घोराहीस्थित जिल्ला कारागार परिसर बुधबार बिहानको परिदृश्य अघिपछि भन्दा फरक थियो।
बिहान आठ बज्दा-नबज्दै जिप कार आउने क्रम बढ्यो।
घोराही उपमहानगरपालिकाको दक्षिणतर्फ जिल्ला प्रशासन कार्यालय जाने बाटो खचाखच मोटर गाडीको पार्किङले भरिभराउ हुन थाल्यो।
जिल्ला प्रहरी कार्यालय दाङको पूर्वतर्फ जिल्ला कारागार छ। स्कार्पियो, जिप र कारको ताँती बढ्न थालेपछि प्रहरी प्रशासनले पनि के रहेछ भनेर बुझ्यो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले एक जना कैदीबन्दी संविधान दिवसका दिन माफी पाएर जेलबाट छुट्न लागेको हुँदा उनको स्वागतमा शुभचिन्तकहरू आएको भन्ने खबर पाए।
कारागारभित्र बिहान दश बजेपछि राष्ट्रिय गान बज्यो। संविधान दिवसको अवसरमा कार्यालयमा राष्ट्रिय झन्डा फहराइयो। त्यसको केहीबेरमै बाँके नेपालगञ्जका योगराज ढकाल उर्फ रिगल कारागारबाट मुक्त भई बाहिर निस्किए।
उनको स्वागतमा कारागारको गेटमा पुगेका बाँके र दाङका दर्जनौं युवाले रिगललाई अबिर, खादा लगाउँदै स्वागत गरे। अंकमाल गरे। ताली पिटे। जेलभन्दा बाहिर गेट र सडकको वातावरण उत्सवमय बन्यो। कतिले ‘रिगल दाइ, हाइ हाइ’ को नारा लगाए। कसैले नेपाली कांग्रेसको चार तारे झन्डा रिगललाई ओढाइ दिए। स्रोतका अनुसार ती युवा नेपाल विद्यार्थी संघका थिए। उनी बाँकेबाट आएका थिए।
हल्लाखल्ला हुन थालेपछि कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूलाई हल्लाखल्ला नगर्न भनेर सम्झाउनु परेको थियो। मानौं रिगलले कुनै ठूलो प्रतियोगिता जितेर आएका थिए। देशको नाम उचो पारेका थिए।
रिगल व्यक्ति हत्यामा दोषी ठहर भएपछि अदालतबाट सर्वश्वसहित जन्मकैद पाएका व्यक्ति थिए।
असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि आठ वर्ष जेल जीवन बिताएर उनी रिहा भएका हुन्।
रिगल रिहा भएपछि उनको सवारीका लागि दर्जनौं जीप, कारको लावालस्कर सुरू भयो। तुलसीपुरको बाटो नआई उनी घोराही हुँदै लमहीको बाटो गृहनगर नेपालगञ्जतिर लागे। स्कर्टिङमा डेढ दर्जन जति मोटर गाडी थिए। एक साथ त्यति धेरै गाडी दौडिएको देखेपछि सर्वसाधारण यति धेरै गाडीसहित कसको सवारी रहेछ? भन्दै हेरिरहेका थिए।
‘मुख्यमन्त्रीको सवारीमा पनि यति धेरै गाडीहरू स्कर्टिङमा मैले कहिलै देखेको थिएन,’ रिगलको स्कटिङबारे एक जना बस चालकले भने, ‘साढे दश बजेतिर घोराही–लमही सडक खण्डको वन क्षेत्रमा उनीहरूका गाडीको लावा लस्कर र हुटिङले म अक्क न बक्क परेको थिएँ।’
उक्त सडक खण्डमा २० बढी जीप कार उनको स्कर्टिङमा रहेको उनले अनुमान गरे। लमहीको एक होटलमा पुगेपछि फेरि उनको स्वागत सम्मानमा भयो। लमहीमा उनको स्कर्टिङका लागि अरू गाडी थपिए। गाडीका लावा लस्कर बाँके जान पश्चिमतर्फ लाग्यो।
बाँकेसँग जोडिएको दाङको सीमानाको बजार अमेलिया पुगेपछि पनि त्यसैगरी उनको स्वागत भयो। त्यहाँ पनि स्कर्टिङका लागि अन्य गाडी थपिए। बाँकेको कुसुम बजारमा चिया पिउँदै गरेका एक स्थानीयले किन यति धेरै गाडी एकै साथ कुदेका भनेर सोधिखोजी गरे।
स्कर्टिङमा रहेका एक जना युवाले गाडीबाटै भने-रिगल दादा जेल मुक्त भइस्यो।
त्यहाँ पनि केही गाडी थपिए। उनको स्कर्टिङको लागि अब ३० बढी गाडी पुगिसकेका थिए।
जेलबाट रिहा भएपछि उनको स्वागतका लागि पुगेका अधिकांश युवा कांग्रेसनिकट हुन्। जेल पर्नुभन्दा पहिला रिगल कांग्रेसको भातृ संगठन नेपाल तरूण बाँके क्षेत्र नम्बर ३ का सभापति थिए।
रिगल किन जेल परेका थिए?
२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए।
त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।
जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।
मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।
तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो।
उनकै समूहका माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही ३ वर्षको काराबास सजाय तोकेको थियो।
त्यस्तै प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो।
नेपाली कांग्रेसका नेताहरूको दबाबमा झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि रिगल रिहा भएको दाबी विपक्षी दलहरूको छ।
जेल प्रशासनले भने राम्रो चालचलन भएको आधार देखाई रिफारिस भएको र माथिबाट थप सजाय मिनाहा भएको हुँदा जेल मुक्त गर्नुपरेको बताएको छ।