पाल्पामा पाका उमेरका महिलाको पहिचान गरी प्रलोभनमा पारी झुक्याएर सुनका गरगहना चोरी गर्ने गिरोह पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–३ का झुम्साका ६३ वर्षीय चुरामणि गाहा मगर, रूपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भई हाल बुटवल उपमहानगरपालिकाको लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरीबहादुर थापा भुजेल, रूपन्देही सैनामैना नगरपालिका–८ का ४२ वर्षीय गुञ्जबहादुर मगर र रूपन्देहीको कञ्चनपुर गाउँपालिका–१ का ३३ वर्षीय लक्ष्मण कुमाल छन्।
उनीहरूले उमेर ढल्केका र सुनका गरगहना लगाएका महिलाको पहिचान गरी मिलेर उनीहरूका गरगहना नाटकीय रूपमा फुत्काउँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार पक्राउ परेका चार जनामध्ये दुई जनाले विगत चार पाँच वर्ष पहिलेदेखि नै बुटवल र पाल्पा क्षेत्रमा त्यही काम गर्दै आएका थिए।
पाल्पाको तिनाउ गाउँपालिका ३ का झुम्साका ६३ बर्षीय चुरामणि गाहा मगर र रूपन्देहीको ओमसतिया गाउँपालिका – ५ घर भई हाल जिल्लाकै बुटवल उपमहानगरपालिकाको लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरीबहादुर थापा भुजेलले विगत चार पाँच वर्षयता बुटवल र पाल्पा क्षेत्रका सर्वसाधारण महिलालाई प्रलोभनमा पारी सुनका गरगहना फुत्काइ ठगी गर्दै आइरहेका थिए।
पछिल्लो एक डेढ वर्षयता चुरामणिले आफ्ना साढु रूपन्देही सैनामैना नगरपालिका – ८ का ४२ वर्षीय गुञ्जबहादुर मगर र सालो रूपन्देहीको कञ्चनपुर गाउँपालिका – १ का ३३ वर्षीय लक्ष्मण कुमाललाई पनि सोही ठगी धन्दामा लगाउँदै आएको खुल्ने प्रहरी निरीक्षक चन्दले बताए।
सुनका गरगहना लगाएका महिलाहरूलाई एक्लै देखेपछि उनीहरूले पिछा गर्दै जान्थे। त्यो ठाउँका बारेमा अपरिचित जस्तै गरी त्यहाँका सरकारी कार्यालयहरू (जस्तै मालपोत, जिल्ला प्रशासन कार्यालय) कता पर्छ होला ? भनेर गफगाफको मेलो मिलाउँथे।
प्रहरी निरीक्षक चन्दका अनुसार एक जना महिलासँग कुरा गरी पैदल अगाडि बढिरहँदा उनीहरूकै समूहका अन्य व्यक्तिहरू नजिकमै हुन्थे। जसले उनीहरू गफिँदै आएको बाटोमा नजिकै सुन जस्तै देखिने (पहेंलो ढिक्का) भुइँमा खसाल्थे। अब गफ गर्दै अगाडि बढेका व्यक्तिले त्यो पहेंलो डल्लो एकाएक फेला पारेको नाटक गर्थे। त्यतिखेर सँगै हिँडेकी महिलालाई कतै नभन्नु बरू तपाईंलाई पनि भाग दिउँला भन्ने प्रलोभनमा पार्न थाल्थे। त्यसपछि नजिकै रहेका उनीहरूका अन्य सहयोगी पनि त्यहाँ आइपुग्थे। त्यतिधेरै सुन कहाँ बाट फेला पार्यौं? हामीलाई पनि नदिए प्रहरीलाई खबर गरिदिन्छौं भन्थे।
करोड बढीको भागबण्डा लगाउने अनेकन प्रलोभन पार्दै उनीहरू आपसमा कुरा गर्छन्। साथमै रहेकी महिलालाई पनि त्यस्तै आश्वासन बाँड्छन्। सित्तैमा लाखौं रकम आउने भनेपछि उनीहरू पनि मख्ख पर्थे। त्यसपछि उनीहरूले ती महिलालाई केहीपर एकान्त स्थलमा पुर्याउँथे। भेटिएको पहेंलो ढ्याक सुन नै भएको दाबी गर्थे।
त्यो बेचेर भागवण्डा लगाउने कुरा हुन्थ्यो। तर, उनीहरू यहाँनेर पनि फेरि आपसमा नाटक गर्थे। आफूहरू पुरूष भएको हुँदा महिला त्यो भेटाएको सुन बेच्न सुन पसलमा गए कसैले आशंका नगर्ने भ्रम स्थापित गर्थे। जब ती महिला सुन बेच्न जान तयार हुन्थिन् त्यतिखेर फेरि उनीहरूले अर्कै नाटक मञ्चन गर्थे।
तपाईं यतिका धेरै सुन लगेर भागे हामीले के गर्ने? बेचेको सबै पैसा लगेर नफर्के के गर्ने? त्यसैले तपाईंले कानमा लगाएका सुनका गरगहना र भएको नगद हामीलाई यही दिएर जानुहोस्। हामी तपाईंलाई यही पर्खिबस्छौं ,’ मुद्दा फाँटका प्रहरी निरीक्षक सन्तोष चन्दले भने, ‘ठूलो धन राशीको लालच र प्रलोभनमा परी महिलाले आफ्ना गरगहना तथा नगद फुकालेर दिएपछि महिलालाई सुन बेच्ने बहानामा पसलतिर पठाउँथे भने उनीहरू आफ्नो बाटो लाग्थे।’
सोझै लुटपाट गर्ने नभई अनेक नाटक मञ्चन गरी सोझासाझा उमेर ढल्किएका महिलाहरूलाई यो गिरोहले सुन फुत्काउने र भाग्ने कार्य गर्दै आएको उनले बताए।
विगत चार– पाँच वर्षदेखि चुरामणि र गिरीबहादुरले मात्रै यस्तो ठगी धन्दा चलाउँदै आएको भए पनि एक डेढ वर्ष पहिलेदेखि आफ्नै साढु गुञ्जबहादुर र सालो लक्ष्मणलाई समेत जोडेर चुरामणिले ठगी धन्दामा एकाधिकार जमाउने चाल चलिरहेको तथ्य खुलेको पनि प्रहरी निरीक्षक चन्दले बताए।
‘कतिपय यस्तो ठगी धन्दा गिरीबहादुरलाई थाहा नदिई चुरामणिले साढु र सालोसँग मिलेर पनि गरिएको खुल्यो,’ चन्दले भने, ‘हामीले अरू कोही पीडित भए पनि जाहेरीका लागि प्रहरीमा आउन आग्रह गरेका छौं। त्यसपछि उनीहरूले के कतिलाई ठगी गरे भन्ने खुल्ने छ।’
सुनको जस्तो देखिने नक्कली ढ्याक यो समूहले भारतको गोरखपुरबाट उतैका मानिसको सम्पर्कमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।