गत वैशाख २९ गते बिहान साढे ११ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठ्वाका १४ वर्षीय विनोद चौधरी रा १ त ४८९८ नम्बरको ट्र्याक्टर बसे।
विनोद सोही ट्र्याक्टरमा लेबर काम गर्थे।
प्रहरीका अनुसार स्थानीय खोलाबाट अनधिकृत रूपमा निकालिएको बालुवा बोकेर गोठ्वाबाट ग्वारखोलातर्फ उक्त ट्र्याक्टर जाँदै थियो।
चोरीको माल भएका कारण चालकले ट्र्याक्टर तीव्र गतिमा कुदाएका थिए। त्यो पनि कच्ची बाटोमा। त्यही बीचमा विनोदको सन्तुलन खल्बलियो र उनी ट्र्याक्टरबाट भुइँमा बजारिए। पछाडिको टायरले विनोदलाई किच्यो।
ट्र्याक्टरमा सात जना सवार थिए।
घटनापछि गोठ्वा गाउँकै १९ वर्षीय रामबहादुर चौधरीले विनोदलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याए। अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले विनोदलाई मृत घोषित गरे।
विनोदको मृत्युपछि अस्पतालको सुरक्षार्थ खटिएका प्रहरीले रामबहादुरलाई घटनाबारे सोधे।
रामबहादुरले स्थानीय १९ बर्षीय किरण चौधरीले तीव्र गतिमा चलाएको ट्र्याक्टरबाट खसेर विनोदलाई पछाडिको टायरले किचेको बयान दिएका थिए।
किरणको लाइसेन्स थिएन। ट्र्याक्टर धनी पनि सोही गाउँकै २८ वर्षीय दिनेश वली हुन्। घटना सुनेलगत्तै उनले नक्कली चालक खडा गर्ने योजना बुने।
उनीहरूको योजना तयार नहुँदासम्म विनोदको शव राप्ती प्रादेशिक अस्पतालमै रह्यो।
यो बीचमा ट्र्याक्टर धनी दिनेश र अन्य बिचौलियाले विनोदका बुवा बिन्तिरामलाई अनेक तरहले भुलाइरहे। न नै बिन्तिरामलाई छोराको शव हेर्न दिइयो। विनोदका घरका परिवार अरू कोही पनि अस्पताल पुगेनन्।
वैशाख ३१ गतेमात्रै विनोदका ६५ वर्षीय बुवा बिन्तिराम चौधरी जाहेरी लिएर प्रहरीमा पुगे।
बिन्तिरामले तुलसीपुर–१८ बिजौरीका २४ वर्षीय किरण भनिने रेशम चौधरीविरूद्ध ट्र्याक्टर चालक भन्दै किटानी जाहेरी दिए।
रेशमविरूद्ध किटानी जाहेरी परेपछि आवश्यक प्रक्रिया पूरा गरी बिन्तिरामले छोरा विनोदको शव दुई दिनपछि वैशाख ३१ गते बुझेर लगे।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले ट्र्याक्टर धनी दिनेशलाई पटक पटक सम्पर्कका लागि प्रयास गरे पनि सम्पर्कमा नआएको बताउँछन् ।
‘मैले आफैं २८ पटक फोन सम्पर्क गर्दा र म्यासेज लेख्दासमेत ट्र्याक्टर धनी सम्पर्कमा आउन चाहनु भएको थिएन,’ डिएसपी मल्लले भने, ‘अन्य मेरा मातहतका प्रहरीले पनि त्यसैगरी उहाँलाई दर्जनौं पटक फोन सम्पर्क गर्न खोजेका थिए।’
डिएसपी मल्लले घटना र जाहेरीबारे बिन्तिरामसँग कुरा गरे।
झूटा जाहेरी हैन भन्दै बिन्तिरामले बचाउ गरे।
बिन्तिरामले त्यसरी झुटा जाहेरी आफ्नो राजी खुसीले पटक्कै ल्याएका थिएनन्। ट्र्याक्टर धनी दिनेश र अन्य बिचौलियाले देखाएको आर्थिक लालचका साथै डर त्रासले उनी त्यसो गर्न बाध्य भएको प्रहरी अधिकारी बताउँछन्। जाहेरीका आधारमा नक्कली चालक रेशम जेठ ३ गते पक्राउ परे।
पक्राउ परेका रेशम पनि प्रहरीलाई निकै झुक्याउन खोजे। आफू नै किरण भनिने रेशम भएको र उक्त दिन ट्र्याक्टर आफैंले चलाएको जिकिर गरिरहे।
यता प्रहरीले जेठ ७ गते रेशमका ४८ वर्षीय बुवा डसना चौधरीलाई सोधपुछका लागि इप्रका बोलायो। डसनाले छोरा रमेशको अरू कुनै नाम नभएको बताए। रमेशले भने आफूलाई गाउँ घरमा सबैले किरण भनेर पनि चिन्छन् भन्ने जिकिर गरिरहेका थिए। बाबु डसनासँगको बयानपछि रमेशले झूट बोलेको प्रहरीले थाहा पायो।
यस्तै प्रहरीले दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सबैलाई सोधपुछका लागि इप्रका झिकायो। कसैले पनि रमेशलाई चिन्न सकेनन्। त्यसपछि झन् प्रहरी अब भने रमेश नक्कली चालक हुन भन्ने कुरामा कुनै दुविधा रहेन।
अन्तिममा रमेशले पनि पैसाको लालचमा आफू झूट बोलेको साबिती बयान दिए।
स्रोतका अनुसार ३० हजार बुझ्ने सर्तमा उनी नक्कली चालक बनेर प्रहरी हिरासतमा बस्न गएका हुन्। घटना हुँदाका सक्कली चालक किरण भने अझै पनि फरार रहेको डिएसपी मल्लले बताए।
यही घटनामा जेठ २२ गते ट्र्याक्टर धनी दिनेश वली पक्राउ परेका छन्।
नक्कली चालकको भेद खुलेपछि विनोदका बुवा बिन्तिरामले फेरि जेठ २४ गते फरार चालक किरण चौधरी, ट्र्याक्टर धनी दिनेश वली, नक्कली चालक बनेर प्रहरी हिरासतमा रहेका रमेश चौधरीका विरूद्ध किटानी जाहेरी दिएका छन्।
ट्र्याक्टर चलाउने लाइसेन्स भएका रमेश चौधरीलाई नक्कली चालक बनेर हिरासतमा पठाउने अन्य व्यक्तिको पनि पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरिने डिएसपी मल्लले बताए।
‘बुधबारमात्रै थप अर्का एक जना बिचौलियका विरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने ‘उनलाई सकभर आजै पक्राउ गर्ने प्रयास भइरहेको छ।’
यो घटनामा केही जनप्रतिनिधिको पनि नाम आएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्।
पक्राउ परेकाहरूविरूद्ध सवारी ज्यान र मतियार शीर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।