रूकुम पश्चिममा प्रेम सम्बन्ध लुकाउन एक युवकले ४९ वर्षीया महिलाको हत्या गरेको खुलेको छ।
चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्ल र सानीभेरी गाउँपालिका–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको पहिलो भेट डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलामा भएको थियो। त्योभन्दा पहिला उनीहरूबीच चिनजानसम्म थिएन। उनीहरूको एक अर्काको घर झन्डै ६ घन्टा टाढाको दूरीमा पर्छ।
आफ्नो गाउँमा सुशीला ‘माता’को रूपमा परिचित थिइन्। यता प्रेम पनि झारफुक गर्ने युवकको रूपमा चिनिन्थे।
मेलामा भेट हुँदा उनीहरूले एकअर्काको नम्बर साटासाट गरे। माता र धामी नामबाट आआफ्नो फोनमा नम्बर सेभ समेत गरे। त्यसयता उनीहरूबीच नियमित फोन सम्पर्क हुँदै आएको थियो। निरन्तर कुराकानी हुँदै जाँदा उनीहरूबीच प्रेम भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी नवराज पोख्रेलले जानकारी दिए।
‘डेढ वर्षयता प्रेम र सुशीलाका बीच निरन्तर सम्बन्ध भएको खुलेको छ,’ उनले भने, ‘त्यही प्रेम सम्बन्धलाई लुकाउनलाई नै प्रेमले सुशीलाको हत्या गरेको देखिन्छ।’
डिएसपी पोख्रेलका अनुसार प्रेम अविवाहित हुन्। सुशीलाका श्रीमानको करिब १९ वर्ष पहिले नै मृत्यु भइसकेको थियो।
सुशीलाका तीन छोराहरूमध्ये दुई छोरा तेस्रो मुलुक र रोजगारीको सिलसिलामा कान्छा छोरा भारतमा छन्। सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएकी थिइन्।
डेढ वर्षको प्रेम सम्बन्धमा बसिसकेपछि सुशीलाले विवाहको प्रस्ताव राख्दै आएकी थिइन्। यता प्रेम भने सुशीलालाई विवाह गर्ने मनस्थितिमा थिएनन्। तर सुशीलाले भने निरन्तर दबाब दिँदै गरेको प्रहरीले जनाएको छ।
यसै विषयमा कुराकानी गर्न प्रेम साउन २१ गते सुशीलालाई भेट्न लामाचौरस्थित उनकै घरमा पुगेका थिए। प्रेम र सुशीला त्यो दिन रातिसँगै बसे। तर साउन २२ गते बिहान झिसमिसे नहुँदै प्रेम कसैले थाहा नपाओस् भनेर घरबाट निस्किएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।
प्रेम दिनभरजसो रिम्ना बजार, चाइनाबगर घुमेर बेलुकी फेरि सुशीलाको घरमा फर्किएका थिए।
सुशीलाले सोही अनुरूप घरमा प्रबन्ध मिलाएकी थिइन्। उनकी बुहारी भूकम्पपछि निर्मित टहरामा सुत्न जान्थिन्। सुशीला र प्रेम नजिकको छुट्टै घरमा बस्थे।
साउन २२ गते मध्यरातितिर सुशीलाले प्रेमलाई गाउँ घरमा हल्ला भएको र सबैले थाहा पाएको भन्दै आफूसँग बिहे गर्न भनेर दबाब दिन थालिन्। प्रेमले त्यो कुरा नकारे।
आफू छोरा उमेरको भएको हुँदा बिहे गर्न नसक्ने भन्दै उनले निरन्तर इन्कार गरिरहे। त्यहीबीच उनीहरूको विवाद सुरू भएको प्रहरीले जनाएको छ। विवाद बढ्दै गएपछि उनीहरू आपसमा भिड्न थालेका थिए।
प्रेमले त्यहीबेला नजिकैको रोटी पकाउने तावा, सिलौटो, लौरो, चम्चा लगायका वस्तुले आक्रमण गरेको प्रहरी निरीक्षक शाहीले बताए। झगडा गर्ने क्रममा प्रेमलाई पनि शरीरमा सामान्य चोट लागेको थियो।
‘प्रेमले पटकपटक आक्रमण गरेपछि सुशीला शिथिल बनिन्,’ उनले भने, ‘अनि उसले चमच लगायतले पनि मनपरी आक्रमण गरेको थियो। अन्तिममा सलले घाँटीमा बेरेर हत्या गरेको स्वयमले स्वीकार गरेका छन्।’
प्रेमले हत्या गरेपछि सुशीलाको फोनसमेत लिएर उनी त्यहाँबाट निस्किएका थिए। पछि प्रहरीले मोबाइल फोन प्रेमको कोठाबाट बरामद गरेको थियो।
सुशीलाको साउन २३ गते बिहान हत्या गरेको अवस्थामा फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनी, इप्रका चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वरदेव गिरी घटनास्थल पुगेका थिए। घटनाको गम्भीरता हेरेर डिएसपी पोख्रेल पनि त्यहाँ पुगेका थिए।
प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेत (हाल नेपालगञ्ज) बाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीसहित केनाइन शाखा बाँके कोहलपुरबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको कमाण्डमा तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली पनि घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।
कुकुरले सुरूमा केही समय हत्या गरी हिँडेको बाटो एकाध घन्टासम्म पछ्याएको थियो। तर, पछि अलमलिएको थियो। पछि प्राविधिक रूपमा अनुसन्धान गरी सुशीलाको मोबाइल ट्र्याक गरेको थियो। मोबाइल कहिले खुल्ने, कहिले बन्द हुनेक्रम थियो।
त्यही क्रममा प्रहरी साउन २५ गते चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्लसम्म पुग्न सफल भयो।
प्रेमको घरको कोठा खानतलासी गर्ने क्रममा हत्या गरिएकी सुशीलाले प्रयोग गर्ने मोबाइल बरामद भएको थियो। प्रहरीका अनुसार हत्या गरिएकी सुशीलाकी बुहारीले आफू छुट्टै भूकम्पपछि निर्मित टहरामा बसेको हुँदा घरमा प्रेम आएकोबारे कुनै पनि कुरा थाहा नभएको बताएकी छन्।
आइतबार जिल्ला अदालतले प्रहरी हिरासतमा रहेका आरोपित प्रेमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी निरीक्षक शाहीले बताए।