दाङको तुलसीपुर उपमहानगरपालिका-१४ का छोटीलाल चौधरी बिहीबार बिहान ७ बजेदेखि नै इलाका प्रशासन कार्यालय अगाडि लाइनमा बसे।
जेष्ठ नागरिक उनी सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालयमा जाने गरेका थिए। तर वडा कार्यालयले अहिले भत्ता बुझ्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ।
त्यही परिचय पत्र नम्बर लिन उनी लाइनमा बसेका हुन्।
परिचय पत्र बनाउन भनेर उनी बिहान करिब ६ बजे नै घरबाट अटो चढेर तुलसीपुर पुगेका हुन्।
‘यसअघि वडामा परिचय पत्र बनाउने भनेर आएको थियो। तर फेरि अहिले भत्ता लिन परिचय पत्र चाहिने भनेर यहाँ पठाइदियो,’ उनले सेतोपाटीसँग भने। तर गर्मीमा पनि वृद्ध/वृद्धाहरूलाई लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनी गुनासो गर्छन्। मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीकी प्रमुख श्रीया रिजालका अनुसार बुधबार जिल्लाको अधिकतम तापक्रम ३५.८ डिग्री सेल्सियस थियो।
‘यहाँ आए पनि कम्तीमा हामी जस्ता वृद्धलाई प्रत्येक वडा अनुसार फरक-फरक ठाउँबाट सेवा प्रशासनले दिएको भए यति दुःख खेप्नु पर्ने थिएन,’ चौधरीले भने, ‘म बिहान ७ बजे लाइनमा बसेको हुँ हेर्नुस् अहिले दिउँसो भइसक्यो कागज सबै बुझाएको छु तर नाम अझै आएको छैन।’
दंगीशरण गाउँपालिका-६ बागर सुरेश डाँगी पनि जेठानको परिचय पत्र बनाउन आएका थिए।
इलाका प्रशासनमा कार्यालय खुलेको चार घन्टा बितिसक्दा पनि जेठानका लागि परिचय पत्र बनाउने पालो आइनसकेको उनले बताए।
‘६८ वर्षीय जेठान लाइनमा बस्न सक्नुहुन्न र उहाँको ठाउँमा म बसेको छु,’ उनले भने, ‘यहाँ अलि सिस्टम भएन जेष्ठ नागरिक र अशक्तहरूलाई पालिका वा वडा तहमै परिचय पत्र बनाउने व्यवस्था गरिदिएको भए यो गर्मीमा उहाँहरूले दुःख पाउनु पर्ने थिएन।’
केही समयअघि वडा कार्यालयमै पनि राष्ट्रिय परिचय पत्र दिन थालिएको थियो। तर त्यो काम रोकिएसँगै प्रशासन कार्यालय नै धाउनुपरेको हो।
इलाका प्रशासन कार्यालय तुलसीपुरमा विगत दुई हप्तायता यस्ता धेरै जेष्ठ नागरिक र अशक्तहरूको भीडभाड नै छ। कार्यालयको गेट नखुल्दै लाइन सुरू भइसकेको हुन्छ।
तुलसीपुरको प्रशासन कार्यालयमा यतिखेर ज्येष्ठ नागरिक, अशक्त, एकल महिला परिचय पत्र बनाउनका लागि धाउन बाध्य भएका हुन्। चर्को गर्मीको उकुसमुकुसमा जेष्ठ नगरिकले परिचय पत्रकै लागि सास्ती खेपिरहनु परेको छ।
राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन अब अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र चाहिने भनेपछि उनीहरू बाध्य भएको बताउँछन्।
इलाका प्रशासन कार्यालय प्रमुख यज्ञबहादुर बुढाका अनुसार राष्ट्रिय परिचय पत्रका लागि गत कात्तिक, मंसिर महिनामा गाउँ-गाउँमा घुम्ती अभियान चलाइएको थियो।
त्यतिखेर अफलाइनमा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको हुँदा उतिखेरै परिचयको नम्बर उपलब्ध गराउन सकिएको थिएन।
आफ्नो परिचय पत्रको नम्बर लिन आउनेहरूसँगै तुलसीपुर उपमहागनरपालिकासहित पश्चिम दाङका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाबाट नयाँ राष्ट्रिय परिचय पत्र बनाउनका लागि ज्येष्ठ नागरिक, अशक्त, एकल महिला आएको हुँदा कार्यालय भीडभाड भएको प्रमुख बुढाले बताए।
उनका अनुसार कार्यालयमा मंसिरसम्म दुई जना दर्ता गर्ने कर्मचारीहरू थिए। तर, पुसमा विभागले एक जना कर्मचारीलाई तानिदियो। त्यसैले अहिले एक जना कर्मचारीको भरमा दर्ताको काम भइरहेको हुँदा ढिला भइरहेको हो।
‘एउटै कर्मचारीले सयौंको काम गर्दा कति समस्या भइरहेको होला,’ उनले भने, ‘जसले गर्दा जेष्ठ नागरिक लगायतको काममा ढिलाइ भएको छ भने अर्कोतर्फ कर्मचारीलाई पनि काममा निकै मेहनत गरिरहनु परेको छ।’
तुलसीपुरस्थित प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र दर्ताको काम २०७८ साउनदेखि सुरू भएको थियो। प्रमुख बुढाका अनुसार जेठ २१ गतेसम्म ५३ हजार २९० जनाको नाम दर्ता भएको छ। तीमध्ये ३२ हजार २०७ जना पुरूष र २१ हजार ८३ जना महिला रहेको विवरण प्रमुख बुढाले दिए।
तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले भने कतिपय जेष्ठ नागरिकले कुरा नबुझेरै पनि यो टन्टलापुर गर्मीका दुःख पाइरहेको तर्क गरे।
यसअघि पालिका तह वा वडामा आएर फर्म भरिसकेकाहरूको हकमा उनीहरूका छोरा, नाति वा घरका अन्य सदस्य गए पनि प्रशासन कार्यालयबाट नम्बर सजिलै पाइने सुविधा हुँदाहुँदै जेष्ठ नागरिक आफै लाइनमा बस्न जानुले भीडभाड बढेको उनले बताए।
‘नयाँ परिचय पत्र बनाउनेहरू आफै जानुपर्ने अलग कुरा हो,’ उनले भने, ‘तर पालिका वा वडामा फर्म भरिसकेकाहरू आफै नगई परिवारका सदस्य पठाए हुन्थ्यो, किन उहाँहरूले दुःख खेपी रहनुभएको होला।’
त्रैमासिक रूपमा त्यस्तो सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकालाई अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र बनाउनै पर्ने नियम बनाइएका कारण यो समस्या भइरहेको तुलसीपुर-११ का वडाध्यक्ष समेत रहेका रावतले बताए।
यसअघि यस्ता व्यक्तिहरूलाई राज्यले नागरिकताका आधारमा भत्ता उपलब्ध गराउँदै आएको थियो। आफूहरूले अहिले आएर खेप्नु परेको अप्ठ्यारोलाई सहज पारिदिन स्थानीय पालिका वा प्रशासन कार्यालयले उचित भूमिका निर्वाह गर्न नसकेको कतिपय जेष्ठ नागरिकले रोष प्रकट गरेका थिए।