पश्चिम तराई गर्मीले आक्रान्त छ।
आइतबार दिउँसो नेपालगञ्जको अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस पुगेको मौसम विज्ञान फिल्ड कार्यालय नेपालगञ्जका नायब मौसम विज्ञान सहायक शशांक बुढाले जानकारी दिए। यहाँ न्यूनतम तापक्रम नै ३१ डिग्री सेलसियस मापन भएको छ।
न्यूनतम तापक्रम र अधिकतम तापक्रमबीच धेरै फरक नहुँदा अझै गर्मी महसुस हुन्छ।
जल तथा मौसम विज्ञान विभागले पश्चिम तराईका जिल्लाहरूमा तातो हावाको चेतावनी यसअघि नै जारी गरेको थियो।
मध्य जेठमा नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियससम्म पुगेको थियो। अत्यधिक गर्मी हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।
तातो हावा (लु) चलेका कारण मानिसहरू घरबाहिर निस्किन छाडेका छन्।
त्यसैगरी सुदूरपश्चिमको धनगढीमा पनि उच्च तापक्रम मापन भएको छ। आइतबार दिउँसो २: ४५ मा धनगढीको अधिकतम तापक्रम ४२.८ डिग्री र न्यूनतम तापक्रम ३०.४ डिग्री सेल्सियस पुगेको धनगढी मौसम विज्ञान कार्यालयकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङले जानकारी दिइन्।
यसअघि मे ३० मा धनगढीको तापक्रम ४४.१ डिग्री पुगेको थियो। जुन ३० वर्ष यताकै बढी तापक्रम हो। घिसिङका अनुसार सन् १९९५ मा धनगढीको तापक्रम ४६.४ डिग्री सेलसियस पुगेको थियो।
दाङमा पनि अधिकतम ३८.१ डिग्री सेल्सियस पुगेको छ। न्यूनतम तापक्रम २५.५ डिग्री सेल्सियस मापन भएको थियो। यहाँ यस वर्ष दुई पटक ४०.२ डिग्री सेल्सियससम्म पुगेको दाङ मौसम विज्ञान फिल्ड कार्यालय प्रमुख श्रीया रिजालले बताइन्। विगत केही दिन यता दाङको तापक्रम घट्दै गएको छ।
भैरहवाको तापक्रम आइतबार दिउँसो ३७.६ डिग्री र न्यूनतम तापक्रम २८.७ डिग्री सेल्सियस रहेको कर्मचारी हिना मिश्राले बताइन्। यसअघि भैरहवाको तापक्रम वैशाख अन्तिममा ४२.६ डिग्री सेलसियस सम्म मापन भएको थियो।
मौसम विज्ञानको क्षेत्रीय कार्यालय भैरहवाका मौसमविद् बरुण पौडेलका अनुसार पश्चिम तराईका केही जिल्लाहरूमा अझै केही दिन मौसम यस्तै रहने अनुमान गरे।
पूर्वी नेपालमा जेठ २८ गते मौसम भित्रिए पनि त्यो स्ट्रङ (सक्रिय) नरहनाले पूर्वबाट पश्चिम आउन अझै ४/५ दिन लाग्ने उनले बताए।
‘अहिले सुदूरपश्चिम र लुम्बिनीका तराई जिल्लाहरूमा चलिरहेको वायु पश्चिमकै हो र यो वायुले कमजोर पूर्वको वायुलाई उतै धकेलिरहेको छ,’ पौडेलले भने, ‘त्यसैले त्यो वायु धनगढीसम्म पुग्न अझै कम्तिमा पनि ४/५ दिन लाग्न सक्ने देखिन्छ।’
यद्यपि उनले पूर्वको वायु सोमबारसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा प्रवेश गर्ने देखिएको बताए। मंगलबारसम्म दाङसम्म पनि बादल लाग्ने तथा केही शीतल अनुभूत हुन सक्ने आकलन गरे।
पश्चिम तराईका जिल्लाहरूमा तापक्रम घटेपनि धेरै गर्मी महसुस किन भएको भन्नेबारे पनि मौसमविद् पौडेलले प्रष्ट्याएका छन्।
उनका अनुसार लामो समयदेखि पानी नपरेको हुँदा हावामा आद्रता बढ्न गई बढी उकुसमुकुस भइरहेको बताए।
‘वर्षा भएको छैन र आकासमा बादल धुम्म परेर बसेको छ त्यसले आद्रता बढेको हो,’ उनले भने, ‘बादल लाग्न सक्यो भने मात्रै पनि केही आद्रता कम हुन गई सितलता महसुस हुन सक्छ।’