राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड दिउँसोमा बन्द हुने भएको छ।
सोमबारदेखि ७ दिन दैनिक ७ घन्टाका दरले सडक बन्द हुने भएको हो।
सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा निर्माण व्यवसायीको आग्रहमा वैशाख ८ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख सि.डी.ई. दीपेन्द्रबहादुर बिष्टले बताए।
राजमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम भइरहेको छ।
चार किलोमिटर सडक खण्ड विस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा सम्झौता भइ काम भइ रहेको हो। चार किलोमिटर सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले लिएका छन्।
सम्झौतामा आगामी भदौ मसान्तसम्म सडक निर्माणको काम सकिसक्ने उल्लेख छ। २०८० माघ २८ गते सडक निर्माणको सम्झौता भएको थियो।
पछिल्लो समय सडक खण्ड अन्तरगत केही स्थानमा कटिङको काम पनि भइ रहेको छ। साथै सडकमा सब – बेश बिच्छ्याउने काम पनि धमाधम भइरहेको सडक डिजभिन दाङका प्रमुख बिष्टले बताए।
‘निर्माणको जिम्मा लिएकाहरुले हामी समयमै काम सक्छौं र त्यसका लागि हामीलाई हप्ता दिन निश्चित समय यातायातका साधन संचालनमा रोक लगाएर सहयोग गर्नु पर्यो भनेको हुँदा हामीले सहयोग गरेका हौं,’ प्रमुख विष्टले भने, ‘पहाडको बाटोमा सवारी साधन रोक्न मुस्किल हुने हुँदा उहाँहरुकै आग्रहमा काम छिटो होस भनेर केही दिन सडक खण्ड निश्चित समय बन्द गर्ने निर्णय भएको हो।’
ठाउँ ठाउँमा गरिएको कटन र भत्काइएको सडकका कारण यात्रा गर्न निकै कठिन राम्री कपुरकोट सडक खण्डमा यतिखेर सब – बेश बिच्छाइको हुँदा सडक चिल्लो भइ यात्रा गर्न सहज बन्दै गएको छ।
सडक खण्ड सात दिन सात घन्टाका दरले बन्द हुने सम्बन्धी सूचना सडक डिभिजन कार्यालय दाङले वैशाख ५ गते नै जारी गरेको थियो। त्यस्तै साना तथा अत्यावश्यक सवारी साधनले वैकल्पिक सडकमार्ग पैंयाखोरिया – सातबास – किमुचौर– कपुरकोट सडक खण्ड प्रयोग गर्नपनि विष्टले सुझाएका छन्।
राम्रीदेखि उत्तरमा सडक निर्माणको काम चलिरहँदा सडक निकै अप्ठ्यारो र जीर्ण अवस्थामा रहँदादेखि नै साना सवारी साधनले यसअघि नै राम्रीदेखि केही दक्षिणको पैंयाखोरियादेखि यात्रा गर्दै आएका छन्।
तर, पैंयाखोरिया – सातबास – किमुचौर– कपुरकोट सडक खण्ड साँघुरो भएका कारण ठूला बस वा सवारी साधन भने चल्न सक्दैनन्।
एम्बुलेन्स, स्कार्पियो, माइक्रो, दुई पाङ्ग्रे सवारी साधन भने पैंयाखोरिया – कपुरकोटमा सञ्चालन हुँदै आएका छन्।