हामी अनुहारमा चमक ल्याउन विभिन्न किसिमका क्रिम वा यस्तै उत्पादन प्रयोग गरिरहेका हुन्छौं। यो लगाउने वा त्यो लगाउने भन्छौं। यस्तो प्रयोगले मात्र अनुहारमा चमक आउँदैन।
अनुहारको चमकमा प्रभाव पार्ने आन्तरिक र बाह्य कारणहरू हुन्छन्।
जीवनशैली अनुशासित छ, निद्रा पर्याप्त छ र सरसफाइमा ध्यान दिएको भने अनुहारको चमक स्वतः राम्रो हुन्छ। स्वस्थकर खानपिन र व्यायामले पनि आन्तरिक रूपमा राम्रो फाइदा हुन्छ। खासमा अनुहारमा चमकका लागि खाना र व्यायामको निकै ठूलो भूमिका हुन्छ।
यी आन्तरिक कारणहरू हुन् जसले हाम्रो अनुहारको चमकमा प्रभाव पार्छन्। यी पक्षहरू सकारात्मक हुँदा अनुहारको चमक कायम रहन्छ।
घाम र धुवाँधुलो जस्ता वातावरणीय पक्ष बाह्य कारण हुन्। धेरै घाम र बढी धुवाँधूलोले अनुहारको चमक बिगार्छ।
अनुहारको चमक जोगाउन आन्तरिक र बाह्य दुवै पक्ष सन्तुलनमा राख्नुपर्छ। आन्तरिक पक्षमा ध्यान दिएको छैन भने अन्य उपायले अनुहार चम्किलो बनाउँछु भनेर हुँदैन।
उमेर बढ्दै जाँदा शारीरिक सक्रियता कम भयो भने उमेर अनुसार स्वाभाविक रूपमा हुनेभन्दा अगाडि नै अनुहारको चमक हराउँछ। रक्सी र चुरोट सेवन गर्नेको अनुहारमा चाँडै चमक हराउँछ। अनुहारमा अन्य कुनै समस्याले पनि चमकमा असर पर्न सक्छ। चाया, पोतो, डन्डिफोर वा यस्तै कुनै समस्याले चमक बिगार्छ।
यस किसिमको समस्याले अनुहारमा दाग देखिन्छ। त्यसैले डन्डिफोर आउँदा जथाभावी चलाउनु र फुटाउनु हुँदैन। सामान्यतया युवा उमेरमा डन्डिफोर आउने समस्या धेरै हुन्छ तर अलिक पाको उमेरमा पनि आउन सक्छ। डन्डिफोरको उपचार पनि हुन्छ तर कारण पत्ता लगाउन जरूरी हुन्छ।
अलि गम्भीर समस्यामा प्लास्टिक सर्जरी गर्ने कुरा आउँछ तर यसको साटो 'एस्थेटिक' उपचार गर्नु राम्रो हुन्छ। एस्थेटिकबाट प्राकृतिक रूपमै अनुहारमा चमक ल्याउन सकिन्छ। एस्थेटिक उपचार अस्थायी तर प्राकृतिक हुन्छ।
उमेर बढ्दै जाँदा आँखामा डार्क सर्कल (कालो घेरा) देखिने हुन सक्छ। अनुहारको छाला झुन्डिने र चाउरी पर्ने हुँदा पनि चमक हराउँछ। यस्ता समस्याको पनि समाधान सम्भव छ।
सनस्क्रिन प्रयोग गर्दा चाया र पोतो आउने समस्या हुँदैन। नियमित सनस्क्रिन प्रयोग गर्नेको अनुहार चाँडै चाउरी पर्दैन।
चायापोतो पूर्ण रूपमा निको हुन्छ कि हुँदैन भन्ने जिज्ञासा पनि धेरैको हुन्छ। यो समस्या ८० प्रतिशतसम्म ठिक पार्न सकिन्छ।
अनुहारमा कुनै समस्या आयो वा चमक हरायो भने फार्मेसीमा गएर सिधै कुनै खालको क्रिम वा औषधीय मलम किन्ने चलन हुन्छ। सामाजिक सञ्जालमा कतिपय सेलिब्रेटीहरूले मैले यो क्रिम लगाएँ, तपाईं पनि त्यही लगाउनुहोस् भनेको पनि पाइन्छ।
यसरी कुनै क्रिम वा मलम आफूखुसी प्रयोग गर्नु हुँदैन। एक जनालाई काम गरेको छ भन्दैमा अर्कोलाई त्यो उपयुक्त नहुन सक्छ, काम नगर्न पनि सक्छ। चिकित्सकको सल्लाहमा मात्र यस्ता औषधि प्रयोग गर्नुपर्छ।
अमेरिकन एकेडेमी अफ एस्थेटिक मेडिसिनबाट अध्ययन सकेकी एस्थेटिक फिजिसियन डा. गरिमा श्रेष्ठ नक्साल स्थित भाइटबिक क्लिनिकमा कार्यरत छिन्।
अनुहारको चमकबारे थप कुराकानी हेर्नुहोस् भिडिओमाः