मंगलबार बिहान दाङको घोराही नगरपालिका-११ का ३१ वर्षीय यमबहादुर विक नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए।
जंगल गएको केहीबेरमै उनले आफ्ना दाजु सुशीललाई फोन गरी आफूलाई गोली लागेको जानकारी गराए। खबर पाएर सुशील हतारहतार जंगल गए र घाइते भाइलाई उद्धार गरी अस्पताल पुर्याए।
उनले आफ्नो भाइलाई गोली लागेकोबारे प्रहरीलाई जानकारी गराइसकेका थिए। सुशीलले भाइ यमबहादुरलाई दिउँसो १ बजे घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका रहेछन्।
घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमख एसपी वीरबहादुर वली अस्पताल पुगे। घाइतेको अगाडि नाइटो नजिकबाट बन्दुकको गोलीको छर्रा लागेर पछाडि ढाडबाट वारपार भएको खत स्पष्ट थियो।
उनले सुशीलसँग सामान्य कुराकानी गरेर घटनाको प्रारम्भिक जानकारी लिए।
सुशीलले जंगलमा बाख्रा चराउन गएको भाइले आफूलाई गोली लागेको कुरा फोनमार्फत् बताएको एसपी वलीलाई जानकारी गराए।
‘बाख्रा चराउँदै गर्दा रोल्पा तर्फको जंगलबाट बन्दुक पड्केको आवाज आयो र पेटमा गोली लाग्यो भनेपछि म तत्काल घटनास्थल पुगेर भाइको उद्धार गरेको थिएँ,’ सुशीलको भनाइ उदृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले भने, ‘त्यसपछि उनीहरूले दिउँसो १ बजेतिर घाइते विकलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याएका रहेछन्।’
अज्ञात स्थलबाट बन्दुक पड्केको आवाज सुनेको र आफूलाई पेटमा गोली लागेको भन्ने घाइते यमबहादुरको कुरामा आशंका गर्ने आधार प्रहरीले देख्यो। कारण घाइतेको ज्यानबाट बारुदको पनि गन्ध आइरहेको थियो।
अनुसन्धानबाट प्रहरीले यमबहादुर गत माघमा मात्रै विदेशबाट घर फर्किएको थाहा पायो। उनको कसैसँग रिसिइबी भएको कुरा पनि खुलेन।
उनलाई हत्या गर्ने उद्धेश्यले कसैले गोली नै चलाउनु पर्ने त्यस्तो कुनै भरपर्दो कारण पनि नदेखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्।
घाइते यमबहादुरले आफूलाई एकाएक गोली लागेको कुरा गरे पनि त्यसमा विश्वास गर्ने आधारहरू प्रहरीले फेला पारेन।
घटनास्थलमा पुगेको प्रहरी टोलीले सर्च अभियान चलाउँदा बेलुकी पाँच बजेतिर जंगलबाट एउटा भरूवा बन्दुक र त्यो पड्किएको खोका बरामद गरिसकेको थियो।
आशंका लागेर प्रहरीले यमबहादुरका दाजु सुशीललाई सोधपुछ गर्ने क्रममा उनले बरामद भएको बन्दुक आफ्नो घरकै भएको प्रहरीलाई बताएको एसपी वलीले जानकारी दिए ।
त्यसैले प्रहरी अधिकारीले यमबहादुर आफैं घरबाटै बन्दुर लगेर जंगलमा बाख्रा चराउन गएको हुन सक्ने अनुमान गरेको छ।
उनलाई कसरी गोली लाग्यो ? यो बारेमा एसपी वीरबहादुर वलीले दुइटा आधारमा अनुसन्धान अगाडि बढाइएको बताए।
‘यमबहादुरले आफैंले आफैंलाई गोली हाने,’ एसपी वलीले भने, ‘हैन भने उनी भीरको बाटो हिँड्दै गर्दा लडेर गोलीको छर्रा लाग्न पुगेको हुनुपर्छ।’
घाइतेको उपचार जारी रहेको हुँदा त्यसबारे थप अनुसन्धान भइरहेको एसपी वलीले सेतोपाटीलाई बताए।