दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमल पोखरीमा पानी अड्याउनका लागि झन्डै थप ६० लाख रुपैयाँ रकम खर्च गर्न थालिएको छ।
कमल पोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५ सय ९२ रुपैयाँ खर्चिन लागिएको छ। यसअघि नै यो तालका लागि विभिन्न निकायको डेढ करोड जति रकम खर्च भइसकेको छ ।
तुलसीपुरका इञ्जियिनर हिमाल शर्माका अनुसार यो पटक नगरले फेरि साढे ६ लाख खर्चिदै छ। त्यो रकमले गेटसहित केही पर्खाल निर्माण गरिने छ। पोखरीको संरचना तयार पारेको हुँदा अब गेट पनि निर्माण गर्नु जरूरी छ भन्ने सोचले रकमान्तर गरी साढे ६ लाख बजेटले नगरले छुट्टै काम गरिरहेको हो।
पोखरीको विकासका लागि यसअघि तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र युएसएआइडीको तयार नेपालले लगानी गरेका थिए।त्यतिखेर तुलसीपुरको २५ लाख रुपैयाँ, कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार तीन सय ५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ लगानी भएको थियो।
त्यति रकमबाट प्राकृतिक अवस्थाको ताललाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाई पक्की बनाएको थियो। तर, त्यसमा गत वर्ष वर्षायाम भर एक थोपा पनि पानी अडेन। सोबारे सेतोपाटीले समाचार प्रकासित गरेको थियो। तालमा पानी नै अड्ने भएपछि डेढ करोड बढी खर्चेको के काम? भन्दै आलोचना भएको थियो।
त्यो आलोचनापछि अहिले तयार नेपालले कमल पोखरी सुधार कार्यका लागि भनेर झन्डै ६० लाख खर्चिन लागेको हो। उसले फागुन २३ गतेदेखि सुधारको काम गर्ने गरी काम गरिरहेको छ। त्यो काम यही असार ३ गतेसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
कमल पोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले पोखरी भित्रको काम भइरहेको बताए। सुधारको कार्य अन्तरगत पोखरीभित्र यतिखेर रातो माटोले ताल भित्रको सतह १८ इञ्च अर्थात् ४ सय ५० एमएम फिलिङ गरिने छ। पोखरीभित्र पानी रोक्न (अड्याउन) सजिलो होस् भनेर ‘डेन्टो नाइट पाउडर’ त्यो माटोमा मिसाइ कम्प्रेसरले भित्री सतह फिलिङको काम भइरहेको छ। पोखरी फिलिङका लागि आवश्यक रातो माटो तुलसीपुर सल्यान सडक खण्डको पहाडी क्षेत्रबाट टिपरबाट ओसार्दै आइएको छ।
इञ्जिनियर शर्माका अनुसार हालसम्म एक लेयर माटो र पाउडर फिलिङ भइसकेको छ। त्यसमा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोरा पाउडर प्रयोग भइसकेको छ। तालभित्रको पहिलो लेयर फिलिङ गरिसक्दा लगभग ३० प्रतिशत काम पूरा भएको उनले बताए। पहिलो लेयरमा ५ प्रतिशत पाउडर माटोमा मिलाइ सकिएको शर्माले जानकारी दिए। अब धमाधम काम हुने र दोस्रो लेयर फिलिङको काम छिट्टै पूरा हुने उनले बताए।
गत साल वर्षायामभर तालमा एक थोपा पानी नअडिए पनि अहिले फिलिङको काम पूरा भएपछि यो वर्षामा पानी अडिन्छ कि? भन्ने आशा स्थानीयले पनि गरेका छन्।
तयार नेपालले विपद जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस् भनेर लगानी गरेको हो। त्यसैमाथि लुम्बिनी सरकारले पर्यटन प्रवर्द्धनमा सजिलो होस् भनेर छुट्टै लगानी गरेको थियो। तर, त्यो लगानी बालुवामा पानी साबित भएपछि फेरि तयार नेपालले तालभित्र पानी अड्याउन थप ६० लाख जति खर्चेर सुधारको काम गरिरहेको हो।
तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका प्रमुख टोपबहादुर डाँगीले करिब एक बिघा क्षेत्रफलमा ताल फैलिएको बताए।
प्राकृतिक तालमाथि क्रंकिट संरचना निर्माणको काम झन्डै पाँच वर्ष अघिबाट सुरू भएको थियो।
यो पनि:
डेढ करोड खर्चेर बनाएको पोखरीमा साउनमै छैन एक थोपा पानी