रूकुम पूर्वमा श्रीमतीको हत्या गरी फरार श्रीमानलाई प्रहरीले जंगल बीचको एउटा गोठमा नाबालक छोरासहित लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।
भूमे गाउँपालिका–६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीमाथि खुकुरी प्रहार गरी हत्या पछि ६ वर्षीय छोरा आयुषलाई संगै लगेर भागेका थिए।
खोजी गर्दै जाने क्रममा शनिबार दिउँसो साढे २ बजेतिर आफ्नो घरदेखि डेढ घन्टा पैदल हिडेर गई तामारी जंगल बीचको एक खाली गोठबाट जीवन र उनका नाबालक छोरालाई फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले सेतोपाटीलाई बताए।
जीवनले शुक्रबार बेलुकी ५ बजेतिर श्रीमती अप्सराको हत्या गरेको प्रहरी समक्ष भनेका छन्।
कागती गोड्न गएको समयमा आपसमा विवाद भएपछि सुरूमा ढुंगाले प्रहार गरेपछि अप्सरा अचेत भएकी थिइन्। त्यसपछि खुकुरीले घाँटीमा प्रहार गरेको जीवनले प्रहरीसँग भनेको डिएसपी खरेलले बताए।
‘श्रीमान श्रीमती बीच बेमेल र लामो समयदेखि मनमुटाव रहेको भन्ने खुल्छ,’ डिएसपी खरेलले भने, ‘त्यो दिन कागती गोड्न जाँदा पनि उनीहरू आपसमा बाझ्दै गएको र त्यसले चर्कौ रुप लिएपछि एकाएक श्रीमानले श्रीमतीमाथि ढुंगा प्रहार गरेको तथा रनथनिदै ढलेपछि साथमै रहेको खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्छ।’
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार जीवन शुक्रबार दिउँसो गाउँमै एक जनाको बिहेमा गई फर्किएका थिए। उनले दिउँसै मदिरा पनि सेवन गरेका थिए।
घटना भएलगत्तै जीवनले छोरा आयुषलाई लिएर पैदल जंगलतिर लगेको देखिएको हो। छोरा आयुषलाई घटनाबारे कुनै जानकारी भने थिएन। केही पर लगेर उनलाई विस्कुट पनि किनेर दिएको प्रहरीले जनाएको छ।
जीवनले छोरालाई उनकी आमाको हत्या गरेको कुराको सुइको सम्म नदिएको प्रहरी निरीक्षक भट्टराईले बताए।
‘हामीले विभिन्न तरिकाले अनुसन्धान र खोजी गर्दै जाँदा बाबु छोरालाई तामारी जंगल बीचको एकान्त गोठमा हाँसी खुसी बसिरहेको अवस्थामा फेला पारेका थियौं,’ भट्टराईले भने, ‘अहिले पनि नाबालक आयुषलाई उनको आमा हत्या भएको कुरा कसैले भनेको छैन।’
नाबालक आयुषलाई आफन्त बोलाएर जिम्मा लगाउने तयारी गरिएको उनले बताए।
अप्सराको हत्याबारे शुक्रबार राति ११ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त सूचनापछि अस्थायी प्रहरी पोष्टबाट ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा ९ जना प्रहरी घटनास्थलमा खटिएका थिए। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।