नांगो तारबाट करेन्ट लागेर राजधानीमा १ जनाको मृत्यु, २ घाइते


बिजुलीका नांगो तारले करेन्ट लागेर राजधानीमा १ जनाको ज्यान गएको छ २ जना घाइते भएका छन्।  सोमबार राति पानीपोखरीको सडकमा ग्राभेल गर्न गिट्टी बोकेर आएको टिप्परमा नांगो तारबाट करेन्ट लाग्दा चालक सिन्धुपाल्चोक मेलम्चीका नवराज माझीको घटनास्थलमै ज्यान गएको छ।

राति ११ बजे माझी बा १ क ११२५ नम्बरको ट्रिपर लिएर पानी पोखरी पुगेका थिए। त्यहाँ सामान खसाइसके माथि उठाइएको डालासहित अगाडि बढ्न खोज्दा नांगो तारले छोएको थियो।

नांगो तारसँग छोइएपछि ट्रिपरको पछाडिको टायर आगो लागेको थियो भने करेन्टको झड्काले सिटमा बसेका माझीको ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोबिन्द पुरीले जानकारी दिए।

घटनामा सहचालक रामबहादुर तामाङ गम्भीर घाइते भएका छन्। उनको अहिले त्रिवि शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ।
तामाङ र माझी ललितपुरको सैलुन कन्ट्रन्सन प्रालिमा काम गर्दथे।

त्यस्तै मंगलबार विहान काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा हिडिँरहेका एक युवालाई करेन्ट लागेको छ।  सडक पेटीबाट हिँड्दै गर्दा रामेछाप २ घर भएका राजु लामा करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

सडकमा हिँडिरहेका बेला बिजुलीको पोलका करेन्ट सर्ट भइ झिल्का देखिएको र सोही बेला पोल मुनि पुगेका लामालाई करेन्ट लागेको हो। लामाको दुइवटै खुट्टा जलेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले घटना बारे कुनै औपचारिक जानकारी प्राधिकरणमा आइनसकेको बताए।

‘दुर्घटनाबस कहिलेकाहीँ यस्तो हुन्छ, यो सुरक्षा र सचेतनाको कुरा हो,’ अधिकारीले भने, ‘यस्ता घटना नहोस् भनेरै हामीले काठमाडौंमा बिजुलीको भूमिगत वितरणको काम अघि बढाइरहेका छौं।’

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.