तुलसीपुर उपमहानगरपालिका–७, झमर्रे घर भएकी मणिकला महतराले २०७९ फागुन १४ गते आफ्ना बुवा शंकर थापाको ‘मृत्युको न्यायिक घोषणा गरिपाऊँ’ भनेर निवेदन दिइन्।
अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार निवेदनमा मणिकलाले आफ्ना बुवा शंकर थापा २०३५ साल असार २५ गतेदेखि बेपत्ता रहेकाले ‘मृत्युको न्यायिक घोषणा’ गरी बुवाको नामको जग्गा आफूलाई दिलाइदिन माग गरेकी छन्।
उक्त निवेदनका अधारमा सोही वर्ष चैत ५ गते अदालतका कर्मचारी सरजमिनका लागि बनहरी गाउँ गए।
कर्मचारीले बनहरीका बासिन्दा दुर्गालाल थापा, हीरालाल बुढामगर लगायत पाँच जनासँग शंकर थापाका बारेमा जानकारी मागे।
सूचना अधिकारी वलीका अनुसार पाँचै जनाले शंकर लामो समयदेखि बेपत्ता रहेको र गाउँमा नदेखेको भन्ने बयान दिए।
त्यसको एक महिनापछि, २०८० वैशाख ५ गते, शंकरका भाइ नेपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरे।
भतिजीको निवेदनमा भएको सर्जमिनविरूद्ध मुद्दा हालेको ८ महिनापछि उनी आफ्ना ज्वाइँ तुलबहादुर डाँगीलाई लिएर भारत पसे।
आफ्ना ६८ वर्षीय दाजु शंकर थापाको खोजीमा गएको नेपबहादुर बताउँछन्।
उनीहरू लखनउ, दिल्ली, पञ्जाब, हरियाणा पुगे। झन्डै डेढ महिनाजति खोजतलास गरेपछि शंकरबारे केही सुराक मिल्यो।
दार्जिलिङकी एक महिला र गोरखा रेजिमेन्टमा कार्यरत केही व्यक्तिले दिएको सूचनाअनुसार शंकर नागाल्यान्डमा बसेका छन् भन्ने पत्तो लाग्यो। उनीहरू गत फागुनमा नागाल्यान्ड पुगे।
शंकरले घर छोडेको ४८ वर्ष भएको थियो। त्यही पनि भाइ नेपबहादुरले देख्नासाथ परैबाट दाजुलाई चिनिहाले। शंकरले घर छोड्दा नेपबहादुर ११ वर्षका थिए।
दुई जनाको सल्लाहअनुसार नेपबहादुर केही पर चुपचाप बसे। शंकर आफ्नै सुरमा काम गर्दै थिए।
तुलबहादुरले शंकरलाई सोधे, ‘तपाईं नेपाली हो?’
शंकरले नेपाली भाषामा बोल्दै ‘हो, नेपाली हुँ’ भने।
दुई जनाको संवाद अघि बढ्यो। नेपबहादुरले अलिक परबाट सुने।
तुलबहादुरले सोधे, 'तपाईंका बुवाको नाम के हो?'
'पूर्णबहादुर थापा,' शंकरले जवाफ दिए।
'आमाको नाम पनि थाहा छ?'
'थाहा छ, शान्तिदेवी थापा हो।'
'तपाईंका बाजेको नाम नि?'
'जसवीर थापा।'
'भाइको नाम पनि सम्झना छ?'
'छ, नेपबहादुर थापा हो।'
'नेपालमा तपाईंको घर कहाँ हो?'
'हलवार पञ्चायतको बनहरी गाउँ।'
'तपाईंले सानैमा छाडेकी छोरीको नाम सम्झना छ?'
'छ, सकन्तला हो।' (शंकरकी छोरीलाई परिवारमा भन्ने नाम सकन्तला भए पनि नागरिकता प्रमाणपत्रमा उनको नाम मणिकला महतारा छ।)
ज्वाईं र दाजुको सवाल जवाफ सुनिरहेका नेपबहादुर त्योबेला आफू भावुक भएको सेतोपाटीलाई सुनाए।
केही दिनअघि आफ्नै घरमा दाजु शंकरसँग बसेका नेपबहादुरले भने- 'दुई जनाको कुरा सुन्दासुन्दै मेरा आँखा रसाए। कसैले नदेख्ने गरी आँखा पुछेँ अनि जुरुक्क उठेर ‘दाजु..,’ भन्दै शंकरलाई ढोग गरेँ। तपाईंले नेपबहादुर भनेको भाइ मै हुँ भनेर चिनाएँ।
उनले अघि भने,‘सन्चोबिसन्चोको कुरा भयो। दाजुभाइ नै हौं भन्ने पक्का भयो।’
नेपबहादुरले छोरी मणिकलाले मेरा बुबाको ‘मृत्युको न्यायिक घोषणा गरिपाऊँ’ भनेर अदालतमा निवेदन दिएको जानकारी पनि त्यतिबेलै दाजुलाई गराएको बताउँछन्।
शंकरका अनुसार उनले छाडेर जाँदा मणिकला २० महिना उमेरकी थिइन्। मणिकला वर्ष दिनकी नहुँदै उनकी आमा रेणुकाकुमारी गर्भवती भएकी थिइन्। गर्भवती अवस्थामै अचानक रेणुकुमारीको मृत्यु भयो।
स्थानीयवासी ८६ वर्षीया पूर्णकली भुसालका अनुसार अत्यधिक रक्तस्रावका कारण २४ वर्षीया रेणुकाकुमारीको मृत्यु भएको थियो।
शंकरका अनुसार श्रीमती रेणुकाकुमारी उनीभन्दा चार वर्ष जेठी थिइन्। शंकरको बिहे १६ वर्षको उमेरमा भएको थियो।
उमेर दुई वर्ष पनि नभएकी छोरी छाडेर गर्भवती श्रीमतीको मृत्यु भएपछि शंकर ठूलो शोकमा परे। उनलाई शोक र निराशाले गाल्दै लग्यो। उनले कतै टाढा जाने विचार गरे।
उति बेला कालापहाड (भारत) जाने चलन थियो। भाइ नेपबहादुरलाई छोरी जिम्मा लगाएर शंकर गाउँकै एकजना व्यक्तिका साथ भारत गए। यो घटना थियो २०३३ सालको।
शंकर र नेपबहादुरकी आमा आमा शान्तिदेवीले अर्को बिहे गरिसकेकी थिइन्। जेठा छोरा भारत हिँडेपछि उनी आएर उमेर ढल्केकी एक महिला राखिदिइन्। जसलाई शंकर ‘ग्वाली आमा’ भन्थे।
स्थानीयवासीहरू शंकर भारत गएपछि उनका भाइ नेपबहादुर र छोरी मणिकला (सकन्तला)को रेखदेख ग्वाली आमाले नै गरेको बताउँछन्।
घर छाडेर हिँडेपछि शंकर कहिल्यै फर्केनन्। केही अत्तोपत्तो भएन।
यति धेरै वर्ष शंकर किन फर्केनन्? छोरी र घरगाउँको किन माया मारे?
यो प्रश्न हामीले उनलाई गर्यौं।
‘म धेरै टाढा पुगेको थिएँ। उतिखेर अहिलेजस्तो फोन थिएन। कलिलै उमेरमा टाढा पुगेपछि चिनजानको मान्छे पनि भेट भएन,’ उनले भने, ‘मलाई लैजाने खड्काले जंगलमा काठको काम लगाउनुभएको थियो। उहाँ त मलाई उतै छाडेर घर फर्किनुभएछ। टाढाबाट एक्लै आउन सकिँन। म उतै बानी परें।’
‘खड्का’ को नाम उनले सम्झन सकेनन्।
नागाल्यान्डमा एकजना महिलासँग शंकरको मन मिल्यो। अन्ततः बिहे भयो। चार सन्तान जन्मे। उतै नयाँ संसार रचना भयो। जेठा छोरा हाल ३६ वर्षका छन्।
केही वर्षपछि शंकरले उतै दोस्रो बिहे पनि गरे तर सन्तान जन्मेनन्। उनी परिवारका साथ बसेका छन्।
गत फागुनमा शंकरको खोजीमा नागाल्यान्ड पुगेका भाइ नेपबहादुर र उनका ज्वाइँ तुलबहादुरले आफूहरूका साथ नेपाल आउन धेरै आग्रह गरे। शंकर आउन चाहन्थे पनि। तर श्रीमती र छोराछोरीले हिँड्न दिएनन्।
नेपबहादुरले भने, ‘तपाईं मरिसक्नुभयो भनेर छोरीले अदालतमा मुद्दा हालेकी छन्, एकपटक घर (नेपाल) जाऔँ, फेरि आउनुहोला भनेर मैले आग्रह गरे तर उहाँका परिवारले आउन दिएनन्। हामी (खोज्न गएका दुईजना) मात्र फर्कियौं।’
केही समयअघि अदालतले नेपबहादुरको घरमा दाजु शंकर ज्युँदै भए अदालतमा उपस्थित गराउनू भनेर म्याद पठायो। उनले दाजु मरेका छैनन् भन्ने जबाफ दिए तर अदालतले उपस्थिति नै खोज्यो।
फेरि ज्वाइँ तुलबहादुलाई लिएर नेपबहादुर यही जेठ १३ गते नागाल्यान्ड पुगे। अदालतको ताकेताबारे शंकरलाई राम्ररी कुरा बुझाए।
शंकरले श्रीमती र छोराहरूलाई कुरा बुझाए। अन्ततः उनीहरूले जुन १५ तारिख (असार १ गते) सम्ममा नागाल्यान्ड पुर्याइदिने लिखित शर्त गराएर नेपाल पठाए।
यसरी ४८ वर्षपछि शंकर आफ्नो जन्मभूमि आए। भाइले दाइ ज्युँदै रहेको भन्दै अदालतमा मुद्दा हालेको एकवर्षपछि यही जेठ २० गते शंकर जिल्ला अदालत, दाङमा उपस्थित भई आफू ज्युँदै रहेको प्रमाण प्रस्तुत गरे।
अदालतले शंकरसँग आवश्यक सोधखोज गर्यो। शंकरले सम्झेजति सबै कुरा बताए।
शंकरले आफूले अदालतमा भनेको कुरा उद्धृत गरे, ‘म ज्युँदै छु। मलाई मर्यो भन्नेहरू मुर्ख हुन्। मुद्दा हाल्ने छोरीसँग भेट्न पाए हेर छोरी म ज्युँदै छु, अझै मरेको छैन भनेर उभिनेछु।’
शंकरले पनि छोरी भेट्ने इच्छा गरे तर भेट नभएको बताए। उनले सेतोपाटीसँग भने, ‘अब म नागाल्यान्ड गइहाल्छु, कहिले भेट होला र खै!’
छोरीले करिब ३० वर्षअघि आफूखुसी बिहे गएको कुरा नेपबहादुरले शंकरलाई बताइसकेका छन्। मणिकला रोजगारीका लागि भारत जाने गरेकाले लामो समयदेखि भेट नभएको नेपबहादुरको भनाइ छ।
शंकर भने यही साताको बुधबार नै नागाल्यान्ड फर्किए।
उनले बयान दिएपछि अदालतमा शंकरको ‘मृत्युको न्यायिक घोषणा’ को कारबाही अघि बढेको छैन।
सूचना अधिकारी वलीका अनुसार शंकरले आफू २०३३ सालमा घर छोडेर हिँडेको र नागाल्यान्डमा बस्ने गरेको भनेर अदालतमा बयान दिएका छन्।
छोरी मणिकलाले निवेदनमा आफ्ना बुबा २०३५ सालदेखि बेपत्ता रहेको उल्लेख गरेकी छन्। शंकरले आफू २०३३ सालमा भारत गएको भनेका छन्।
नेपबहादुरले अदालतमा २०३३ सालमै दाजुभाइको अंशबण्डा भएको भन्ने बयान दिएका छन्।
दाजु शंकरको भागमा करिब डेढ बिघा जमिन भएको नेपबहादुरको दाबी छ।
अदालतका अर्का एक कर्मचारीले शंकर र नेपबहादुरका बीच एकदुई कुरा नमिलेकाले अंशबण्डाको कागजात हेर्ने र आवश्यक परे डिएनए परीक्षण समेत गराउन सक्ने बताए।
ती कर्मचारीका अनुसार शंकरले गाउँमा कसैलाई पनि चिन्दिनँ भनेको र त्यसमा शंका गर्ने ठाउँ रहेको बताए।
ती कर्मचारीले भने, ‘अदालतले सबै प्रमाण परीक्षण गरेर मात्र निर्णय गर्छ। अदालतलाई झुक्याउन खोजेको प्रमाणित भए कारबाही हुन्छ।’
मणिकला महतराले दुईमहिना अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा पनि आफ्ना बुबा शंकर थापाको ‘बेपत्ता प्रमाणीकरण लागि गाउँ सर्जमिन गरिपाऊँ’ भनेर वडा कार्यालयमा निवेदन दिएकी थिइन्।
सोहीअनुसार ‘गाउँ सर्जमिन’ गरेर पठाएको थापाले बताए।
त्यसपछि नेपबहादुरले यही जेठको तेस्रो साता दाजुभाइको नाता प्रमाणितका लागि सिफारिस गरिपाऊँ भन्दै वडा कार्यालयमा निवेदन दिए।
वडा कार्यालयले नाता प्रमाणित गरिदिइएको पनि वडाध्यक्ष थापाले बताए तर त्यसमा उनले असन्तुष्टि प्रकट गरे।
उनले भने, ‘म काम विषेशले भालुवाङ गएको समयमा नाता प्रमाणित गराएर लगेछन्। झुक्याएर गलत मान्छेहरूले नागरिकता बनाउने क्रम बढेको छ, सजगता अपनाउन जरुरी छ।’
नेपबहादुरले नाता प्रमाणित गराएर शंकरको नागरिकता प्रमाणपत्र बनाइदिने उद्देश्य लिएको हुनसक्ने वडाध्यक्ष थापाको शंका छ।
सम्पत्तिका लागि होडबाजी
नेपबहादुरले दाजुको अंशमा डेढ बिघा जग्गा रहेको दाबी गरेका छन्।
स्थानीयवासीहरूका अनुसार बनहरीमा जग्गाको भाउ प्रतिकट्ठा दस लाख रुपैयाँ जति छ। यसहिसाबले डेढ बिघाको मूल्य साढे दुई करोड रुपैयाँ हुन्छ।
यही सम्पत्तिका कारण मणिकला र नेपबहादुर बीच विवाद भएको केही स्थानीयवासीको अनुमान छ।
नेपबहादुरले भने दाजुको भागको अंश दिने बताए।
‘मैले ४८ वर्षपछि खोजेर ल्याएका मेरा दाजुलाई उहाँको भागमा परेको डेढ बिघा जमिन दिन्छु,’ उनले भने।
थापा परिवारबारे जानकार एक स्थानीयवासीका अनुसार शंकरले अंशमा पाउनुपर्ने जमिन डेढ बिघाभन्दा बढी हो, झन्डै दोब्बर हुन्छ तर भाइले दिन्छु भनेपछि शंकर त्यतिमै खुसी छन्।
ती जानकार व्यक्तिका अनुसार मणिकला आफ्ना बाबुका भागको जमिन सबै आफ्नो नाममा पार्न चाहन्छिन्। नेपबहादुर दाजुलाई डेढ बिघा जग्गा दिएर बढी जग्गा आफ्नो बनाउन चाहन्छन्।
कुनै चलचित्रको कथा जस्तै लाग्ने शंकरको ‘मृत्युको न्यायिक घोषणा’ सम्बन्धी मणिकलाको निवेदन र त्यसविरुद्ध नेपबहादुरको मुद्दाको छिनोफानो दाङमा प्रतीक्षाको विषय बनेको छ।
यो विषय दाजुभाइबीचको भन्दा बढी काका नेपबहादुर र भतिजी मणिकलाका बीच सम्पत्तिको लडाइँ रहेको धेरैको बुझाइ देखिन्छ।