चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन।
गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।
दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ।
प्रहरीले आइतबार पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ।
प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।
प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।
यो पनि: बोरामा भेटिएका शव पहिचान गर्न प्रहरीलाई हम्मे, ६ दिनसम्म भेटिएन कुनै सुराक