दाङको तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका ६० वर्षीय नेपबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खाद्रे प्रहरी चौकीका इञ्चार्ज असई नन्द शाहले थापालाई शनिबार बिहान नियन्त्रणमा लिइएको जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका – ४ नम्बर वडा कार्यालयले नेपबहादुरलाई उपस्थित गराइदिन निवेदन दिएपछि सोधपुछका लागि नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याइएको शाहले जानकारी दिए।
‘वडाको निवेदनका आधारमा हामीले उहाँलाई ल्याएर आएका हौं,’ शाहले भने ‘आज शनिबार वडा कार्यालय बन्द हुने हुँदा प्रहरी चौकीमा ल्याउनुपरेको हो।’
शाहका अनुसार छलफलका लागि वडाध्यक्ष तुलसी थापा लगायतका वडा प्रतिनिधि प्रहरी चौकीमा उपस्थित हुनेछन्।
नेपबहादुरले घर छोडेर गएको ४८ वर्षपछि दाजु ६८ वर्षीय शंकर थापालाई भारतको नागाल्यान्डमा फेला पारेको भन्दै हालसालै घरमा ल्याएका थिए।
छोरी तुलसीपुर– ७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्कविहीन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरि पाउँ’ भन्दै निबेदन दिएकी थिइन।
साथै उनले बाबुको नामको सम्पत्ति आफूले पाउनुपर्ने मागपनि गरेकी थिइन्।
त्यो निवेदनका अधारमा सोही वर्ष चैत ५ गते अदालतका कर्मचारी वनहरी गाउँमा सर्जमिन गर्न गएका थिए।
तर, त्यसको एक महिनापछि, २०८० वैशाख ५ गते, शंकरका भाइ नेपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए।
भाइ नेपबहादुरले दाजु शंकर ज्युँदै रहेको भन्दै अदालतमा मुद्दा हालेको एक वर्षपछि यही जेठ २० गते शंकर जिल्ला अदालत, दाङमा उपस्थित भई आफू ज्युँदै रहेको प्रमाण प्रस्तुत गरेका थिए।
शंकर नागाल्यान्ड फर्किसकेका छन्।
शंकरले पाउनुपर्ने सम्पत्तिका कारण काका–भतिजी बीचको लफडा सुरु भएको स्थानीय जानकारहरु बताउँछन्।
त्यसमा पनि नेपबहादुरले दाजु शंकर भनेर नक्कली मानिस खडा गरेको कतिपयले आशंका गरिरहेका छन्। तर, स्थानीय केही जेष्ट नागरिकले भने शंकरलाई आँफूहरुले चिनेको बताएका थिए।
सम्बन्धित समाचारः बावुको मृत्यु प्रमाणित गर्न छोरी अदालत पुगेपछि...