थामेको आफ्नै चिनारी थियो। पहिचान थियो। मौलिकता थियो।
माथि थामे गुम्बा। छेउछाउमा अरू पनि गुम्बाहरू। नजिकैबाट बगिरहेको थामे खोला। फाँटिला गह्राहरू। घाँसे मैदान। खुम्बु क्षेत्रमा थामेजस्तो चित्ताकर्षक उपत्यकामा अरू छैन।
यति मात्र होइन, सगरमाथामा पहिलोपटक पाइला राख्ने तेन्जिङ नोर्गे शेर्पाको गाउँ पनि हो थामे। थामे खोलाकै पानी खाएर हुर्किएका उनले सगरमाथाको आरोहणको बाटो पहिल्याए। त्यसैबाट आफ्नो छवि आलोकित तुल्याए।
उनैको लय पछ्याउँदै कामिरिता शेर्पाले ३० औंपटक सगरमाथाको चुचुरो चुमे। आपा शेर्पा, हिमचितुवा उपनामधारी आङरिता शेर्पा, लाक्पा रिता शेर्पा (सातै महादेशका हिमाल आरोहण गर्ने पहिलो नेपाली) थामेकै माटोका सुन्दर फूल हुन्। उनीहरूका सुगन्धले सिंगो हिमाली क्षेत्रले नयाँ परिचय पाएको छ।
तर तापमान वृद्धि र यसबाट सिर्जित संकटले हिमाली क्षेत्रलाई पिरोल्न थालेको छ। नयाँनयाँ मौसमी घटनाको सामना हिमाली क्षेत्रले गर्न थालेको छ।
यसअघि कहिल्यै अनुभव नगरिएका, निरन्तर वर्षा हुने, गर्मीको अनुभव हुने जस्ता प्रकृतिका मौसमी घटनाले अत्यास मात्रै बढाएको छैन, हिमाली क्षेत्रले नयाँ प्रकोपको सामना गरिरहेको छ।
थामेले पनि यस्तै बेहोर्यो।
टासी लाप्चा आधार शिविर नजिकै रहेका दुइटा ताल फुटेर थामे क्षणभरमै उच्चाटलाग्दो बगरमा परिणत भयो।
अहिले अफ-सिजन छ। पर्यटकको चहलपहल खासै छैन। सिजनमा बाह्य पर्यटकले भरिभराउ हुन्छ त्यो ठाउँ। बस्तीको पुछार बेस्सरी खोतल्ने र बस्ती वरपर विशालकाय ढुंगासहित गेग्रान थुपार्ने गरी हिमताल विस्फोट भएपछि थामे पुरानो लयमा कहिले फर्किएला भन्ने चिन्ता भएको छ।
अहिले २० वटाभन्दा बढी घर खण्डहर छन्। बस्ती माथि रहेको विद्यालय धुरी मात्रै देखिनेगरी छोपिएको छ। ९५० वाटको विद्युत गृह पनि क्षतिग्रस्त भएको छ। आलु फल्ने गह्रामा पन्छाउनै नसकिने प्रकृतिका ढुंगा आएर पसारिएका छन्। त्यसलाई पन्छाएर थामेलाई कसरी गुलजार तुल्याउने भन्ने चिन्ता थपिएको छ।
हिमताल विस्फोटले थामेको लय कसरी विथोल्यो भनेर हामीले त्यही भेगमा वाइल्ड लाइफ फोटोग्राफीमा ख्याती कमाएका चुङ्बा शेर्पासँग कुराकानी गरेका छौं।
उनी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने थामे भेगकै होइनन्, केही तल पर्छ उनको घर। वडा नम्बर ३ निवासी हुन्। कुराकानी क्रममा उनले आफू थामे क्षेत्र गइरहने बताए। त्यहाँका रैथाने शेर्पाको सांस्कृतिक वैभवले आफूलाई लोभ्याएको उनले बताए। जति उनलाई रैथाने शेर्पा संस्कृतिले वशीभूत तुल्याएको थियो, त्योभन्दा बढी त्यहाँका शेर्पाहरूको जीवनशैली, मेहनत, थामेको प्राकृतिक सुन्दरताले मन हरण गरेको उनले बताए।
तर हिमताल विस्फोटनपछि थामेको पुरानो परिचय बगरले छोपिन पुगेको छ।
'हामी अहिले यही कुरामा मन बुझाइरहेका छौं, बाढी राति गएन। राति बाढी गाउँ पसेको भए मानवीय क्षति पनि बेहोर्नुपर्थ्यो,' चुङ्बाले भने।
अहिले बाढी उत्पत्ति भएको रोल्वालिङ क्षेत्र जाने ठाउँतर्फबाट हो। पाँच हजार ७५५ मिटर उचाइमा रहेको त्यो पासबाट रोल्वालिङ क्षेत्र प्रवेश गर्न सकिन्छ। यो रूट प्रयोग गर्नेको संख्या कम भएकाले त्यस भेगमा पैदा भइरहेको विचलनबारे स्थानीयबासीले कम जानकारी पाएको उनले अनुमान गरे।
नङपा ला नेपाल-चीनको पुरानो नाका थियो। त्यही नाका भएर चिनियाँ व्यापारीहरू नाम्चे आइपुग्थे। नाम्चे-थामेबासी पनि याकलाई भारी बोकाएर तिब्बतसम्म पुग्ने र व्यापार प्रवर्द्धन गर्थे।
त्यो क्षेत्र भएर अवाञ्छित गतिविधि हुन थालेको आशंकापछि त्यो नाका ठप्प छ।
थामे भएर सगरमाथा आधार शिविरसम्म पदयात्री, आरोहीहरू पुग्छन्। त्यसले पनि थामेको सौन्दर्य विस्तार गरेको हो। अवसरको नयाँ क्षितिजमा पुर्याएको हो। पदमार्ग नहुँदो हो त, त्यहाँको जीवन अति नै कष्टकर थियो।
केही दिनपछि त्यहाँ आलु खन्ने समय सुरू हुन्छ। भदौमा खन्ने आलु उनीहरूले मंसिरमा रोप्छन्। एक बाली फल्नै नौ महिना कुर्नपर्ने भएपछि त्यहाँको जीवन कति कष्टपूर्ण छ भनेर हामी सहजै अनुमान गर्न सक्छौं।
त्यहीँको माटोमा जन्मिएका तेन्जिङ नोर्गेले सगरमाथा आरोहणको बाटो खुलाएपछि त्यसको लाभ थामेको पोल्टामा पर्न थाल्यो। हिमाल आरोही र पदयात्रीहरूको आँखा पर्न थाल्यो। नयाँनयाँ पदमार्ग (पास) खुले। त्यसपछि थामेले दुःखको काँचुली फेरेको थियो।
'हिमताल विस्फोटपछि थामेका अधिकांश होटल क्षतिग्रस्त भएका छन्। ती पुनर्निर्माण गरेर कहिले पहिलेकै हालतमा फर्काउनु,' चुङ्बा आश्चर्य प्रकट गर्छन्।
पछिल्लो समय थामे रैथाने आलु प्रवर्द्धनमा जुटेको थियो। स्थानीय आलुका परिकार प्रवर्द्धन गर्नेदेखि चिप्स बनाउने प्रविधि भित्र्याएको थियो। सगरमाथा क्षेत्रको आलुको ब्रान्डमा अन्तर्राष्ट्रिय रूपमै प्रवर्द्धन गर्ने काममा त्यहाँको युवा समूह (ठहिछ्होवा युवा क्लब) लागिपरेको थियो।
पर्यटन व्यवसाय फस्टाउँदै, उर्वर बन्दै गएपछि त्यहाँका केही मानिसले अमेरिकासम्म पहुँच पुर्याएका छन्। अफ-सिजनमा त्यहाँ घुम्न पनि जान्छन्। आफूसँग थामेको आलुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनीहरूको लक्ष्य थियो।
'सगरमाथा आधार शिविरतिर जाने पर्यटकहरू पनि नाम्चे बजारबाट थामे र त्यहाँबाट रिङ्जो ला हुँदै जाने पुग्थे। नाम्चे-थामे-खुम्जुङ हुँदै स्याङ्बोचेबाट सगरमाथा आधार शिविर पनि पुग्छन्। यसरी पर्यटकको चहलपहल बढ्न थालेपछि त्यहाँको व्यापार-व्यवसाय राम्ररी फस्टाएको थियो,' उनले भने।
बाढीले ध्वस्त पारेपछि अब थामेलाई पुरानो लयमा फर्काउन धेरै श्रम र मूल्यको जरूरत पर्ने बताए। त्यसमा स्थानीयको मात्र नभइ, राज्यको इच्छाशक्ति र तदारूकता जरूरी हुने उनको बुझाइ थियो।
हामीले अर्का आरोही मिङ्मा छिरी शेर्पासँग पनि कुराकानी गर्यौं। उनी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ खरीखोलाका हुन्। पर्यटन व्यवसायीसमेत रहेका उनी थामे ओहोरदोहोर गरिरहन्छन्। थामे उपत्यकाबारे जानकार छन्।
उनले थामेको ऐतिहासिकता कोट्याए।
त्यहाँको परिचयसँग गासिएको थामे गुम्बाको इतिहास झन्डै दुई हजार वर्ष पुरानो रहेको मिङ्माले बताए। त्यही आधारमा थामेमा दुई हजार वर्षदेखि नै मानवीय गतिविधि रहेको भन्न सकिने उनले बताए।
'नेपालमा शेर्पा समुदायको दुइटा पाटा छन्। एउटा पाटो, करिब ३५०० वर्षअगाडि त्यही नाङ्प ला हुँदै आएर बसोबास थालेको भन्ने भनाइ छ। यो प्रामाणिक तथ्य भने होइन,' मिङ्माले सुनाए।
झन्डै ५० घरधुरी रहेको थामे शेर्पा समुदायको मौलिक बस्ती हो। शेर्पा संस्कृति संरक्षण र सम्वर्द्धन गर्नेमा थामेबासी अग्रपंक्तिमा पर्ने मिङ्माको भनाइ छ।
थामे हुँदै जाने तीनवटा महत्त्वपूर्ण पदमार्ग रहेको उनले बताए। त्यस अतिरिक्त सोलुखुम्बुबाट दोलखा (रोल्वालिङ) निस्कने टासी लाप्चा पास पनि छ। हिमबाढी उत्पन्न भएको त्यहीँ मुनिबाट हो। थामे उपत्यका भएर थ्री पासेस जान सकिन्छ। थ्री पासेसमा कोङ्मा ला (१८,२०८ फिट÷५५५० मिटर), चो ला (१७,७८२ फिट/५४२० र रेन्जो ला (१७, ५६०/५३६० मिटर) पास छन्।
थामेभन्दा माथि लुङ्देन गाउँ छ। थामे उपत्यकाको अन्तिम मानवबस्ती त्यही हो। त्यहाँ चार-पाँच वटा मात्रै घर रहेको मिङ्माले बताए। थ्री पासेस त्यही गाउँ भएर जान सकिन्छ।
थामे नाम्चेबाट एक क्याम्प (एक दिन) माथि पर्छ। त्यहाँका सबै रैथाने पर्यटन व्यवसायमा आवद्ध छैनन्। उनीहरूको आय याक पालनसँग जोडिएको छ। कयिपय थामेबासी याकलाई मालमत्ता ढुवानीका लागि प्रयोग गर्छन्। नाक (पोथी याक) दूधका लागि पाल्छन्। यसबाट नौनी, घ्यु, छुर्पी बनाएर बेचबिखन गर्छन्।
'हिमाली क्षेत्रको मालसामान ढुवानीको आधार भनेकै याक हो। याक नहुने हो भने त्यहाँको पर्यटन व्यवसायी नै मुर्झाउँछ,' उनले भने, 'याकको भुत्ला (रौं) बेचेर दोहोरो आम्दानी गरिरहेका हुन्छन्।'
थोरै संख्यामा गाईहरू पनि हुन्छन्। तर चिसोको कारण धेरै बाँच्न नसक्ने उनले बताए। पछिल्लो समय थामेमा ग्रीन हाउस बनाएर तरकारी उत्पादन गर्न थालिएको थियो। गृष्मयाममा छोटो समयका लागि यस्तो तरकारी खेती हुन्थ्यो।
अहिलेको हिमबाढीले थामेको जीवन्त शेर्पा संस्कृतिमा पनि दख्खल पुर्याएको छ। टोकटोक हुँदै नाम्चेतर्फ जाने पदमार्ग कटान गरेकाले पर्यटन उद्योगमै असर पुर्याउने निश्चित छ। गाउँपालिकाको केन्द्र पनि यातायातको पहुँचमा छैन। भौगोलिक विकटता छिचोल्दै थामेलाई पुरानो लयमा फर्काउन निकै चुनौतीपूर्ण रहेको मिङ्माले बताए।