काठमाडौंको बानेश्वर केन्द्रित शिक्षकको आन्दोलनले सवारी ट्राफिक जाम बढेको छ।
माइतीघरदेखि नयाँ बानेश्वरमा संचालन हुने सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। जसले गर्दा सवारी चाप बढेको हो।
सवारी चापलाई व्यवस्थापन गर्न तीनकुने, कालीमाटी, बल्खुबाटै ठूला सवारी साधनलाई डाइभर्सन गरिएको छ।
यस्तै, साना सवारी साधनलाई भने नयाँ बानेश्वर, थापाथली, हनुमानस्थान, बबरमहल, बिजुलीबजार लगायतका चोकहरूबाट डाइभर्सन गरिएको कार्यालयले सूचना जारी गरी जानकारी दिएको हो।
डाइभर्सन गरिएको हुँदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्विप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने, गैह्रिगाउँ, नयाँ बानेश्वर पानीट्याङकी, कुपन्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन्।
सहज यात्राका लागि वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
शिक्षकहरूले संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका छन्। देशभरका सामुदायिक शैक्षिक संस्थाहरू बन्द गरी शिक्षकहरूले आन्दोलन गरेका हुन्। उनीहरूले आफ्ना माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताएका छन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ