कुकुरलाई रूखमा झुण्ड्याएर क्रुरतापूर्वक मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार रोल्पाको लुङग्री गाउँपालिका– ७ हारजङ गाउँका तीन किशोरले एउटा कुकुरलाई झुण्ड्याएर क्रुरतापूर्वक मारेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका दुवै नाबालक हुन्।
'तीन जना मिलेर रमाइलोको लागि कुकुरलाई मारेको पाइएको छ,' उनले भने, 'घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको छ।'
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।