बाँकेको राप्ती सोनारी गाउँपालिका-९ स्थित चितवन पेट्रोल पम्पनजिकै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बिहीबार रातिदेखि शुक्रबारसम्म झन्डै १५ घन्टा बाँके तनावग्रस्त बन्यो।
पश्चिमबाट पूर्व जाँदै गरेको भे१ख ३०१९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको भे१०प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार टिपरको ठक्करबाट राप्ती सोनारी गाउँपालिका-८ का ३६ वर्षीय लोकबहादुर बिष्टको मृत्यु भएको थियो।
यो दुर्घटना बिहीबार राति साढे ९ बजेपछि भएको हो। घटनापछि मृतकका आफन्तले शव बाटोमै राखेर राजमार्ग ठप्प पारेका थिए।
स्थिति नियन्त्रणमा लिन नजिकै प्रहरी बिटबाट प्रहरी सहायक निरीक्षक जंगबहादुर महत क्षत्रीको कमान्डमा तीन सदस्य र इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक सुरज रोकायाको कमान्डमा १९ सदस्य टोली खटिएको थियो।
उनीहरूले स्थिति साम्य पार्न नसकेपछि राति सवा १० बजेतिर जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा थप १९ जनाको टोली घटनास्थलमा खटियो।
यतिले पनि सडक खुलाउन नसकेपछि जिप्रका बाँकेबाट वरिष्ठ नायब निरीक्षक मणि लामिछानेको कमान्डमा १२ जना र इप्रका चिसापानी बाँकेबाट प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टको कमान्डमा ९ जनाको टोलीसहित ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन भयो।
यसबीच घटनास्थलमा मृतकका आफन्तसहित झन्डै तीन सय जना स्थानीय उपस्थित थिए।
राति ११ बजेपछि स्थानीयले टिपरमा आगजनी गरेको प्रहरीले जनाएको छ। दमकलले आगो निभाउने क्रममा फेरि पछाडिबाट आगो लगाइएको थियो। टिपर आगजनीबाट जलेर नष्ट भएको थियो।
टिपर बचाउने क्रममा इप्रका कोहलपुरका प्रहरी निरीक्षक सुरज रोकायाको बायाँ हात जलेको थियो। त्यसपछि पनि स्थानीयले टिपरको अगाडिको भागमा पेट्रोलसहित आगोको बोतल फ्याँकेर आगजनी गरेका थिए।
परिस्थिति उग्र बन्दै गएपछि प्रहरीले पूर्वबाट आएका सवारी साधनलाई अगैया हुँदै नेपालगन्ज र पश्चिमबाट पूर्व जाने सवारीलाई कोहलपुरबाट नेपालगन्ज हुँदै अगैयातर्फ पठाएको थियो।
मध्यराति स्थिति नियन्त्रणमा लिन ४२ नम्बर रिजर्भ गण शमशेरगन्ज सशस्त्र प्रहरीका नायब उपरीक्षक धर्मेन्द्र बमको कमान्डमा ६० जनाको टोली खटिएको थियो। तर शुक्रबार बिहानसम्म स्थिति नियन्त्रणमा आएन।
बिहान ६ बजेतिर फेरि राप्ती सोनारी गाउँपालिका-९ शमशेरगन्जबाट नेपालगन्ज जाँदै गरेको भे१ख ४१८६ नम्बरको गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरिएको थियो। उक्त गाडी प्रहरी चौकी बाँकेमा राखिएको छ।
त्यसपछि बिहान सवा ६ बजेतिर जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको कमान्डमा थप ११ जनाको टोली घटनास्थल खटियो। जिल्ला प्रहरी प्रमुख एसपी कार्कीको कमान्डमा ७१ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी खजुरा गणबाट प्रहरी सहायक निरीक्षक सफियुदिन खानको कमान्डमा २० जना गरी कुल ९१ जनाको प्रहरी टोली राजमार्गमा उत्पन्न परिस्थिति नियन्त्रणमा लिन खटिएको थियो।
बिहान सवा ९ बजे मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा टिपर चालक र पीडित पक्षबीच छलफल सुरू भएको थियो। उनीहरूले राजमार्ग अवरोध जारी राखेका थिए। प्रहरीले वैकल्पिक मार्गबाट सवारी आउजाउ गराइरहेको थियो।
शुक्रबार दिउँसो १२ बजेतिर नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि आफन्तले शव राजमार्गबाट उठाएका थिए। त्यसपछि शव पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो।
शुक्रबार बेलुकी साढे ४ बजे प्रहरीले फरार रहेका टिपर चालक २१ वर्षीय गौतम बिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।
उनका अनुसार दुर्घटनापछि झन्डै १५ घन्टा राजमार्ग ठप्प रह्यो।