दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा गाउँकी ४० वर्षीया ललिता डाँगी आइतबार बेलुकी खाना पकाउँदै थिइन्। आकाश धुम्म बादलले छोपेको थियो। हप्प गर्मी उत्तिकै। कटाँहा गाउँमा पानी नपरेको हप्ता दिन जति भइसकेको थियो। ललिता त्यो बेलुकी बाहिर आँगनमै अस्थायी चुल्होमा खाना पकाउँदै थिइन्।
पौने सात बज्दै थियो। कताबाट सुटुक्क गोमन सर्प त्यही आएर ललिताको खुट्टामा डस्यो। करिब साढे दुई वर्षदेखि ललिता र उनको परिवारले पाल्दै आएको कुकुर टमीले झम्टिन खोज्दा त्यो गोमन सर्प नजिकैको दुलोमा छिर्यो।
ललिताका श्रीमान डम्बर डाँगी गाउँमा थिए। श्रीमती ललितालाई सर्पले डसेको थाहा पाउनासाथ उनी दौडिएर घर आए। टमी त्यही गोमन सर्प पसेको दुलोमा हेर्दै लगातार भुकिरहेको थियो। आसपासका आफन्त र गाउँघरका मानिस पनि त्यहाँ जम्मा भए।
टमीले त्यो सर्प परेको प्वाल छोड्न मान्दै नमानेपछि डम्मरलगायत अन्य मानिसले थोरै खनेर हेर्ने सल्लाह गरे। त्यसो गर्दा सर्प पहिचान गर्न पनि सहज हुन्थ्यो। दुलो थोरै खन्नासाथ टम्मीले आफैं प्वाल खोतल्न थाल्यो। सर्पलाई फेला पारिहाल्यो।
टमीले सर्पलाई टोकेर बाहिर निकालेपछि भुइँमा पछार्दै झम्टिन थाल्यो। करिब पाँच मिनेटभित्रमै टमीले त्यो गोमन सर्प मारिसक्यो अनि मात्रै शान्त बन्यो। सर्प मारेको करिब पाँच मिनेटको अन्तरालमा टमी पनि अचेत भई लड्यो। उसका आँखाबाट आँसु आएका थिए। अनि सदाका लागि उसको सास रोकियो।
'आफ्नी मालिक्नीप्रति एउटा कुकुरले दर्शाएको प्रेम अभूतपूर्व थियो। त्यो दृष्य कसरी शब्दमा वर्णन गर्न सकिन्छ र,' एक स्थानीयले भने, 'सर्प मारिसकेपछि कुकुर पनि मर्दा साह्रै मन रोएको थियो।'
यति गर्दासम्म बेलुकी साढे सातजस्तो भइसकेको थियो। अर्कोतर्फ ललिताको शरीरमा गोमनको विष फैलिरहेको थियो। श्रीमान डम्मर र आफन्त तथा छिमेकीले सर्पदंशको उपचार कहाँ सम्भव छ भनेर खोजी गर्न थाले। तुलसीपुरमा उपचार सम्भव नहुने भएपछि उनीहरूले ललितालाई मोटरसाइकलमा राखेर तुलसीपुर–१२ जसपुर पुर्याए।
यति गर्दा आठ बज्नै आँटेको थियो। त्यहाँ ललिताको खुट्टाबाट एक जनाले विष झार्न (चुस्न) थाले। झन्डै १५/२० मिनेटपछि उनले सबै विष झारिदिएको हुँदा खतरा टरेको दाबी गरे।
त्यसको दस मिनेट बित्दा नबित्दै ललिताले औडा भएको तथा चक्कर लागेको कुरा श्रीमानलाई बताइन्। अब भने डम्मर आत्तिए। उपचार कहाँ सम्भव छ भनेर सबैले फोन घुमाए।
इलाका प्रहरी कार्यालय तुलसीपुरले बाँकेको नेपालगञ्ज सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर दियो। एम्बुलेन्स बोलाएर तत्कालै ललितालाई उतै दौडाए।
यात्राको आधा घन्टाको अन्तरालमै ललिता अचेत बनिन्। जसपुरबाट बाँके पुग्न पौने दुई घन्टा जति लागिहाल्यो। ललितालाई सर्पदंश उपचार केन्द्रमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरे। सोही एम्बुलेन्सले ललिताको शव फिर्ता ल्यायो।
सोमबार बिहान करिब तीन बजे श्रीमती ललिताको शव ल्याएर कटाँहास्थित घर आइपुगेको श्रीमान डम्मरले बताए।
'भगवानले ललिताको भाग्य यत्ति लेखिदिएका रहेछन्,' उनले भने, 'थप ललिताहरूले अब यसरी ज्यान फाल्नु नपरोस्।'
उनले तुलसीपुरमै सर्पदंश उपचार केन्द्र स्थापना हुनुपर्ने माग गरे।
डम्मर र ललिताबाट एक छोरा र एक छोरी छन्। डम्मरले आफ्नी जेठी छोरीको भने विवाह भइसकेको बताए।
छोरीको बिहे भएकै वर्ष ललिताको आग्रहमा टमीलाई ल्याएर घरमा पाल्न थालेको उनले जानकारी दिए।
'टमी एक दमै ज्ञानी र आज्ञाकारी थियो,' उनले भने, 'गाउँ घर जाँदैन थियो परिवारको सदस्य जस्तै थियो। लाग्छ मैले एकैसाथ दुई प्रियहरू गुमाएको छु।'