गत आइतबार बिहान भक्तपुर बाल सुधार गृहका १८ वर्षीय कमल बस्नेतको 'रहस्यमय' मृत्यु भयो। उनी रामेछाप मन्थली नगरपालिका-३ का स्थानीय हुन्।
बलात्कारको मुद्दामा उनलाई तीन वर्षअघि बाल सुधार गृह भक्तपुरमा पठाइएको थियो। त्यतिबेला उनी १५ वर्षका थिए। १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका अपराधी ठहर भए बाल सुधार गृहमा राख्ने कानुनी प्रावधान छ। त्यही अनुसार उनलाई बाल सुधार गृहमा राखिएको हो।
शनिबार साँझ सामान्य बिरामी भएको भन्दै उनले दाजुलाई फोन गरेका थिए। उनका दाजुले एक दुई दिनमा भेट्न आउने बताएका थिए।
'बिरामी हुँदा केही खान नदिई त्यसै सुताइदिएको उनका साथीहरूले बताएका छन्,' कमलका काका आकाश भट्टराई भन्छन्, 'भोलिपल्ट पनि बाल सुधार गृहबाट खबर गरिएन।'
बिरामी भएर अस्पताल पुर्याई मृत्यु भइसक्दा पनि आधिकारिक रूपमा जानकारी आएको थिएन। कमलका साथीहरूले बेहोसी हालतमा अस्पताल लगेको खबर दिएपछि अस्पताल पुगेको उनको भनाइ छ।
उनका दाजु र काका नयाँ बानेश्वरस्थित कोठा भाडामा बस्ने भएकाले बिहान साढे सात बजे फोन आउनसाथ गएका थिए। तर उनीहरू पुग्दा भक्तपुर थिमीस्थित नागरिक अस्पतालले कमललाई मृत घोषित गरिसकेको थियो।
'चिकित्सकलाई सोधपुछ गर्दा अस्पताल ल्याउनु अगाडि नै मृत्यु भइसकेको जानकारी दिए,' भट्टराईले भने।
उनले त्यहाँ कमलको शव हेरेका थिए। उनको शरीरमा निलडाम देखेकाले हत्या भएको उनी दाबी गर्छन्।
अस्पतालले मृत घोषित गरिदिएपछि पनि बाल सुधार गृहले आधिकारिक जानकारी नदिनु हत्या भएको संकेत गर्छन् मृतकका भिनाजु विनोद बुढाथोकी।
उनले पनि ढाडमा नीलो डाम र दायाँ खुट्टा सुन्निएको देखेका थिए। त्यसैले हत्या भएको उनी दाबी गर्छन्।
यही विषयमा बाल सुधार गृहसँग छलफल गर्न खोज्दा आइतबार तनावपूर्ण अवस्था सिर्जना भएको भट्टराईले जानकारी दिए।
'हाम्रो मान्छेको ज्यान गएको छ। अन्य बालबालिकाले यस्तो समस्या भोग्नु नपरोस्,' भट्टराईले भने।
उनका अनुसार कमलको लागि ६ वर्षको सजाय तोकिएको थियो। ३ वर्ष ३ महिना बिताइसकेका थिए। हत्या भएको र सत्यतथ्य छानबिनको माग गर्दै आइतबार नाराबाजी गरिएको थियो।
त्यही विषयमा सोमबार पनि नाराबाजी गर्दा त्यहाँ भित्रका बालबालिकाले तोडफोड गरेर भागेका हुन्।
उनीहरूले पनि कमलको हत्या भएको बताएका छन्। आफूहरूलाई पनि मार्ने डरले त्यस्तो कदम उठाएको उनीहरूको भनाइ छ।
सोमबार सुधार गृह तोडफोड गरेर भागेका २५५ जना बालक भागेका थिए। तीमध्ये २४८ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। बाँकी ७ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरको डिएसपी बसन्त पाठकले जानकारी दिए।
त्यहाँ २५५ बालक र ४३ बालिका गरी २९८ जना थिए। बालकहरू मात्र तोडफोड गरेर भागेका युसेफ नेपालका निर्देशक केशव सुवालले बताए।
सुधार गृह युसेफ नेपालको व्यवस्थापनमा गृह मन्त्रालय अन्तर्गत सञ्चालित संस्था हो। निर्देशक सुवाल परिवारले आरोप लगाएको जस्तो घटना नभएको बताउँछन्।
'आइतबार सामान्य बिरामी थिए। बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो। होस नै नआई बिते,' उनले भने।
उनी बितेपछि परिवारलाई खबर गरिएको थियो।
परिवारले त्यसलाई हत्या भएको आरोप लगाइरहेका छन्। पोस्टमर्टमको लागि शव काठमाडौं मेडिकल कलेज लगिएको छ तर परिवारले परीक्षण गर्न नमानेको उनको भनाइ छ।
'परिवारले क्षतिपूर्ति माग गरेका छन्,' उनले भने, 'छानबिन समिति गठन भएको छ। उहाँहरूको रिपोर्ट अनुसार अगाडि बढ्यौं भन्दा परिवार मानेका छैनन्।'
जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख डोरेन्द्र निरौलाको संयोजकत्वमा ४ सदस्यीय समित गठन भएको छ।
सहायक प्रमुख निरौलाका अनुसार मंगलबार दिनभर मृतकको परिवारसँग छलफल भयो।
‘उहाँहरूले पोस्टमर्टम गर्न दिनुभएको छैन। प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको देखिँदैन। बुधबार १२ बजे पुन: छलफलको लागि मृतकका परिवारलाई बोलाएका छौं,' उनले भने, 'पोस्टमर्टम गर्न पाए कसरी मृत्यु भएको थाहा हुन्थ्यो।'
जिल्ला प्रहरी भक्तपुरको डिएसपी पाठक पनि प्रारम्भिक अनुसन्धानमा हत्या भएको जस्तो नदेखिएको बताउँछन्।
'शव हेर्दा हत्या भएको देखिँदैन,' डिएसपी पाठकले भने।
प्रहरीले शंका लागे उजुरी दिएर कानुनी प्रक्रियामा जान सल्लाह दिएको छ। तर संस्थालाई उजुरी गर्न नमिल्ने भनिएकाले कानुनी कारबाहीमा जान रोकिएको मृतकका आफन्त बताउँछन्।
१८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई बाल सुधार गृहमै राख्दा एक-आपसमा झैझगडा भए पनि कर्मचारीले हातपात नगर्ने गरेको निर्देशक सुवालले बताए।
'गृहमा १८ वर्षभन्दा माथिका धेरै छन्,' उनले भने,'१८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्षभन्दा माथिका १६७ जना छन्।'
उनका अनुसार १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले अपराध गरेमा सुधार गृहमा राख्ने कानुनी व्यवस्था छ। त्यस्तै उनीहरूको उमेर बढ्दै गए पनि त्यही राखिन्छ।
'उमेर बढ्दै जाँदा कारागारमा सार्ने कानुनी प्रावधान छैन,' उनले भने, 'धेरै झगडा गर्ने व्यक्तिलाई अर्को सुधार गृहमा पठाउँछौं।'
जतिसुकै उमेर पुगे पनि सुधार गृहमा आएका बालबालिका त्यहीबाट कानुनी सजाय काटेर मात्र निस्किन्छन्।
१८ वर्षभन्दा माथि उमेर समूहका व्यक्ति भक्तपुरमा मात्र होइन। देशभरकै सुधार गृहमा त्यस्तै देखिन्छ। देशभर ८ वटा सुधार गृह छन्।
भक्तपुर, मोरङ, कास्की, पर्सा, रूपन्देही, डोटी, बाँके, मकवानपुरमा छ।
त्यस्तै, देशभर १ हजार १३९ जना बालबालिका छन्। तीमध्ये १४ वर्षमुनिका ८, १४ देखि १६ वर्षमुनिका ९५, १६ देखि १८ वर्षसम्मका ५१२ र १८ वर्षदेखि माथिका ५२३ जना रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ।
कारागार व्यवस्थापन विभागका निर्देशक सागर शाहका अनुसार १८ वर्षभन्दा माथिका बालबालिकालाई छुट्टै राख्ने योजना बनिरहेको छ। तर पूर्णता पाउन सकेको छैन।
उनका अनुसार बाँकेमा कारागारको भवन बन्दै छ। त्यहीको एउटा भवनमा १८ वर्षभन्दा माथिका किशोर-किशोरीलाई राख्ने छुट्टै राख्ने योजना छ।
'अहिलेसम्म सुधार गृहमा राखिएका बालबालिकाको उमेर बढ्दै जाँदा कारागार लगिएको रेकर्ड छैन,' उनले भने, 'बाल कसुर ठहर भएकाले उमेर बढे पनि लगिँदैन।'
भौतिक संरचना आवश्यकता अनुसार नभएकाले बाल सुधार गृहका बालबालिकाले विभिन्न समस्यासँग जुध्नु परेको उनको भनाइ छ।
बाल न्याय सम्पादन (कार्यविधि) नियमावली २०७६ परिच्छेद -२ को ६ मा बाल सुधार गृहमा स्वच्छ पिउने पानी पोषणयुक्त खानेकुरा लगायतका न्यूनतमा सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ। तर अनुगमन नहुँदा कानुनले तोकेजस्तो सेवा सुविधा पाउन सकेका छैनन्।