प्यूठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ काल्नेकी ३० वर्षीया जीवा विश्वकर्मालाई शनिबार राति सुत्केरी व्यथाले च्याप्यो।
आलसतालस हुँदै उनी मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानीस्थित चुजाँठाँटी आइन्।
त्यहाँ स्वास्थ्य चौकी छ।
जीवा ५६ वर्षीया आमा र तीन वर्षका छोरा शिशिरको साथ लागेर आएकी थिइन्।
तल्लो पेट दुखेर आलसतालस हुँदा पनि उनी पैदलै स्वास्थ्यचौकी आइपुगेकी थिइन्।
घर र स्वास्थ्यचौकी बीचको दूरी झन्डै साढे दुई किलोमिटर छ।
मध्य बर्खा, ठाडै उकालो र खुट्टा लड्खडाउने ओह्रालो बाटो छ।
धरमपानीस्थित चुजाँठाँटी स्वास्थ्य चौकी प्रसूति केन्द्र हो।
अन्यत्र बिहान १० बजेदेखि ५ बजेसम्म मात्रै प्रसूति सेवा उपलब्ध भए पनि धरमपानीमा जनस्वास्थ्य निरीक्षक टुकाराम पोख्रेल आएयता चौबीसै घन्टा आपतकालीन सेवा दिन थालिएको छ। उनी आएको दुई वर्ष भयो।
जतिबेला गए पनि सेवा पाइने ढुक्कले जीवा हिँडेरै स्वास्थ्यचौकी आउने दुस्साहस गरेकी थिइन्।
स्वास्थ्य चौकीले जीवा पुग्नासाथ भर्ना गर्यो। स्वास्थ्य चौकीमा सात जना कर्मचारी छन्।
तीमध्ये जनस्वास्थ्य निरीक्षक पोख्रेलमात्रै पुरुष कर्मचारी हुन्। बाँकी ६ जना नै महिला कर्मचारी छन्।
सबै मिलेर जीवाको स्वास्थ्य स्थिति जाँचे। उनलाई व्यथा सहन ढाडस दिए। प्रसूतिको प्राथमिक कर्म गरे।
जीवाले राति १० बजेतिर छोरीलाई जन्म दिइन्। नर्मल डेलिभरी भएपछि स्वास्थ्य चौकीका सबै कर्मचारी खुसी नहुने कुरै भएन।
सरकारको नियमअनुसार कुनै पनि महिलाले बच्चा जन्माइ सकेपछि उनलाई २४ घन्टासम्म सोही अस्पताल वा स्वास्थ्य संस्थामै राख्नुपर्छ।
सुत्केरीलाई कुनै पनि बेला जटिलता आउन सक्ने खतरा देखेरै उनले चौबीस घन्टे निगरानीमा राखिएको हो।
जीवाको हकमा पनि चुँजाठाँटी स्वास्थ्य चौकीले त्यसै गर्यो।
आइतबार दिउँसो २ बजेसम्म जीवामा त्यस्तो कुनै समस्या देखिएन।
जीवा पनि घर जान्छु भनिरहेकै थिइन्। घर पुगेपछि पेट तातो बनाउन पाउने भएकाले उनले त्यस्तो कर गरेकी हुन्।
जनस्वास्थ्य निरीक्षक पोख्रेल लगायतलाई आमा र नाबालक छोरासँग जीवालाई घर पठाउन मनले मानेन।
उनको हेरचाहमा खटिएका महिला कर्मचारीहरूले पनि तपाईं कसरी घर जान हुन्छ भनेर सोध्दै थिए। जीवाले हिँडेरै जाने बताइरहेकी थिइन्।
२४ घन्टा भर्खर पुगेकी आलो सुत्केरीलाई ओरालो–उकालो बाटो हिँडाएर घर पठाउन उनीहरूको धर्मले दिँदैनथ्यो। अर्कोतिर लगातार झरी परिरहेकाले स्वास्थ्यकर्मीहरूले थप जोखिम उठाउन चाहेनन्।
जनश्वास्थ्य निरीक्षक पोख्रेलका अनुसार जीवाले फर्किएर जाने बाटो खर्च नभएको बताएकी थिइन्।
आधा बाटोसम्म पुग्न पनि अटोले पाँच सय रुपैयाँ लिने भएकाले बरु त्यो पैसाले अन्डा किनेर खाने बताएपछि निरीक्षक पोख्रेल अवाक् बनेको बताए।
अरू सरकारी कार्यालयहरूमा दिउँसो एक बजे खाजा खाने समय छुट्टयाइएको हुन्छ।
त्यो स्वास्थ्य चौकीमा भने सेवाग्राहीको हितलाई हेरी साढे २ बजे खाजाको समय तोकिएको छ।
जीवाको विवशता देखेर पोख्रेलले उनलाई घरै पुर्याइदिने विचार गरेछन्।
तत्कालै उनले आफ्ना सबै कर्मचारीहरूलाई सुत्केरीलाई घर पुर्याइदिने विचार सुनाएछन्। कर्मचारीहरू पनि उनको कुरामा राजी भए।
संयोगले लगातारको झरी पनि रोकियो।
जनश्वास्थ्य निरीक्षक पोख्रेल, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेल लगायतले मिलेर स्ट्रेचरमा राखेर जीवालाई आलोपालो बोक्न थाले।
झिमरुक गाउँपालिका वडा नम्बर १ बिरडाँडाकी २९ वर्षीया अनमी पार्वती पुनले आलो सुत्केरीले उठाउन खोजेको जोखिम देखेर आफूमा मानवताको भाव जागेको बताइन्।
‘उहाँले आधा बाटोसम्म जान अटोलाई पाँच सय भाडा तिर्नु भन्दा बरू म हिँडेरै जान्छु र त्यो पैसाले एक क्यारेट अण्डा किनेर खान्छु भन्ने कुरा गरेकी हुँदा हाम्रो मन पग्लियो,’ उनले भनिन् ‘जीवाको कमजोर आर्थिक अवस्था रहेछ। बस्ती पनि पातलो रहेछ। गाउँमा पुरुष पनि रहेनछन्। वर्षाले बाटो पनि बिगारेकाले किन सहयोग नगर्ने भन्ने सोच आयो। आलोपालो हामीले काँधमा बोकेर उहाँलाई घरमै पुर्यायौं।’
बाटो उकालो भएकाले ठाउँठाउँमा चिप्लिएको उनले बताइन्।
‘डाडो तथा अप्ठ्यारो बाटो रहेछ। सरले अगाडिपट्टि बोक्नु भएको थियो। एकपटक चिप्लिएर उहाँले घुँडा टेक्नुभयो। त्यतिबेला सुत्केरी खस्लिन् भनेर हामी साह्रै आत्तिएका थियौं,’ उनले भनिन् ‘ आफूले जेजस्तो कष्ट बेहोरे पनि उहाँले सुत्केरीलाई लड्न नदिई हात टेक्दै उठेपछि साह्रै खुसी लागेको थियो।’
पुनका अनुसार जीवाका श्रीमान् वशन्त विश्वकर्मा हाल रोजगारीको सिलसिलामा भारतमा छन्। जीवा घरमा एक्लै बस्दै आएकी थिइन्। अहिले भने उनले सहयोगका लागि आमा कमलालाई घरमै बोलाएकी छन्।
स्वास्थ्य चौकीका कर्मचारीले आलो सुत्केरीलाई बोकेर घरसम्म पुर्याएपछि सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन्।
उनीहरूले सुत्केरीलाई स्ट्रेचरमा राखेर लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ। सबैले प्रशंसा गरेका छन्।