम प्रजनन भएको तर उच्च मृत्युदरमा रातो हाब्रे पनि पर्छ ।

यसअघि समुदायलाई तालीम, गोष्ठीमा सहभागी गराएर विभिन्न क्षेत्रमा भ्रमणमा लगेर र आयआर्जनका कार्यक्रम गरेर संरक्षणमा जोड दिँदै आएका संस्थाले यस वर्ष भने तीन जिल्लाका एक एक विद्यालयमा स्थानीय पाठ्यपुस्तक तयार गरी पठनपाठन नै गराएका छन् । पाठ्यक्रम तयार गरी क्रमशः सबै विद्यालयमा विस्तार गर्दै लैजाने योजनाका साथ गत जेठदेखि तीन विद्यालयमा पठनपाठन शुरु गरिएको संरक्षण मञ्चका संयोजक राईले जानकारी दिए । यस्तै स्कुलमा शिक्षक तथा विद्यार्थी सहभागी ‘रुट एण्ड सुट’ क्लब गठन गरेर पनि विभिन्न गतिविधि सञ्चालन गरिएको छ ।

यस्तै ताप्लेजुङमा १३ हजारको हाराहारीमा लौठसल्लाका बिरुवा उत्पादन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । यस्तै रातो हाब्रे संरक्षणकै लागि ताप्लेजुङका ५२ कुकुरलाई बन्ध्याकरणसमेत गरिएको छ । गोठमा पालिने र छाडा रुपमा हिँड्ने कुकुरले रातो हाब्रेलाई आक्रमण गर्न सक्ने भएकाले कुकुर नियन्त्रणका लागि फुङ्लिङ नगरपालिका–१० र ११ का कुकुरलाई बन्ध्याकरण गरिएको हो । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.