नेपाल संस्कृत विश्वविद्यालयको १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह बुधबार हुने भएको छ।
पाँचौं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।
दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्नका लागि सम्बोधन गर्न प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड' दाङको तुलसीपुरस्थित बेलझुण्डीमा आउने टुंगो लागिसकेको छ।
भारतको सम्पूणानन्द विश्वविद्यालयका बाराणर्शी कुलपति प्राध्यापक डा. हरेराम त्रिपाठी प्रमुख अतिथिका रूपमा आउने भएका छन्।
संस्कृत विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री अशोककुमार राई, सञ्चार मन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका सबै मन्त्रीहरू, पूर्व मुख्यमन्त्री र जिल्लाबाट निर्वाचित निर्वतमान र पूर्व प्रतिनिधिसभा, प्रदेशसभालाई निम्ता गरिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने जानकारी दिए।
१२ वर्षको अवधिमा विश्वविद्यालयबाट चार हजार सात सय ७३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये पाँच सय ७५ विद्यार्थीले मात्रै दीक्षित हुन पाऊँ भनी निवेदन दिएका छन्।
समारोहमा यो अवधिमा उत्कृष्ट नतिजा हासिल गर्ने ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्न लागिएको छ।
भोलि दीक्षान्त हुन थालेका पाँच सय ७५ विद्यार्थीमध्ये शास्त्री तर्फका एक सय ६३, आचार्य तर्फका एक सय ४०, बिएड ८८, विद्यावारिधि एक सय १३ र बिएएमएस ३० जना लगायत छन्।
दीक्षान्त हुने विद्यालयले आ–आफ्ना पोशाक लैजान क्रम एक/दुई दिन अगाडिदेखि नै सुरू भइसकेको छ। एकै साथ ठूलो संख्यामा विद्यार्थी दीक्षान्त गर्नु पर्दा खर्च बढेको क्याम्पस प्रशासनले जनाएको छ।
दीक्षान्त समारोह बुधबार बिहान ११ बजेपछि तुलसीपुर–१७ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रीय कार्यालय प्रांगणमा सुरू हुनेछ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने शुक्रबार दाङमा पत्रकार सम्मेलन गरी अनेक आरोह अवरोहका बीच यो वर्ष पाँचौं दीक्षान्त समारोह हुन थालेकोप्रति खुसी साटेका थिए।
२०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ मा चौथो दीक्षान्त समारोह आयोजना गरेको थियो।
जतिखेर उपकुलपति विदुर पौडेल थिए। त्यसपछि राजनीतिक खिचातानीका कारण एक दशक यता विश्वविद्यालयले दिक्षान्त गर्न सकेको थिएन।
देशभर १४ वटा आंगिक क्याम्पस रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट प्रत्येक वर्ष सात सयभन्दा बढी विद्यार्थीले विभिन्न तह र संकाय उत्तीर्ण गर्ने गर्छन्।
प्रत्येक वर्ष दीक्षान्त समारोह गरी त्यस्ता विद्यार्थीलाई दीक्षान्त गर्नुपर्ने भए पनि दीक्षित भएको प्रमाण पत्र नपाउँदा विद्यार्थी अन्यौलमा पर्दै आएका थिए। त्यसले विश्वविद्यालयको गरिमा माथिसमेत प्रश्न चिह्न खडा हुन थालेको थियो।
समयमै दीक्षित नहुँदा विदेशमा पढ्न जाने, विद्यावारिधि, नेपाल भूषण, डिलिट तह उपाधिबाट विद्यार्थी बञ्चित हुन बाध्य पारिएका थिए।
सरकारी सेवामा संलग्न हुन पनि मूल प्रमाणपत्र आवश्यक पर्ने हुँदा विद्यार्थी अवसरबाट बञ्चित थिए।
विश्वविद्यालयको नेतृत्व राजनीतिक नियुक्तिबाटै आउने हुँदा पदाधिकारी तथा राजनीतिक नेतृत्व बीचको स्वार्थ र राजनीतिक खिचातानीका कारण बजेट समेत विनियोजन नहुँदा विद्यावारिधि प्रभावित हुँदै आएको थियो।
‘कहिले कुलपति, सहकुलपति र कहिले पदाधिकारी फरक–फरक विचारका आउने गर्थे,’ एक कर्मचारीले भने, ‘उनीहरूका बीचमा आवश्यक समन्वय नहुनु , आस्था र व्यक्तिगत टकरावका कारण पनि दीक्षान्त समारोह प्रभावित हुँदै आएको थियो।’
एउटा दीक्षान्त समारोहका लागि झन्डै आधा करोड हाराहारीमा बजेट आवश्यक पर्ने हुँदा खर्चको जोहो गर्न पनि विश्वविद्यालयलाई हम्मेहम्मे पर्ने गरेको उनले बताए।
‘विश्वविद्यालयको पहरोमा सुन छ कान मेरो बुच्चै भने जस्तै अवस्था हो,’ उनले अगाडि भने, ‘झण्डै तेह्र सय बिगाहा जमिन अहिले पनि सुकुम्बासीको नाममा कब्जामा हुनु दुर्भाग्य हो।’
दाङको तुलसीपुर, लमही नगरपालिका, राजपुर क्षेत्रमा गरि विश्वविद्यालयको साढे १३ सय बिगाहा जग्गा अहिले पनि कब्जामा रहेको छ। जसको पोत विश्वविद्यालयले तिर्दै आएको भए पनि हालसम्म आयस्ता भने पाउन सकेको छैन। विश्वविद्यालय प्रशासन कब्जा जग्गा फुकुवा गर्नका लागिपरेको छ। मोहीलाई लगत कट्टा गरी जग्गा दिन विश्वविद्यालय प्रशासन तयार भई सम्पूर्ण काम टुंगेको भए पनि राजनीतिक रूपमा बृहत् छलफल गरी समस्या समाधान गर्न सकिने विश्वविद्यालयका ती कर्मचारीले बताए।
२०४३ साल मंसिर २५ गते विधिवत रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको थियो।
नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता प्रवाहित गराउने उद्देश्यले बेलझुन्डीमा विश्वविद्यालय स्थापना भएको थियो।
नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप सुरूआत गरेको कामलाई तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो।
२०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैंया परिवारले दाङको देउखुरी उपत्यकामा १२०० (बाह्र सय) बिगाहा भूमिदान गरेका थिए।
त्यसकै आधारमा २०११ सालमा दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भएको थियो भने २०२४ सालमा सोही स्थानमा अन्तर्राष्ट्रियस्तरको विद्वत सम्मेलन गरिएको थियो। त्यही सम्मेलनपछि २०२६ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो।
योगी नरहरिनाथको नेतृत्वमा स्थानीय शिक्षाप्रेमी तथा अन्य संस्कृत अनुरागी व्यक्तिहरूबाट दानस्वरूप तीन सय २६ बिगाहा जग्गा दानबापत विश्वविद्यालय परिसरमै प्राप्त भएको थियो।
त्यसपछि २०३१ सालमा दाङको बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डिनको कार्यालयको स्थापना भएको थियो।
२०४३ सालमा ऐन बनी तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको हो।
नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन गरी नेपाल संस्कृत विश्वविद्यालय राखिएको थियो।
यो पनि: संस्कृत विश्वविद्यालयको साढे १३ सय बिगाहा जग्गा २० वर्षदेखि अतिक्रमण (भिडिओ)