दाङमा प्रहरीले मोटरसाइकल जुधाएर तस्करहरू समाएको छ।
घटना शुक्रबार मध्यान्ह पौने १२ बजेको हो। बाघको छाला र हड्डी २५ लाख रूपैयाँमा बेच्ने तस्कर समूहको तयारी थियो। कतैबाट सुराक पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी पुष्पराज मल्ल नेतृत्वमा नौ जनाको टोली खटिएको थियो।
डिएसपी आफैं मोटरसाइकल चढेर लमही नगरपालिका-९ अमेलिया बजारमा पुगेका थिए। इलाका प्रहरी कार्यालय अमेलियाबाट प्रहरी निरीक्षक सुरेन्द्रविक्रम बर्तौला पनि मोटरसाइकलमै अपरेसनका लागि खटिएका थिए। उनी नेतृत्वको टोलीमा सात जना खटिए। अमेलिया बजार क्षेत्र पूर्व-पश्चिम राजमार्गमा पर्छ।
डिएसपी र इन्स्पेक्टरको टोलीले छुट्टाछुट्टै स्थानमा चेकिङ थालेको थियो।
पश्चिमबाट आउँदै गरेको बा २० प ९०७२ नम्बरको मोटरसाइकलले जाँच भइरहेको देखेपछि छलेर भागेको थियो। डिएसपी मल्लसहितको टोलीले पछ्यायो।
उनीहरूलाई रोक्न भने पनि नमानेपछि डिएसपी आफैंले चलाएको मोटरसाइकलले तस्करको मोटरसाइकललाई ठक्कर दिएर लडाएको हो। त्यसपछि प्रहरीले तस्करलाई समाउन सफल भएको डिएसपी मल्लले बताए।
‘गोली चलाउन सक्ने अवस्था थियो तर प्रहरीले संयमता अपनायो र आफ्नो मोटरसाइकलले ठक्कर दिएर उनीहरूलाई लडाएर नियन्त्रणमा लिन सफल भयौं,’ उनले भने, ‘लड्ने र लडाउने दुबैको खुट्टामा सामान्य चोट छ। यस्तो अपरेसनका क्रममा सानोतिनो चोटपटक भन्नु सामान्य कुरा हो।’
प्रहरी स्रोतका अनुसार प्रहरी आफैं ग्राहक बनेर तस्करहरूसँग बाघको छाला २५ लाखमा किन्ने कुरा गरेको थियो। प्रहरीले तस्करहरूलाई बोलाएको ठाउँ अगावै चेकपोस्ट थापेको थियो।
त्यही देखेर बाघको छाला बोकेका तस्करहरू मोटरसाइकल हुँइक्याएर भाग्न खोजेका थिए।
मोटरसाइकल पछाडि सवार रोल्पाको माडी गाउँपालिका-३ का २८ वर्षीय अमलाल घर्ती मगरले समातेको प्लाष्टिकको थैलोभित्र बाघको छाला बरामद भएको थियो। मोटरसाइकल दाङको राजपुर गाउँपालिका-७ का ३९ वर्षीय वीरबहादुर पुनले चलाएका थिए।
उनीहरूसँगै आएको अर्को भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट थप दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला सूचना अधिकारी डिएसपी राजन गौतमले बताए। भारतीय नम्बर प्लेटको यू ७८ एल ७०६९ नम्बरको मोटरसाइकलमा बोरामा लुकाइ लैजान थालेको १४१ वटा बाघको जस्तो देखिने हड्डी बरामद भएको छ।
मोटरसाइकल चालक राजपुर–७ का ४० वर्षीय आशाराम बिक छन्। स्थानीय २५ वर्षीय देवबहादुर विकले हड्डी भएको बोरा बोकेका थिए।
बरामद बाघको छालाको टाउकोदेखि पुच्छरसम्मको लम्बाइ नौ फिट ६ इञ्च र चौडाइ पाँच फिट १० इञ्चको छ। बरामद हड्डीको तौल ८ किलो चार सय ३० ग्राम रहेको डिएसपी गौतमले जानकारी दिए।
नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद बाघको छाला र हड्डीहरू आइतबार मात्रै वन कार्यालयलाई बुझाइने भएको छ।