केही हप्ताअघि मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाका केही भागबाट खग्रास सूर्यग्रहण देखियो। कुनै ठाउँबाट पुनः खग्रास सूर्यग्रहण हेर्न झन्डै ३७५ वर्ष पर्खिनुपर्ने हुनाले यसको विशेष महत्त्व र चर्चा थियो।
आफ्नो जीवनकालमा एक पटक मात्रै हुने अर्को घटना पनि अमेरिकाका केही भागका मानिसले देख्न पाउने छन्।
अप्रिलको अन्त्यदेखि जुनसम्म कालो शरीर, राता बल्ड्यांग्रे आँखा र सुन्तला रङका पारदर्शी पखेटा भएको एक प्रकारको कीराका दुई विशेष समूह पूर्वी र मध्य अमेरिकाका १७ राज्यमा खर्बौंको संख्यामा देखिँदै छन्।
सिकाडा नामक कीराका यी दुई समूह यसअघि सन् १८०३ मा देखिएका थिए। त्यस बेला अमेरिकाका राष्ट्रपति थोमस जेफरसन थिए। उनले आफ्नो किताब 'गार्डन बुक' मा यो कीरालाई सलह भनेका थिए। आज पनि कतिपय मानिस त्यही सोच्छन्। तर यो कीरा सलह होइन।
अन्टार्कटिकामा बाहेक संसारभर पाइने सिकाडाका तीन हजारभन्दा बढी प्रजाति छन्। प्रायः सबै सिकाडा आफ्नो जीवनको अधिकांश समय जमिनमुनि अवयस्क अवस्थामा बिताउँछन्। पूर्ण रूपमा विकसित भएपछि केही सिकाडा सानो संख्यामा हरेक वर्ष गर्मी याममा जमिन मुनिबाट बाहिर निस्किन्छन्। बाँकी वयस्क नहुञ्जेल जमिनमुनि नै रहन्छन्। यिनीहरूको जीवनचक्र प्रजाति अनुसार दुईदेखि दस वर्षसम्मको हुने देखिएको छ।
नौ प्रजातिका सिकाडा चाहिँ कुनै निश्चित क्षेत्रमा एकै वर्ष बाहिर निस्किन्छन्। पूर्वोत्तर भारतमा पाइने एक प्रकारको सिकाडा प्रत्येक चार वर्षमा देखापर्छ भने फिजीमा पाइने अर्को प्रजाति प्रत्येक आठ वर्षमा। बाँकी सात प्रजातिका सिकाडा उत्तर अमेरिकामा पाइन्छन् जसलाई 'म्याजिसिकाडा' भनिन्छ।
अमेरिकामा पाइने यी सात प्रजातिमध्ये चार प्रजाति १३ वर्षको अन्तरालमा र तीन प्रजाति १७ वर्षको अन्तरालमा बाहिर निस्किन्छन्। सन् १९०७ मा कीटवैज्ञानिक चार्ल्स लेस्टर मार्लाटले यी सिकाडालाई उनीहरू बाहिर निस्किने वर्षका आधारमा ३० विभिन्न 'ब्रुड' वा भौगोलिक समूहमा वर्गीकरण गरेका थिए। तीमध्ये धेरै त अहिलेसम्म देखिएकै छैनन् भने दुई समूह लोप भइसके। हाल १५ समूह मात्रै बाँकी छन्।
एउटै समूहमा विभिन्न प्रजातिका सिकाडा पनि हुन सक्छन् भने एउटै प्रजाति विभिन्न समूहमा पाइन सक्छ। यो वर्ष देखापर्ने दुई समूहमध्ये १७ वर्षे जीवनचक्र भएको 'ब्रुड १३' संख्याका हिसाबले सबैभन्दा ठूलो हो। त्यस्तै, १३ वर्षपछि बाहिर निस्किन लागेको 'ब्रुड १९' भौगोलिक क्षेत्रका हिसाबले सबैभन्दा ठूलो हो।
छुट्टाछुट्टै ठाउँका समूहहरू हरेक वर्षजसो एकै समयमा निस्किनु सामान्य हो। तर एक आपसमा जोडिएका भौगोलिक क्षेत्रका यी दुई समूह यसपालि २२१ वर्षपछि सँगसँगै बाहिर निस्किँदै छन्।
यी सिकाडा जमिनमुनि रूख र बिरूवाका जराले उत्पादन गर्ने रसका भरमा बाँच्छन्। समूह अनुसार १३ वा १७ वर्षपछि अप्रिलको अन्त्यदेखि जुनसम्ममा यिनीहरू विशाल संख्यामा बाहिर निस्किन्छन्। यिनीहरू जमिनभन्दा २० सेन्टिमिटरमुनि माटोको तापक्रम कम्तीमा १७.८ डिग्री सेल्सियस पुगेपछि मात्रै बाहिर आउँछन् र शिकारी जीवहरूबाट बच्न रातको समय रोज्छन्।
बाहिर आइसकेपछि यिनीहरू रूख, घरका भित्ता र खम्बा जस्ता कडा सतहमा चढ्छन् र केही दिनपछि काँचुली फेरेर वयस्क रूपमा निस्किन्छन्। सुरूमा कमलो र सेतो रङको यिनीहरूको शरीर बिस्तारै कालो र कडा हुँदै जान्छ अनि यिनीहरू उड्न सक्ने हुन्छन्। त्यसपछि यी सिकाडाको एउटै उद्देश्य हुन्छ – प्रजननका लागि जोडी खोज्ने।
भाले सिकाडाहरू पोथीलाई आकर्षित गर्न आफ्नो पेटमा रहेको झिल्लीको कम्पनको मद्दतले विशेष प्रकारको आवाज निकाल्छन्। यो धुन प्रजाति अनुसार फरक हुन्छ। सामूहिक रूपमा निकालिने यो आवाज जेट इन्जिनको भन्दा ठूलो हुन्छ। पोथीले पनि पखेटा बजाएर विशेष प्रकारको आवाज निकाल्दै मन परेको भालेलाई जबाफ दिन्छे। अन्ततः दुवै मैथुन प्रक्रियामा सहभागी हुन्छन् अनि पोथीले रूखका कलिला हाँगामा चिरा पारेर अण्डा पार्छे।
यो क्रम ६ हप्ता जति चल्छ। त्यसपछि वयस्क सिकाडाको जीवनचक्र समाप्त हुन्छ। मरेका सिकाडा सड्न थालेपछि नराम्रो गन्ध आउँछ। तर यिनीहरू माटोमा मिलेपछि माटोमा नाइट्रोजनको मात्रामा वृद्धि हुने हुनाले बोटबिरूवा झन् छिटो बढ्छन्। सिकाडाले जमिनमा बनाएका सुरूङबाट वर्षाको पानी मुनिसम्म जाने हुँदा रूखका जराहरूका लागि फाइदाजनक हुन्छ।
यसैबीच अण्डा पारेको केही महिनाभित्र सिकाडाका बच्चा निस्किन्छन् र भुइँमा झर्छन्। त्यसपछि यिनीहरू सुरूङ खन्दै जमिनमुनि पस्छन् र अर्को १३ वर्षे वा १७ वर्षे जीवनचक्र सुरू हुन्छ।
यी सिकाडाहरूको अनौठो जीवनचक्र अझै पनि रहस्य र कौतूहलको विषय छ। यिनीहरू किन १३ वा १७ वर्षको अन्तरालमा मात्रै बाहिर निस्किन्छन् त? यिनीहरूलाई ठ्याक्कै १३ वा १७ वर्ष बित्यो भन्ने कसरी थाहा हुन्छ? अनि एउटै क्षेत्रका तर फरक प्रजातिका सिकाडा एकै समयमा किन र कसरी बाहिर निस्किन्छन्?
यिनका बारेमा वैज्ञानिक र सिकाडा विज्ञहरूका विभिन्न तर्क छन्।
एक मत अनुसार यी सिकाडाहरू प्रत्येक १३ वा १७ वर्षमा मात्रै बाहिर आउनुको कारण आफ्ना शिकारीहरूबाट जोगिँदै आफ्नो अस्तित्वलाई निरन्तरता दिने रणनीति हो।
सिकाडाहरू माछा, सर्प, चरा र साना तथा ठूला स्तनधारी जनावरहरूको शिकार हुने गर्छन्। यिनीहरूले टोक्दैनन्, रोग सार्दैनन् र विषालु पनि हुँदैनन्। यिनीहरू राम्ररी उड्न पनि जान्दैनन्। त्यसैले आफ्नो प्रतिरक्षाका लागि यिनीहरूले आफ्ना शिकारीहरूसँग मेल नखाने जीवनचक्र विकसित गरेको मानिन्छ।
शिकारी जीवहरूले आफ्नो शिकार प्रशस्त हुने समयसँग मेल खाने गरी आफ्नो प्रजनन दर बढाउँछन्।
उदाहरणका लागि, यी सिकाडाहरू १२ वर्षको अन्तरालमा निस्किने भए २, ३, ४ वा ६ वर्षे जीवनचक्र भएका शिकारी जीवले सोही समयसँग मेल खाने गरी आफ्नो प्रजनन दर बढाएर यिनीहरूलाई सखाप पार्न सक्थे। तर १३ र १७ दुवै अविभाज्य (एक र आफूले मात्रै पूरा भाग गर्न मिल्ने) अंक हुनाले यी सिकाडाको जीवनचक्र कुनै शिकारी जीवको जीवनचक्र वा प्रजनन समयसँग ठ्याक्कै मेल खाँदैन।
नेचर पत्रिकामा दस वर्षअघि छापिएको एक लेखका अनुसार त्यस बेला यी सिकाडाको शिकार गर्ने १५ प्रजातिका चराको अध्ययन गरिएको थियो। अचम्मको कुरा के छ भने, सिकाडाहरू बाहिर निस्किने वर्ष यी कीराहरू भएका र नभएका दुवै ठाउँमा ती चराहरूको संख्या बढ्नुको साटो घटेको देखियो।
यी सिकाडाहरू विशाल संख्यामा एकसाथ निस्किनुलाई पनि कतिपयले शिकारी जीवहरूबाट बच्ने यिनीहरूको रणनीतिका रूपमा हेर्ने गरेका छन्।
यिनीहरूको यति ठूलो संख्यामा निस्कन्छन् कि प्रति एकड १५ लाखभन्दा धेरै सिकाडा हुन सक्छन्। शिकारी जीवहरूले अघाउञ्जेल खाए पनि यिनीहरूको ठूलो संख्या बाँचेर प्रजनन गर्न सफल हुन्छ।
केही वैज्ञानिकहरूका अनुसार यी सिकाडाहरू आफ्ना शिकारी जीवहरूबाट जोगिन नभएर दुई समूह एक अर्कासँग नमिसिउन् र प्रजनन नगरून् भन्ने उद्देश्यले १३ र १७ वर्षको अन्तरालपछि मात्रै बाहिर आउँछन्। त्यति लामो अन्तरालपछि निस्किँदा उनीहरू मिसिने सम्भावना कम रहन्छ र केही मिसिए भने पनि त्यसको उल्लेख्य असर पर्दैन।
यी सिकाडाहरूले समयको हिसाब कसरी राख्छन् भन्ने प्रश्नको उत्तर यिनीहरूको जमिनमुनिको आहारमा लुकेको हुन सक्छ। वैज्ञानिकहरूका अनुसार आफूले सेवन गर्ने रूखबिरूवाको रसमा एमिनो एसिड र अरू तत्त्वहरूको मात्रामा आएको परिवर्तनका आधारमा यिनीहरूले एक वर्ष बितेको पत्ता लगाउँछन्।
तर यिनीहरूलाई १३ वा १७ वर्ष नै बित्यो भनेर कसरी थाहा हुन्छ त?
एक आकलनका अनुसार यी सिकाडाहरूले आफूभित्र रहेको 'मोलेक्युलर क्लक' (आणविक घडी) को मद्दतले त्यसको हिसाब राख्छन्। तर यो पुष्टि भएको छैन।
विगत केही वर्षहरूमा भने सिकाडाका केही समूह अपेक्षित समयभन्दा चार वर्ष अघि वा पछि देखापर्न थालेका छन्। वैज्ञानिकहरू जलवायु परिवर्तनका कारण गर्मी मौसम लम्बिने र सिकाडाहरू चाँडै वयस्क भएर निर्धारित समयअघि नै बाहिर आउन थालेको हुन सक्ने बताउँछन्। उनीहरूका अनुसार यो क्रम बढ्दै गए भविष्यमा अमेरिकामा सिकाडाका सबै समूहहरूको जीवनचक्र एउटै हुन सक्नेछ।
(द न्यूयोर्क टाइम्स लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)