पढ्नलाई उमेरले छेक्छ र! मनमा अठोट भएपछि जुन उमेरमा पढे पनि हुन्छ। त्यसैले त २७ वर्ष उमेरकी लक्ष्मी पुनमगर एक कक्षामा पढ्दै छिन्।
लक्ष्मी घोराही उपमहानगरपालिका–१८, रझेनास्थित कटुवाखोला किनारको चेतना स्कुल गएको दुई वर्ष भयो।
लक्ष्मी प्यूठानको स्वर्गद्वारी नगरपालिका–१ को एक गरिब परिवारमा जन्मिइन्। घरमा गाईबाख्रा धेरै थिए। तिनै गाईबाख्रा चराउनु उनको काम थियो। उनी स्कुल भर्ना नभएकी पनि होइनन् तर एक महिनाभन्दा बढी पढ्न पाइनन्।
‘मैले कखरा पनि छिचोलेको थिएन,’ उनले भनिन्, ‘घरको कामले गर्दा स्कुल जान पाइनँ।’
उनका बुवा र दाजु रोजगारीका लागि भारतमा बस्थे। आमा र भाउजूसँगै घरको काम गर्नु र गाईबाख्रा चराउनु नै उनको दिनचर्या थियो। अलि ठूली भएपछि लक्ष्मीको बिहे भयो। छोराछोरी भए। उनको परिवार दाङको घोराही आएको ६ वर्ष भयो। छोरा कक्षा आठमा र छोरी कक्षा पाँचमा पढ्दै छन्।
स्कुल जाने उमेरमा गाईबाख्रा चराउनुपर्यो। छोराछोरी राम्ररी पढून् भन्ने उनको इच्छा छ। छोराछोरी घोराहीको एक निजी स्कुलमा पढ्दैछन्। अहिले पनि परिवारमा गरिबी छ। श्रीमान हेमराज भारतमा काम गर्छन्।
जस्तै दुःखमा पनि लक्ष्मीको पढ्ने रहर सकिएन। घोराहीमा निरक्षर आमाहरू पढ्ने स्कुल छ भन्ने थाहा पाइन्। उनी त्यही स्कुलमा एक कक्षामा पढ्दै छिन्। छोराछोरीलाई स्कुल पठाएर आफू पनि स्कुल जान्छिन्।
‘आमाहरूलाई पढाउने स्कुल छ भन्ने थाहा पाएर खोज्दै आएँ,’ उनले भनिन्, ‘घरपरिवारको सल्लाहमै पढ्न थालेकी हुँ, निकै खुसी छु।’
उनी पढ्ने स्कुल हो ‘चेतना अनौपचारिक प्रौढ विद्यालय’ जो ‘चेतना स्कुल’ भनेर चिनिन्छ।
बेलुका घरमा छोराछोरीले पढ्न र गृहकार्य गर्न सिकाउँछन्। दिउँसो स्कुल जाने गरे पनि छरछिमेकीलाई थाहा छैन। दिउँसो कहाँ जान्छ्यौ भनेर सोध्नेलाई पार्लरमा तालिम लिँदैछु भनेकी छन्।
‘पढ्न जान्छु भन्न लाज लागेर पार्लर सिक्न जाँदैछु भनेकी छु,’ लक्ष्मी भन्छिन्, ‘पढ्नु त राम्रो हो नि तर मान्छेहरूले गिज्याउँछन् कि भनेर लाज लाग्छ।’
लक्ष्मी कम्तीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न चाहन्छिन्। चेतना स्कुलमा आठ कक्षासम्म मात्रै पढाइ हुन्छ। भन्छिन्, ‘त्यति (आठ कक्षा) मात्रै पढ्न सके पनि हरहिसाब राख्न सक्ने र केही लेखपढ गर्न सक्ने हुने थिएँ।’
घोराही १३ की ३२ वर्षीया ईश्वरी सुनार चेतना स्कुलमा सात कक्षामा पढ्दै छिन्। छोरीलाई स्कुल पठाउँछिन् र आफू स्कुटी चढेर चेतना स्कुल पुग्छिन्।
ईश्वरीको जन्मघर मुगुको राराताल नजिकै थियो। उनका दुई जना दाजु स्कुल गए तर उनी जान पाइनन्।
‘छोरालाई मात्रै पढाउने चलन थियो। मलाई पनि दाजुहरूसँगै स्कुल जान मन लाग्थ्यो तर अर्काको घर जाने छोरीले किन पढ्नुपर्यो भन्थे,’ ईश्वरीले भनिन् ‘दाजुहरू झोला बोकेर स्कुल जान्थे, म मेलापात जान्थेँ। मन रुन्थ्यो।’
ईश्वरीका बुवा नेपाली सेनामा थिए। दाङको घोराहीमा भएका बखत उनले परिवार पनि यहीँ ल्याए। यहीँ ईश्वरीको बिहे भयो। मनमा पढ्न नपाएको पीडा थियो। उनले चेतना स्कुलका बारेमा जानकारी पाइन्। श्रीमान् महावीर सुनारसँग कुरा गरिन्। उनी खुसी भइन् अनि सात वर्षअघि स्कुलमा भर्ना भइन्।
उनले पनि छरछिमेकमा आफू स्कुलमा पढ्ने गरेको कुरा भनिनन् तर ढाँटेरमात्र कति दिन चल्थ्यो र! कतिले खिसीटिउरी गरे, कसैले त मर्ने बेलामा हरियो काँक्रो पनि भने तर उनले बेवास्ता गरिन्।
उनी एसइई उत्तीर्ण गर्न चाहन्छिन्। घरमा छोरीसँग सिक्छिन्। छोरीले एसइई पूरा गर्नै पर्छ भनेकी छन्।
घोराही उपमहानगर–१६, सर्राकी ५२ वर्षीया देवीकुमारी खड्काका दुई भाइ छोराले स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेका छन्। आफू चेतना स्कुलमा पढ्दै छिन्। देवीको जन्मघर अहिलेको रूकुमपूर्व हो। विकट पहाडको तत्कालीन समाजमा उनले पनि पढ्न पाइनन्।
‘छोरीलाई पढाएपछि बिग्रन्छन् भन्थे,’ उनले भनिन्, ‘मलाई स्कुल गएर पढ्न मन थियो तर भन्ने आँट नै आएन।’
तेह्र वर्षकी छँदा एक दिन घाँस काट्न गएको ठाउँमा डोको छाडेर देवी स्कुल गइन् तर विद्यार्थीहरूले गिज्याए। त्यो दिन सम्झिँदै उनले भनिन्, ‘मलाई लाज लागेझैँ भयो। त्यो एक दिनबाहेक कहिल्यै स्कुल गइनँ।’
बिहे भयो। छोराछोरी भए उमेर ढल्किँदै गयो तर पढ्ने चाहना जस्ताको तस्तै रह्यो। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो भयो। उनले चेतना स्कुलबारे थाहा पाइन्।
उनी २०७१ सालमा स्कुल भर्ना भइन्। तीन वर्ष पढेपछि पहाडबाट वृद्ध सासूससुरा आए। घरायसी काम बढ्यो। पढाइ छुट्यो। सासूससुरा दुबै बिते। देवी फेरि स्कुल भर्ना भइन्। अहिले नियमितरूपमा स्कुल जाँदै छिन्। हाल कक्षा तीनमा पढ्दै छिन्।
भन्छिन्, ‘जति जान्यो उति जान्न मन लाग्दो रहेछ। बैंकमा आफैँ भौचर भर्न सक्ने भएकी छु। पढ्न सक्ने भएकी छु।’
उनका अनुसार श्रीमान र छोराहरू बुढेसकालमा स्कुल नजाँदा हुन्थ्यो भन्छन् तर उनी रोकिएकी छैनन्।
घोराहीकै मसिनाकी २१ वर्षीया अनिता चौधरी साँझ–बिहान स्थानीय एक किसानको तरकारी खेतीमा काम गर्छिन्। दिउँसो चेतना स्कुलमा पढ्छिन्। गरिब परिवारमा जन्मेका अनिता र उनका दाजुदिदीहरू कसैले पनि पढ्न पाएनन्।
चेतना स्कुलका बारेमा थाहा पाएपछि अनिता भर्ना भइन्। नेपाली भाषामा लेखेको कुरा पढ्न सक्ने भएकी छन्।
‘आफैं कमाउँदै, पढ्दैछु। सानोतिनो हिसाब गर्न पनि जान्दछु। एबिसिडी पनि पढ्न आउँछ,’ उनी भन्छिन्, ‘बजारमा कहाँ कुन कार्यालय छ, कहाँ के सेवा पाइन्छ भन्ने कुरा थाहा पाउन सक्ने भएकी छु।’
अनितालाई घरपरिवार र आफन्तहरूले हौसला दिएका छन्। उनी ज्यालादारी गरेरै भए पनि कम्तीमा दस कक्षासम्मको पढाइ पूरा गर्न चाहन्छिन्।
घोराहीकै ५४ वर्षीया विमला मानन्धर र ५६ वर्षीया सुशीला नेपाली पनि चेतना स्कुलमा पढ्छन्। यी प्रौढ विद्यार्थीहरू चेतना स्कुलमा पढ्नेमध्येका केही हुन् जो स्कुल जाने उमेरमा जान पाएनन्।
यसरी खुल्यो चेतना स्कुल
घोराही उपमहानगर–१८, कटुवा खोलाकिनारमा छ चेतना अनौपचारिक प्रौढ विद्यालय अर्थात चेतना स्कुल। गृहिणीहरूका लागि खुलेको यो स्कुल बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म चल्छ।
दुई ठूला निजी स्कुलका बीचमा तारजालीले घेरिएको परिसरमा जस्ता पाताले छाएको भवन छ चेतना स्कुलको। यो स्कुल २०६६ सालमा स्थापना भएको हो।
स्कुलमा प्रिन्सिपल छिन् घोराहीको भरतपुरकी ४६ वर्षीया सुमित्रा पन्थी। सुमित्राले काठमाडौंमा २०६२ सालमा केही दिदीबहिनीसँग मिलेर गोँगबुमा यस्तै स्कुल खोलेकी थिइन्। कक्षा दससम्म पढाइ हुने त्यो स्कुल चालु छ।
श्रीमानको जागिर सरुवासँगै सुमित्रा पनि दाङ आइन्। उनका श्रीमान डा. जर्नादन पन्थी जनरल सर्जन हुन्। हाल उनी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव छन्।
यहाँ पनि उनले काठमाडौंकै जस्तो स्कुल खोल्ने पहल गरिन्। केही दिदीबहिनीसँग सल्लाह गरिन्। उनीसहित सुधा गौतम, उषा न्यौपाने, विमला गौतम, रजिना गौतम र सुमित्रा गौतम गरी ६ जनाको टिम बन्यो।
यही टिमले २०६६ सालमा स्थापना गर्यो चेतना अनौपचारिक प्रौढ विद्यालय। पाँच वर्ष भाडाको घरमा चलेपछि रझेनामा ऐलानी जमिनमा सर्यो।
हाल चेतना स्कुलमा ६ जना शिक्षक छन्। कर्मचारी छैनन्। सरसफाइ लगायतको काम शिक्षक र विद्यार्थी मिलेर गर्छन्। सबै शिक्षक कम्तीमा स्नातक उत्तीर्ण छन्। तीन जनाले मासिक चार हजार रुपैयाँ तलब पाउँछन्।अरूले पैसा भए पाउने नभए नपाउने प्रिन्सिपल सुमित्राले बताइन्। विद्यार्थी र शिक्षक सबै महिला छन्। स्थानीयवासी सुलोचना गौतम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष छिन्। उनी पत्रकार हुन्।
स्कुललाई घोराही उपमहानगरले वार्षिक पाँच लाख रुपैयाँ अनुदान दिने गरेको छ। जिल्लाका सांसदहरूले पनि सहयोग गर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारले पनि एकपटक पाँच लाख रुपैयाँ दिएको थियो। वडा कार्यालयले पनि सहयोग गर्ने गरेको छ। प्रिन्सिपल सुमित्राका अनुसार प्रारम्भिक समयमा तत्कालीन जिल्ला विकास समितिले पनि सहयोग गरेको थियो।
स्कुलका लागि ‘टोल विकास संस्था’ ले एक कट्ठा ऐलानी जग्गा उपलब्ध गराएको हो। संस्थापक सदस्यहरूले जनही ६० हजार रुपैयाँ लगानी गरेर स्कुल सुरू गरेका थिए। यही जेठ १५ गतेसम्ममा जम्मा २८ जना विद्यार्थी भर्ना भएका छन्। एक विद्यार्थीले मासिक चार सय रुपैयाँ शुल्क तिर्नुपर्छ।
प्रिन्सिपल सुमित्राका अनुसार बाल्यावस्थामा पढ्न नपाएर पछि पढ्न चाहनेहरूलाई शिक्षा दिने उद्देश्यले चेतना स्कुल स्थापना गरिएको हो।
‘चेतना स्कुलले पिछडिएका, घर परिवारबाट दुःख पाएका, अपहेलनामा परेका महिलाहरूलाई शिक्षा दिन्छ,’ सुमित्रा भन्छिन्, ‘विभिन्न कारणले पढाइबाट वञ्चित भएका महिलालाई एसइई उत्तीर्ण गराएर उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो।’
सुरूमा यो स्कुल ‘चेतना सामुदायिक विद्यालय’ नाममा दर्ता भएको थियो। बालबालिकाले पढ्ने विद्यालय मात्रै सामुदायिक हो भन्ने कुरा आयो।
स्थानीय तहले विद्यालयको नाम फेर्न दबाब दियो। स्थापनाको दस वर्षपछि २०७६ सालमा ‘चेतना अनौपचारिक प्रौढ विद्यालय’ नाम राखियो।
विद्यालयमा १४ वर्षमाथिका महिलाहरू भर्ना हुन पाउँछन्। श्रीमान् विदेशमा भएका, बाल्यकालमा पढ्न नपाएका र कुनै कारणले पढाइ छुटेकाहरू चेतना स्कुलमा आउने गरेको प्रिन्सिपल सुमित्राले बताइन्।
चेतना स्कुलमा सामुदायिक विद्यालयकै पाठ्यक्रम पढाइ हुन्छ। यहाँ पढेका मध्ये केही उच्च शिक्षा पढ्दै छन्। प्रिन्सिपल सुमित्राका अनुसार परिमाणमा सानै भए पनि शिक्षा चेतनाको दृष्टिले चेतना स्कुल व्यापक छ।