जल तथा मौसम विज्ञान विभागले गत असार २४ गते कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा ‘तराई क्लाउडब्रस्ट’ भएर अत्यधिक वर्षा भएको निष्कर्ष निकालेको छ।
गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ सम्मको एक घण्टाको अवधिमा हनुमान नगरमा १०२ मिलिमिटर वर्षा मापन भएको छ।
एक घन्टाको अवधिमा सय मिलिमिटर वर्षा भएमा ‘क्लाउड ब्रस्ट’ मानिने विभागले जनाएको छ।
सामान्यतया यस्तो किसिमको वर्षातलाई ‘हाँडीघोप्टे वर्षा’ भन्ने गरिन्छ।
असार २३ र २४ गते २४ घन्टाको अवधिमा कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा ६२४.० मिलिमिटर वर्षा मापन भएको थियो। त्यस्तै हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.० मिलिमिटर वर्षा मापन भएको थियो।
यस मौसमी घटनालाई स्थलगत अध्ययन गर्न विभागले वरिष्ठ मौसमविद् इन्दिरा कडेल, वरिष्ठ मौसमविद् शान्ति कँडेल, जलविज्ञ सञ्जयकुमार साह र मौसमविद् सुदर्शन हुमागाइँ रहेको अध्ययन टोली गठन गरेको थियो। र, स्थलगत अवलोकनका लागि पठाएको थियो।
उक्त टोलीको अध्ययनका आधारमा विभागले कञ्चनपुरको मौसमी घटनालाई ‘तराई क्लाउडब्रस्ट’ को निष्कर्ष निकालेको हो।
‘उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणको कारण अत्याधिक वर्षा भएको देखिन्छ। यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई ’तराई क्लाउडब्रस्ट’ मान्न सकिन्छ,’ विभागको निष्कर्ष छ।
उक्त दिनको सर्वाधिक वर्षाका कारण कञ्चनपुर जिल्लाका समथर भू–भागहरू डुबानमा परेको तथा विभिन्न नदीनालाहरूमा बाढी समेत आइ क्षति भएको विभागले जनाएको छ। असार २५ गते बिहान ६ः१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुर जिल्लाको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल (कुल क्षेत्रफलको करिब ६ प्रतिशत) भू– भाग डुबानमा परेको विभागले उल्लेख गरेको छ। जसमध्ये करिब ८५ वर्ग कि. मी. कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४,००० भवनहरु प्रभावित भएको पनि विभागले बताएको छ।
वायुमण्डलीय तथ्यांक, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमी अवस्थाको प्रारम्भिक विश्लेषणबाट हेर्दा उक्त दिन मनसुनको न्यून चापीय रेखा सरदरकै स्थानमा रहेको विभागले बताएको छ।
तथापि त्यस दिन सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो। यसका साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुवैतिरबाट आउने जलवाष्पयुक्त हावा उक्त स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले निष्कर्ष निकालेको छ।
दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको वर्षा ७८ वर्ष यताकै उच्च भएको पनि विभागले बताएको छ।
नेपालमा २००३ सालदेखि वर्षाको तथ्यांक राख्न थालिएको थियो।
यसअघि २०७४ साउन २९ गते हेटौडा केन्द्रमा सबैभन्दा बढी अर्थात् ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। त्यस्तै भू–संरक्षण विभागको तथ्यांकअनुसार २०५० साउन ५ गते मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४०.० मिलिमिटर वर्षा मापन भएको थियो।
अध्ययन टोलीले बुझाएको प्रतिवेदनमा के छ?
कञ्चनरपुरको दोधारा र हनुमान नगर हावापानी केन्द्र तथा सुन्दरपुर कृषि हावापानी केन्द्रमा राखिएको वर्षा मापन उपकरणको जाँच गर्न अध्ययन टोली असार २७ गते त्यता गएको थियो।
दोधारा हावापानी केन्द्रमा असार २३ गते बिहान ८ः४५ बजेदेखि २४ गते बिहान ८ः४५ बजेसम्मको २४ घन्टाको अवधिमा स्वचालित रेनगजमा ६२४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै मानव सञ्चालित रेनगजबाट ४२९.४ मिलिमिटर वर्षा मापन गरिएको थियो।
उक्त रेनगजको क्षमताभन्दा बढी वर्षा भएकाले बाहिरी सिलिन्डर भरिएर वर्षाको पानी बाहिर खेर गएको हुनाले यथार्थ वर्षा मापन हुन नसकेको अवलोकनकर्ताले बताएको प्रतिवेदनमा उल्लेख छ।
विभागको मापदण्डअनुसार २५० मिलिमिटर प्रतिघन्टा वर्षामा दुई प्रतिशतसम्मको त्रुटि स्वीकार गर्न सकिने देखिएकोमा दोधारा केन्द्रमा जडित स्वचालित रेनगजको औसत त्रुटि ०.५ प्रतिशत रहेको देखिएकाले त्यहाँको रुेनगजको अवूस्था ठीक रहेको उल्लेख छ।
तर, त्यहाँको मानव सञ्चालित वर्षा मापनमा पनि प्राविधिक त्रुटि नदेखिन तथापि क्षमताभन्दा बढी वर्षा भएकाले उपकरणको क्षमता बढाउनुपर्ने सुझाव दिइएको छ।
सुन्दरपुर कृषि हावापानी केन्द्र औसत त्रुटि –१२.४ प्रतिशत देखिएकाले वास्तविक वर्षाभन्दा कम वर्षा मापन भएको औंल्याइएको छ। यहाँको स्वचालित रेनगज प्रयोगशालामा ल्याइ जाँच गर्नुपर्ने खाँचो औंल्याइएको छ।
हनुमान नगर केन्द्रमा जडित स्वचालित रेनगजको औसत त्रुटि –१.९ प्रतिशत रहेकाले त्यहाँको अवस्था ठिक रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यहाँ पनि मानव सञ्चालित प्रणालीमा प्राविधिक त्रुटि नरहेको र उपकरणको क्षमताभन्दा बढी वर्षा भएकाले यथार्थ मापन हुन नसकेको औंल्याइएको छ।
त्यहाँ प्रयोग भएको मेजरिङ स्टिकमा पानीको संकेत राम्रोसँग नदेखिएको अवलोकनकर्ताले गुनासो गरेको नयाँ मेजरिङ स्टिक उपलब्ध गराउन प्रतिवेदनमा सुझाव दिइएको छ।
यो पनि:
नेपालको इतिहासकै सबभन्दा ठूलो वर्षा
स्थलगत अध्ययन प्रतिवेदन