काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ।
नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को साउन मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ।
आइतबार नेपाली सेनाले पत्रकार सम्मेलमार्फत् सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो।
आयोजनाको मोविलाइजेसनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए।
उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।
त्यस्तै, द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइरहेको जनाइएको छ।
त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भदौ १ गते बोलपत्र आह्वान भएको छ।
प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ।
उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरू गर्नेगरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए।
उनले हालसम्म निर्माणाधीन तीन वटा सुरूङ्गमार्गहरूको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरूङ निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। जुन प्रतिशतमा ४१.५७ प्रतिशत हुन आउँछ। जसअनुसार महादेवटार सुरूङ मार्गको जम्मा लम्बाइ ३.३५५ किलोमिटरमध्ये हालसम्म १.३८७ किलोमिटर, धेद्रे सुरूङ मार्गको जम्मा लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म ६१९ मिटर र लेनडाँडा सुरूङ मार्गको जम्मा लम्बाइ १.४३ किलोमिटरमध्ये हालसम्म ६६१ मिटर सुरूङ निर्माण कार्य सम्पन्न भएको छ।
प्रमुख शाहका अनुसार हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ५ सम्मका ४५ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरूमध्ये १ हजार ५३ वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ।
उनले आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको उल्लेख गरे।
व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको उनले स्पष्ट पारे। उनले स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रूखहरूमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रूखहरू कटान भएको र बाँकी १० हजार १८ वटा रूखहरू कटान गर्ने प्रक्रियामा रहेको बताए।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना प्रमुख शाहका अनुसार कटान गरिएका रूखहरूको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरूवाहरू रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ४३ हजार ६ सय ९५ बिरूवा रोपिएको छ।
प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ।
गत २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढमा शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको २०८० साल साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित डिपिआर बमोजिम २०८३ साल चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ।
नेपाली सेनालाई आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी दिएपछि आ.व.२०७९/८०सम्म कुल ४९.२३ अर्ब खर्च भएको प्रमुख शाहले जानकारी दिए।
चालु आर्थिक वर्षमा आयोजनालाई २२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन भएको उनले स्पष्ट पारे।