दुई महिनाअघि मेरो फेसबुकमा एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो, आशिका कोइरालाको।
अपरिचितको यस्तो आग्रह म स्वीकार गर्दिनँ। तै चिनेको कोही हो कि भनेर प्रोफाइल खोलेँ। तस्बिर देख्नेबित्तिकै चिनिहालेँ– मेरो पुरानो साथी शर्मिलाकी नौ वर्षीया छोरी रहिछे, जोसँग मेरो भेटघाट भइरहन्छ।
मैले तुरुन्त शर्मिलालाई फोन गरेँ। फोन उठ्यो, तर उसको नम्बरमा अरू नै कसैको स्वर सुनियो।
‘हेलो आन्टी, दर्शन,’ उताबाट आशिका बोली।
‘नानु के छ?’ मैले सोधेँ।
‘मैले हजुरलाई फेसबुक रिक्वेस्ट पठाको थिएँ,’ उसले लाढिँदै भनी, ‘एसेप्ट नै गरिसिएन त।’
‘हो र? तिमीले आफैं खोलेको? आफैं रिक्वेस्ट पठाको? अनि फोटो पनि आफैं अपलोड गरेको?’ मैले उसको प्रोफाइल हेर्दै नौ वर्षकी नानीसामु एकैपटक यति धेरै प्रश्न थुपारेँ।
उसले सहजै भनी, ‘हो त। मलाई सबै गर्न आउँछ। अहिले पनि मामुको फोनमा म फेसबुक चलाइराछु। मेरो रिक्वेस्ट एसेप्ट गरिस्यो त।’
‘हस्,’ मैले भनेँ, ‘नानु म अहिले व्यस्त छु, पछि फोन गर्छु है।’
मैले त्यसपछि फेसबुकमा आएका अरू ‘फ्रेन्ड रिक्वेस्ट’ हेर्दै गएँ। दिदी, दाइ, साथीहरूका छोरीछोराकै पाँचवटा रहेछन्। तीमध्ये १२ वर्ष काटेका कोही थिएनन्। बाह्र वर्ष नकाटी त आधिकारिक रूपमा फेसबुक खोल्नधरि पाइन्न।
मैले उनीहरूले पोस्ट गरेका तस्बिर सर्सती हेरेँ। व्यक्तिगत तस्बिरहरू, अनलाइन खेलिने खेलका रेकर्ड, फिल्म र गीतका लिंक, अनि विभिन्न पेजका सेयर थिए।
चार–पाँच कक्षा पढ्ने यी नानीबाबु सामाजिक सञ्जालमा कतिविधि सक्रिय? उनीहरू यी सबै कसरी गर्छन्? निश्चित रूपमा आफ्ना आमाबुवा वा दिदीदाजुकै ग्याजेटबाट। त्यसमा पनि सबैभन्दा धेरै त स्मार्टफोनै चलाउँछन्। परिवारका सदस्यको मात्र होइन, आफ्नो घरमा पाहुना आएका वा पाहुना लाग्न गएका घरमा समेत स्मार्टफोन उनीहरूको पहुँचमा हुन्छ।
कतिपय अवस्थामा हामी ठूलाहरू नै उनीहरूका अनेकथरि प्रश्न बुजो लगाउन खुरुक्क हातमा स्मार्टफोन थमाइदिन्छौं।
उनीहरू एकान्तमा गएर आधुनिक ग्याजेटमा भुल्छन्, हामी आफ्नो जमानाका कुराकानीमा ‘नोस्टाल्जिक’ हुन्छौं।
मनमा कता–कता ‘केटाकेटी बिगार्दै त छैनौं’ भन्ने सोच नआउने होइन। तर, आफूले यस्ता ग्याजेटबारे सुन्दै नसुनेको उमेरमा केटाकेटीलाई त्यसमा अभ्यस्त देखेर हामी दंग पर्छौं। ‘मेरी सानु चलाख छे’ भन्दै उसलाई फुर्क्याउँछौं। खासमा हामी आफ्नै धुकचुक मनलाई सान्त्वना दिइरहेका हुन्छौं!
मेरो घरबेटीको छोरालाई नै हेरूँ न। सौरभलाई तीन वर्षको हुँदादेखि नै मैले देख्दै आएको छु। बुवा अफिसबाट फर्कनासाथ ऊ फोन माग्छ। खाटमा पल्टन्छ, अनि गेम खेल्छ। नभए थ्रीजी खोलेर युट्युबमा कार्टुन हेर्न थाल्छ। जुनबेला फोन पाउँदैन, ऊ भुइँमा गोडा बजार्दै चिच्याउँछ। सबैलाई अत्याउने गरी रोइदिन्छ। फकाउने विकल्प उही हो, स्मार्टफोन।
अचेल त उसलाई स्मार्टफोनको लत लागिसक्यो। उसका आमाबाबु छोरालाई कम्प्युटर र स्मार्टफोनमा चलाख देखेर दंग छन्। सौरभ भने कसैसँग बोल्दैन। बाहिर चउरतिर लडिबुडी गर्न जाँदैन। आफन्त आएका बेला बोलाउँदा पनि अन्तै भाग्छ, कुरा गर्दैन। वास्तवमा कुरा नगर्ने होइन, उसले यसरी घुलमिल हुन जानेकै छैन, बिचरा! ऊ कसैलाई टाउको उठाएर हेर्दैन। उसलाई स्मार्टफोनबाट फुर्सतै हुन्न। आँखा एकोहोरो स्मार्टफोनकै दृश्यमा टाँस्सिरहन्छन्।
सौरभले आफैं स्मार्टफोनमा इन्टरनेट खोलेर कार्टुन हेरेको र त्यसैमा रमाएको देख्दा मलाई आज पनि अचम्म लाग्छ। समाज कति फटाफट पाइला चाल्दैछ? उसको उमेरमा म कस्ती थिएँ?
सहरमै हुर्केको मलाई उसको उमेरमा लडिबुडी गर्दै फुर्सत हुन्थेन। घरको आँगनदेखि खेल्ने चउरसम्म मेरा बालमस्त गोडा अटाउँथेनन्। कोठामा थुनिने र खाटमा पल्टने त सुत्ने बेला मात्र हुन्थ्यो। पछि घरमा टेलिभिजन भित्रियो, तै धेरै वर्ष मैले त्यसको रिमोटधरि छुन पाइनँ।
ल्यान्डलाइन फोन थियो, जसलाई आमाबुवाले आफूलाई भन्दा बढी जोगाएको सम्झन्छु। हामी केटाकेटीले चलाइदेला वा जथाभाबी फोन गर्ला भनेर काठको बाकसमा ताल्चा मारेर राखेको सम्झन्छु। कम्प्युटर भन्ने जिनिस त मैले एलएलसी दिएपछि मात्र देखेँ, कलेज पढ्दा बल्ल चलाउन पाएँ।
अहिले सहरका अधिकांश नानीबाबुको हुर्काइ मेरोजस्तो छैन, आशिका र सौरभको जस्तो छ। हाम्रा सहरी नयाँ पुस्तामा स्मार्टफोनलाई ‘साथी’ बनाउनेको संख्या चुलिँदै गएको छ। र, यो नेपालको मात्र समस्या होइन। विश्वभरिकै बालबालिका र किशोरकिशोरीमा देखिएको बद्लाव हो, जसको जड हो, स्मार्टफोन।
अमेरिकी पत्रिका ‘द एटलान्टिक’ ले बुधबार यही विषयमा एउटा लेख छाप्यो। विश्वकै अग्रणी स्मार्टफोन कम्पनी एप्पलले आइफोनको नयाँ संस्करण सार्वजनिक गरेकै भोलिपल्ट प्रकाशित यो लेखले बढ्दो स्मार्टफोन पुस्ताका कारण उत्पन्न सामाजिक विग्रहको तथ्यपरक वर्णन गरेको छ।
स्मार्टफोनको मेरुदण्ड आइफोन निर्माता स्टिभ जब्सले भनेका थिए, ‘म कुनै पनि नयाँ ग्याजेट बनाएर बजारमा ल्याउनुअघि केटाकेटीलाई चलाउन दिन्छु। केटाकेटी जिज्ञासु हुन्छन्, उनीहरूका आँखा र हात चलाख हुन्छन्। उनीहरूलाई मेरो ग्याजेटले थप जिज्ञासु बनायो, चलाख बनायो र सजिलै चलाउन सके भने बल्ल म ठान्नेछु, मेरो निर्माण सफल भयो।’
स्टिभको यो भनाइले स्मार्टफोनमा केटाकेटीको सहजता पुष्टि गर्छ। स्मार्टफोन निर्माताका लागि लुप्त रूपमै भए पनि उनीहरू कसरी ‘लक्षित ग्राहक’ हुन् र कसरी ‘स्मार्टफोन प्रयोगकर्ता’ को सूचीमा समावेश भइरहेका छन् भन्ने यसले दर्शाउँछ। ‘द एटलान्टिक’ मा प्रकाशित डा. जिन एम ट्वेन्जको लेख पनि स्मार्टफोनले कसरी हाम्रो नयाँ पुस्ताको हुर्काइ प्रभावित पार्दैछ भन्नेमै केन्द्रित छ।
डा. ट्वेन्जले स्मार्टफोनसँगै हुर्किंदै गरेको यो पुस्तालाई ‘आइ–जेन’ नाम दिएकी छन्। ‘आइ–जेन’ अर्थात् आइ–पुस्ता। यहाँ आइको अर्थ सोझै एप्पलका उत्पादन, विशेषगरी आइफोनतर्फ लक्षित छ।
ट्वेन्जले सन् २००७ मा एप्पलको पहिलो स्मार्टफोन बजारमा आएदेखि २०१५ सम्म अमेरिकी केटाकेटी र किशोरकिशोरीको हुर्काइ र आनीबानी अध्ययन गरेकी छन्। मुख्यतया स्मार्टफोनसँग रमाउने केटाकेटीको सामाजिक–मनोवैज्ञानिक व्यवहार, स्वास्थ्य र कौशल विकासमा उनको अध्ययन केन्द्रित छ। र, यसको नतिजा ‘भयानक’।
उनको नतिजाले अमेरिकाको मात्र प्रतिनिधित्व गर्दैन, विश्वका अन्य विकसित मुलुक र नेपालजस्तो अल्पविकसित देशका केटाकेटीमा समेत स्मार्टफोनको लत कसरी फैलिँदो छ भन्ने ‘डरलाग्दो स्वरुप’ यसले देखाउँछ।
डा. ट्वेन्जको पहिलो निष्कर्ष हाम्रा केटाकेटीका निम्ति निकै महत्वपूर्ण छ, साथीभाइसँग भेटघाट।
उनले आइफोन बजारमा आउनु करिब ३० वर्षअघिदेखि र आएको ८ वर्षपछि (१९७६ देखि २०१५ सम्म) ८, १० र १२ कक्षा पढ्ने केटाकेटीको व्यवहार अध्ययन गरेकी छन्। यो समूहका केटाकेटी पहिले सातामा कतिपटक आफ्ना साथीभाइ भेट्थे र अहिले कतिपटक भेट्छन् भन्ने तथ्यांक निकालेकी छन्।
उनको अध्ययनअनुसार आइफोन आउनुअघि ८ र १० कक्षा पढ्ने केटाकेटी औसत दुईपटक साथीभाइ भेट्थे भने १२ कक्षा पढ्नेहरू तीनपटक। आइफोनपछि यो अनुपात क्रमिक रूपमा घट्दै सन् २०१५ सम्म क्रमशः दुई, एक र शून्यमा झरेको छ।
यो नतिजाले भन्छ– स्मार्टफोनको बढ्दो प्रयोगले केटाकेटीको बालापनमा साथीभाइको भूमिका गौण बन्दै गयो। यहाँ अनुपातको कुरा गर्दा साताको तीन र दुईचोटि साथीभाइ भेट्नुमा खासै अन्तर देखिन्न। तर, यसैलाई वर्षदिनमा हिसाब गर्ने हो भने कुल भेटघाट आधाभन्दा कम हुन्छ। र, यो गम्भीर विषय हो।
अमेरिकी केटाकेटीको व्यवहार हेरेर निष्कर्ष निकालिएको भए पनि नेपालका सहरी केटाकेटी ‘स्मार्टफोन साथी’ बाट अछुतो छैनन्। हामी पनि दिनप्रतिदिन आइ–पुस्ता हुर्काइरहेका छौं भन्ने तथ्यबाट नजरअन्दाज गर्न सकिँदैन।साथीभाइभन्दा स्मार्टफोनसँग नजिकिएका आइ–पुस्ताका बद्लिँदा व्यवहार हाम्रै अगाडि छन्।
म टिभीको रिमोटधरि छुन नपाउने र काठको बाकसभित्र ताल्चा मारेर राखेको महँगो ल्यान्डलाइन फोनको रिसिभर मात्र हेरेर हुर्किएँ। मेरो पुस्ताका धेरै जना यसरी नै हुर्किए भन्ने मलाई लाग्छ। आज आइ–पुस्ता बहुत अलग छ। दुई वर्षको उमेरदेखि नै उनीहरूका औंला स्मार्टफोनका स्क्रिनमा सल्बलाउन थाल्छन्। उमेरसँगै यो बानी अझ गाढा हुँदै जान्छ। स्मार्टफोन भए हुने जिनिस होइन, नभई नहुने जिनिसको कोटीमा चढ्दै जान्छ। उनीहरू प्रकृतिबाट टाढा स्मार्टफोनको स्क्रिनमा आउने रंगीविरंगी संसारमा सम्मोहित हुँदै जान्छन्।
मैले छिमेक र आफन्तका धेरै केटाकेटीको व्यवहार देखेको छु। उदास बच्चा स्मार्टफोन पाएपछि फकिन्छ, उसको अनुहारमा चमक आउँछ। आक्कलझुक्कल आफ्ना साथी वा दिदीभाइ–बहिनीदाजुसँग खेलिरहेका भए पनि स्मार्टफोन भएको कोही चिनेको मान्छे नजिक आए खेल्नै छाडेर झुत्तिन्छन्। बोल्न होइन, फोन माग्न। फोनमा गेम खेल्न।
हामी पनि खेल्थ्यौं, गेम। ती अलग थिए, सामाजिक थिए र समूहमा खेलिन्थे। हामीले खेल्ने खेलमा कोठाभित्र बसेर धुम्धुम्ती एकोहोरो आँखा गाड्न पर्दैन थियो। हाम्रा आँखा कमै दुख्थे, कम उमेरमा चस्मा लाउने विरलै हुन्थे। हामी कबड्डी खेल्थ्यौं, फुटबल गुड्काउँथ्यौ, क्रिकेट, ब्याडमिन्टन खेल्थ्यौं, साथीभाइ जम्मा गरेर।
यसको अर्थ आइ–पुस्ताका साथीभाइ नै छैनन् वा बन्न सक्दैनन् भन्ने होइन। उनीहरूका पनि साथी छन्, कुराकानी गर्छन्, खेल्छन्। तर कहाँ? स्मार्टफोनमा।
डा. ट्वेन्जको दोस्रो निष्कर्ष यसैसँग सम्बन्धित छ। उनले यो अन्तरलाई केटाकेटीका मानसिक र शारीरिक स्वास्थ्यसँग जोडेकी छन्। उनले भनेअनुसार स्मार्टफोनमै साथीभाइसँग झुम्ने यो आइ–पुस्ता वास्तवमा साथीसँग नजिकिएको भने हुँदैन, स्मार्टफोनसँगै नजिकिएको हुन्छ। उनीहरू आपसमा खेल्दैनन्, छुँदैनन्, लड्दैनन्, चोट खाँदैनन्। वास्तविक खेलको अनुभूति पाउँदैनन्, जुन यो उमेरमा मानसिक र शारीरिक स्वास्थ्यका निम्ति अपरिहार्य छ।
डा. ट्वेन्जको अनुसन्धानले एकैठाउँ स्थिर बसेर स्क्रिन हेर्नेले अंकको प्रतिस्पर्धा मात्र गर्न सक्ने देखाएको छ। उनको अनुसन्धानले भन्छ– स्मार्टफोनमै झुत्तिन रमाउनेहरू साथीभाइसँग भुलेजस्तो देखिए पनि गफ गर्दैनन्, ‘च्याट’ गर्छन्। यसले मानिसलाई क्रमशः असामाजिक बनाउँदै लैजान्छ।
हाम्रै अनुभव सम्झौं न। हामी साथीभाइलाई केही भन्न परे भेटेरै भन्थ्यौं, घरै पुग्थ्यौं, उनीहरू पनि आइपुग्थे। त्यतिबेला एकअर्कालाई धाप मार्दै, चट्टी दिँदै, आँसु बगाउँदै वा ठूलो स्वरले हाँस्दै बाँड्ने सुखदुःख अहिलेको पुस्ता कसरी बाँड्छ?
च्याटमा लेखेर? इमोजी पठाएर? यसले उनीहरूका औंलाले थिचेको चित्र मात्र जान्छ, उनीहरूभित्रको तस्बिर जाँदैन। भावना साटिँदैन, मन हलुका हुँदैन।
यस्तो वातावरणमा हुर्किएकाहरू स्मार्टफोन–साथी त हुन सक्छन्, तर त्यही साथीसँग भेट्दा उनीहरूको मन नजोडिने डा. ट्वेन्जको अनुसन्धानले देखाउँछ। उनीहरू न एकअर्कासँग सहज अनुभूति गर्छन् न त केही मिनेट सँगै बसेर कुराकानी गर्न सक्छन्। फेसबुक साथी त बन्छन्, तर फेस–टु–फेस साथी विरलै हुन्छन्।
यी सबैको अध्ययन र चर्चा डा. ट्वेन्जले त्यसै गरेकी होइनन्। एक्लो र गुम्सेका केटाकेटीको आनीबानी केलाएर उनी यस्तो नतिजामा पुगेकी हुन्। त्यस्ता केटाकेटीको सामाजिक विकास कठिन हुँदै जाने उनको निष्कर्ष छ।
उहिले अभिभावकहरू आफ्ना केटाकेटी बढी समय बाहिर खेल्ने ध्याउन्नमा नलागोस् भनेर सोच्थे। सडककिनार घर भएका आमाबाबु त झन् सधैं डराइरहेकै हुन्थे। नदीकिनार घर भएकाहरू आफ्ना सन्तान दिन–दिनभरि पानीमा हेलिन थालेपछि बासै सरेका पनि छन्।
उतिबेला अभिभावकको निद्रा चोर्ने यी घटना अचेल लोप हुँदै गएकामा अभिभावककै चिन्ता बढाएको छ। किनकि, त्यसरी समूहमा खेल्ने बानीले केटाकेटीको आत्मविश्वास र जोखिम मोल्ने क्षमता बढाइदिने विभिन्न अनुसन्धानले देखाएको छ। यही सुविधा स्मार्टफोन चलाउने आइ–पुस्ताले गुमाएको छ।
कोठामा धुम्धुम्ती बसेर एक्लै मोबाइल चलाउने बच्चालाई समूहमा खेल्न, काम गर्न र घुलमिल हुन मुस्किल हुन्छ। उनीहरू आफ्ना विचार भन्न वा कुनै क्रियाकलापमा सहभागी हुन धकाउँछन्।
[caption id="" align="alignnone" width="825"]
तस्बिरः द एटलान्टिक[/caption]
त्यसैले, आइ–पुस्तालाई ‘एकलकाँटे पुस्ता’ भनेर डा. ट्वेन्जले वर्णन गरेकी छन्।
उनको अध्ययनमा समावेश आइ–पुस्ताको अर्को पक्ष केटाकेटीको निन्द्रा हो। यसमा पनि उनले आइफोन आउनुअघि र पछि ३८ वर्ष अवधिको तथ्यांक केलाएकी छन्।
कम सुत्ने केटाकेटीको संख्या सन् २०१२ देखि ह्वात्तै बढेको उनको तथ्यांकले देखाउँछ। सन् २००० देखि २०१२ सम्म यो संख्या बढ्दै गए पनि वृद्धिदर १–२ प्रतिशत मात्र थियो। २०१२ देखि भने एकैपटक ५ प्रतिशतभन्दा बढी दरमा यो तथ्यांक उक्लिएको पाइन्छ।
ती केटाकेटी राति अबेरसम्म फोनमै झुम्मिन्छन्। ध्यान स्क्रिनमा भएपछि निन्द्राले ढक्ढक्याउन पाउँदैन। दिमाग जति सक्रिय भयो, निन्द्रा उति निष्क्रिय हुनु स्वाभाविक हो। र, निद्रा जति निष्क्रिय भयो, दिमाग उति मोबाइलमा सक्रिय हुने भइहाल्यो। आइ–पुस्ता यही गोलचक्करमा घुमेको घुम्यै छ, जसले उनीहरूको स्वास्थ्यमा जटिल असर पारेको चिकित्सकहरूले प्रमाणित गरेका छन्।
डा. ट्वेन्जले अमेरिकी सन्दर्भमा निकालेको यो तथ्यांक नेपालमा पनि मेल खान्छ। दूरसञ्चार प्राधिकरणका अनुसार पाँच वर्षयता मोबाइल प्रयोगकर्ता संख्या दोब्बर बढेको छ। मोबाइलमा सानो–ठूलो जस्तोसुकै भए पनि स्मार्टफोन चलाउनेको वृद्धिदर उच्च छ। वैदेशिक रोजगारमा जानेको संख्या वृद्धिले फेसबुक, भाइबर र स्काइपको प्रयोग गाउँ–गाउँसम्म पुगेको छ। र, योसँगै फैलिएको छ, स्मार्टफोन पुस्ता। अर्थात्, आज हामी जुन आइ–पुस्ताको चर्चा सहरी परिवेशमा गर्दैछौं, त्यही पुस्ता वैदेशिक रोजगारमा आश्रित गाउँ–गाउँमा विकास हुँदैछ।
ट्वेन्जको अनुसन्धानको अर्को पक्ष यौन जीवनसँग सम्बन्धित छ।
किशोरावस्थाको शारीरिक विकास, प्रेम सम्बन्ध र यौनिक आकर्षणलाई स्मार्टफोन प्रयोगले घटाउँदै लगेको उनको अनुसन्धानले देखाएको छ। ‘स्मार्टफोन नहुने केटाकेटी वा आइ–पुस्ताभन्दा अगाडि उमेरसँगै शारीरिक विकासबारे कुराकानी हुन्थ्यो,’ उनी भन्छिन्, ‘प्रेम र यौनिक आकर्षण खुला रूपमा प्रस्तुत हुन्थ्यो। तर, आइ–पुस्ताका यी सबै उत्सुकता स्मार्टफोनले मेटाउँदै लगेको छ। उनीहरू फोनमै इन्टरनेटमार्फत् यसको जानकारी लिन्छन्, कुराकानी गर्ने जरुरतै पर्दैन।’
यस्तो अभ्यासले ज्ञानभन्दा विकृति बढी निम्त्याउने उनको विश्लेषण छ। काँचो उमेरका केटाकेटी इन्टरनेटमा जे देख्यो, जे पढ्यो त्यसमै विश्वास गर्छन्। त्यहीअनुसार चलायमान हुँदै जान्छन्। किशोर मस्तिष्कले किशोर निर्णय नै गराउँदै लैजान्छ।
प्रेम र यौनिक ‘गुणस्तर’ पनि स्मार्टफोनले घटाएको डा. ट्वेन्जले आफ्नो अध्ययनमा पाएकी छन्।
हुन पनि हाम्रो पुस्ता ‘आइ’ हुनुअघि प्रेम र यौनिक भावनामा चासो राख्थे। यी भावना आफैंभित्र खोतल्थे र उजागर गर्ने भरपुर प्रयास गर्थे। यसले उनीहरूलाई कुण्ठित हुनबाट जोगाउँथ्यो। जब स्मार्टफोन आयो, कुण्ठा क्रमशः बढ्दै गयो।
किशोरावस्थामा प्रेम र यौनिक भावना नआउने होइनन्। यी कसरी साम्य हुन्छन् भन्नेले किशोर मस्तिष्क प्रभावित हुन्छ। यी हाम्रा भावना हुन् र भावनाको अभिव्यक्ति अनुभूतिबाट मात्र हुन्छ। आइ–पुस्ताले भने भावना प्रत्यक्ष भोग्नै पाउँदैन।
भाइबर, ह्वाट्स–एप, म्यासेन्जरमा लेखिएका डिजिटल अक्षर र चित्रले उसको भावना कहाँ प्रस्फुटित हुन्छन् र? भए पनि के उसको मानसिक र शारीरिक धित मर्छ?
डा. ट्वेन्जले २० वर्षभन्दा बढी समय लगाएर गरेको यो अनुसन्धानको निष्कर्षलाई विश्वव्यापी रूपमा लिइएको छ। र, भनिएको छ, ‘यी तथ्यांकले समाजको जस्तो चित्र देखाउँछ, ती सामान्य छैनन्, तर यसले हामीलाई पुस्तान्तर बुझ्न सघाउँछ।’
स्मार्टफोनबाट उत्पन्न सामाजिक विग्रहको कुरा गर्दा केटाकेटीको मानसिक विकासमा पर्ने प्रभाव पनि कम छैन। एकोहोरो स्मार्टफोनमा घोरिने अधिकांश केटाकेटी मानसिक तनावको शिकार भइरहेको उनको अनुसन्धानले देखाएको छ। नहोऊन् पनि कसरी, जब उनीहरू बोल्न जान्दैनन्, शारीरिक हाउभाउ देखाउँदैनन् र सामाजिक हुन सक्दैनन् भने!
स्मार्टफोनको यो दुनियाँमा आइ–पुस्ताको भावना सुन्ने कसले? सुनेर प्रतिक्रिया दिने कसले? तनाव भइरहेका बेला काँधमा धाप मार्दै ढाडस बढाउने कसले? अंकमाल गरेर साथीको बोझिलो मन हलुंगो पार्ने कसले? राति सिरानीमा घोप्टो परेर रोइरहेका हाम्रा नानीबाबुका आँसु पुछ्ने कसले?
‘अभिभावकले’ भन्ने जवाफ आउला। तर, के अभिभावकले यो जिम्मेवारी लिएका छन्?
उनीहरू त बरु केटाकेटीबाट पिछा छुटाउन स्मार्टफोनको अन्धकारमा धकेलेर रमाइरहेका छन्। र, यसले ल्याउने कमजोरीको निम्ति उनीहरूलाई नै दोष दिइरहेका छन्।
म देख्छु, मेरा आफन्तका छोरीछोरा कलिलो उमेरमै मोटामोटा चस्मा लगाउँछन्। बोल्दैनन्। सन्की व्यवहार देखाउँछन्। तिनै आमाबुवा सारा दोष नानीबाबुमाथि थोपर्दै भन्छन्, ‘मेरी छोरीको आँखा धेरै कमजोर भयो। पढ्न गाह्रो मान्छे। कोहीसँग बोल्दिन। घुलमिल हुन्न। आफन्तसँग भेटघाट गर्दिन। साह्रै एकलकाँटे भई। कसरी सुधार्ने होला?’
मनोविश्लेषकलाई यही प्रश्न सोध्ने हो भने, उनीहरूको जवाफ हुनेछ, ‘पहिला आफैंलाई सुधार्नुस्, स्मार्टफोन प्रयोग कम गर्नुस्, उनीहरूलाई पनि त्यसमा भुल्न नदिनुस्।’
डा. ट्वेन्जले पनि स्मार्टफोन पुस्ताले ‘एक्लिएको’ अनुभव गर्नुमा अभिभावकको यही भूमिकालाई कारण पाएकी छन्। ‘कोठामा एक्लै बस्ने, एक्लै सोच्ने र एक्लै निर्णय गर्ने बानी परेपछि उनीहरू निश्चित रूपले सामाजिक घुलमिलबाट टाढिँदै जानेछन्,’ उनले भनेकी छन्, ‘डिप्रेसन बिरामी बढ्नु र त्यसले धेरै अपराध जन्माउनुको मुख्य कारण यही हो।’
‘आइ–पुस्ता हुर्काउँदा हामी त्यसका नतिजाबारे गम्भीर बनेका छैनौं। मेरो बच्चा प्रविधिमा अगाडि छ। मोबाइल, ल्यापटपमा सहजै इन्टरनेट चलाउँछ। चलाख भइसकेको छ, सबै कुरा थाहा पाएको छ भनेर दंग पर्छौं,’ डा. ट्वेन्जले देखाएकी छन्, ‘आमाबाबुको यही सोचाइले नानीबाबुको बालापन गुम्छ।’
त्यसैले, उनको सुझाव छ– केटाकेटीलाई स्मार्टफोन चलाउन होइन, स्मार्ट बन्न सिकाउनुस्। उनीहरूलाई नयाँ नयाँ संस्करणको ग्याजेट होइन, फुटबल दिनुस्, भलिबल दिनुस् र आफू पनि सँगै खेल्नुस्। स्मार्टफोनमा ‘पेन्ट’ गर्न होइन, कापीमा चित्र बनाउन लगाउनुस्। च्याट होइन, गफमा सरिक गराउनुस्।’
आइ–पुस्ताले फेसबुकका स्ट्याटस हेरेर प्रतिक्रिया जनाउन जानेको छ। ‘आइ लभ यू, मिस यू, केयर यू, ह्याप्पी फर यू, आइ एम वीथ यू’ भन्दै इमोजी पठाउँछ। तर, आँखामा आँखा जुधाएर भन्न सक्दैन, ‘भन के भयो तिमीलाई?’
काँधमा हात राखेर, अंकमाल गरेर भन्न सक्दैन, ‘म छु नि तिम्रो लागि।’
प्रविधिको यस्तो उत्पातले कुनै दिन सामाजिक विग्रहको ठूलै मूल्य चुकाउनुपर्ने डा. ट्वेन्जले आकलन गरेकी छन्। त्यो बेला हाम्रा नै हाम्रा हुने छैनन्, सामाजिक सञ्जालका हुनेछन्। भावनाहरू बोलीमा होइन, स्ट्याटसमा पोखिनेछन्। प्रतिक्रिया खुसी र विस्मातमा होइन, इमोजी, लाइक र डिस्लाइकमा सीमित हुनेछन्।
आफ्ना केटाकेटीलाई यत्ति सिकाएपछि तपाईं आफू चाहिँ स्मार्टफोनको दास बन्ने होइन नि!
यो लेख पढेपछिको पहिलो खाना आफ्नो परिवारसँगै खानुस् है, स्मार्टफोनलाई कुनामा कतै मिल्काएर। खानापछि एकछिन सँगै बसेर दिनभरिका कुरा बाँड्नुस् है।
अनि पख्नुस्, सुत्ने बेला नानीबाबुलाई कथा सुनाउन नबिर्सनुस् नि!