नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीको जिम्मेवारी लिएका छन्।
यसअघि आफूले सोधेको पाँच बुँदे स्पष्टीकरणको जबाफ चित्त बुझ्दो नभएको भन्दै विश्वविद्यालय सञ्चालन ऐनको दफा १६ को उपदफा १० अनुसार उपकुलपति लामिछानेले रजिष्ट्रार अधिकारीको जिम्मेवारी लिएका हुन्।
उक्त व्यवस्था अनुसार उपकुलपतिले विश्वविद्यालयको क्षति हुने ठानेमा वा हानि हुने ठानेमा त्यो अधिकार प्रयोग गरी सदस्य सचिव पदको जिम्मेवारी आफैले राख्न पाउने अधिकार रहेको छ।
कुलसचिव अधिकारीले आफूलाई उपकुलपतिले निलम्बन गरेको भन्ने खबर पाएको र त्यसबाट कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिए।
‘मैले त्यसैका निम्ति सोधेका प्रश्नहरूको प्रष्टीकरण दिइसकेको थिएँ,’ अधिकारीले भने, ‘अब मलाई निलम्बन गरेपछि मनोमानी गर्न पाइने भयो भन्ने उनीहरूलाई छ।’
उनले आफूले कुनै पनि आर्थिक अपचलन गरेको भए त्यो प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
उपकुलपति लामिछानेको चार वर्षे पदावधि असोज ९ गतेदेखि सकिँदैछ। जाँदै गरेका उपकुलपतिले मनोमानी गरेको समेत अधिकारीले आरोप लगाए।
विश्वविद्यालयको ऐन २०४३ बमोजिम कार्यकारी परिषदको सदस्य सचिव कुलसचिव रहने व्यवस्था छ। सदस्य सचिव उपस्थित नभई बसेको कार्यपरिषदको बैठकले गरेको निर्णय मान्य हुन नसक्ने एक कर्मचारीले बताए।
‘सदस्य सचिवबिना नै कुनै गोप्य ठाउँमा आफूनिकट केही व्यक्तिहरूलाई राखेर उपकुलपति लामिछानेले रजिष्ट्रार अधिकारीमाथि कारबाहीको दण्डा चलाउनु सही थिएन,’ ती कर्मचारीले भने, ‘त्यस्तो निर्णयले मान्यता पाउनेमा मलाई विश्वास छैन।’
उपकुलपतिले असार १४ गते कुलसचिवलाई हप्ता दिनको समय सीमा राखेर पाँच बुँदे स्पष्टीकरण पत्र लिखित रूपमै थमाएका थिए। त्यसमा उपकुलपति लामिछानेले कुलसचिव अधिकारीमाथि विश्वविद्यालयको गोपनीयता भंग गरेकोदेखि आर्थिक अपचलन गरेको जस्ता आरोप लगाएका छन्।
विश्वविद्यालयको गोपनीयता भंग हुने गरी बाह्य व्यक्तिहरूलाई माइन्यूट तथा सूचना दिएको, विश्वविद्यालयका डिन, कार्यकारी निर्देशक, प्राचार्यको नियुक्तिको विषयलाई लिएर सबैलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएका रिटमा पाइएका प्रमाणका आधारमा रिट निवेदककै तर्फबाट प्रस्तुत हुनु, अनुमति नै नलिई वा उपकुलपतिलाई पनि नसोधी आफूलाई नै सर्वेसर्वा ठानेर विश्वविद्यालयको काम कारबाही प्रभावित हुने गरी एक महिना बढी बिदा स्वीकृत गरेको, पदीय मर्यादा विपरीत कसैलाई नसोधि आर्थिक लाभकै लागि अनावश्यक रूपमा परीक्षाको अनुगमन, निरीक्षण र वा विभिन्न विद्यापिठहरूको भ्रमणहरू गरेको, पदीय मर्यादा विपरीत शिक्षाध्यक्षमाथि भौतिक आक्रमण गर्ने उद्देश्यले उठेको जस्ता दोषारोपन गरिएको छ।
सम्बन्धित समाचार:
संस्कृत विश्वविद्यालयका उपकुलपतिले सोधे कुलसचिवलाई पाँच बुँदे स्पष्टीकरण
२३ वर्षपछि संस्कृत विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न छानबिन समिति गठन
विषय खारेज भएर पढाउन नपर्ने शिक्षकलाई सित्तैमा तलब दिन्छ नेपाल संस्कृत विश्वविद्यालय