दाङको सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयमा दुई जना निमित्त प्रध्यानाध्यापकबीच कुर्सी खोसाखोस भएको छ।
उक्त विद्यालयमा दुई जना निमित्त प्रअका कारण विवाद भएको थियो। विद्यार्थी र अरू शिक्षकले आन्दोलन गरेका थिए। विद्यार्थीको आन्दोलन सोमबारदेखि फिर्ता भए पनि विद्यालयका दुई निमित्त प्रअबीच लफडा भने रोकिएको छैन।
‘विद्यार्थीले गेटमा लगाएको ताला दोस्रो दिन नै खोलेर सुझबुझ देखाए,’ एक अभिभावकले भने, ‘तर शिक्षक बीचको लफडा कायमै छ र उनीहरूले रमिता देखाइरहेका छन्।’
विद्यार्थीले गेटमा ताला लगाएपछि सोमबारदेखि नै विद्यार्थी तथा शिक्षक विद्यालयमा प्रवेश गर्न पाएका थिए भने पढाइ पनि सुरू भएको थियो।
मंगलबारदेखि प्रशासनमा लगाएको ताला पनि खुलेको भए पनि दुई निमित्त प्रअबीच कुर्सीको छिनाझम्टी कायमै रहनु लज्जाको विषय बनेको ती अभिभावकले बताए।
दंगीशरण गाउँपालिकाले उक्त माविमा वैशाख ११ गते बाबुराम अधिकारीलाई निमित्त प्रअमा नियुक्त गरेको थियो। विद्यालय व्यवस्थापन समितिले भने अर्का शिक्षक चन्द्रलाल जैसीलाई निमित्त प्रअ नियुक्त गरेको थियो। व्यवस्थापन समितिको निर्णयलाई चुनौती दिँदै गाउँपालिकाले अधिकारीलाई निमित्त प्रअ बनाएपछि जैसीले व्यवस्थापन समितिका अध्यक्ष लीलाधर वलीलाई गुहारेका थिए।
अध्यक्ष ओलीले मंगलबार अधिकारी पढाउन कक्षा कोठामा गएका बेला जैसीलाई निमित्त प्रअको कुर्सीमा बसालेका थिए।
बाबुराम कक्षाकोठाबाट फर्किँदा उनको कुर्सीमा जैसी बसेको देखेपछि तनाव सिर्जना भएको हो।
‘मलाई तपाईं नै सिनियर हो र तपाईं नै निमित्त प्रअको कुर्सीमा बस्न योग्य हुनुहुन्छ भनेर विद्यालयका शिक्षक साथीहरू र विद्यार्थी भाइ-बहिनीहरूले लगेर प्रअको कुर्सीमा बसाल्नुभएको हो,’ बाबुराम अधिकारीले सेतोपाटीसँग भने, ‘खुसीयालीमा उहाँले मलाई खादा माला र अबिर लगाएर स्वागत गर्नु भए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आएर फेरि म पढाउन गएको समयमा अर्कै शिक्षकलाई त्यहाँ बसाल्नुभएको रहेछ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आएर आफूलाई अपहेलना गरेको पनि उनले गुनासो गरे।
‘तपाईं प्रअको कुर्सीमा नबस्नु होला र तपाईं त्यहाँ बस्न पाउनु हुन्न बसे राम्रो पनि हुन्न भनेर अध्यक्षज्यूले भन्नुभयो,’ उनले भने, ‘तपाईंलाई हामी चिन्दैनौं भनेर थर्काउनुभयो।’
सिनियर शिक्षकका रूपमा आफूलाई गाउँपालिकाले निमित्त प्रअका रूपमा नियुक्त गरेको र विद्यालयका शिक्षक तथा विद्यार्थीले लगेर कुर्सीका बसालेको हुँदा आफूबाट कुनै गल्ती नभए पनि अपमानित गर्ने किसिमले बलजफ्ती गर्नु राम्रो नभएको अधिकारीले गुनासो गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले कसैको उक्साहटमा अधिकारी प्रअको कुर्सीमा बस्न खोज्नु राम्रो नभएको हुँदा आफूलाई बोलाएपछि गएर जैसीलाई त्यहाँ बसालेको बताए।
‘म काम विशेषले घोराही जाँदै थिएँ,’ अध्यक्ष वलीले भने, ‘मलाई चन्द्रलाल सरले मेरो कुर्सीमा अर्कै व्यक्ति बसेको भन्ने गुनासो गरेपछि विद्यालयमा गएर चन्द्रलाल सरलाई नै उक्त कुर्सीमा बसालेको हुँ।’
वली गत निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्ष उम्मेदवार बनेका थिए तर पराजित भए। जैसी एमालेनिकट शिक्षक संगठनका गाउँपालिका अध्यक्ष हुन्। त्यही भएर सिनियर शिक्षक हुँदाहुँदै व्यवस्थापन समितिले उनलाई गत माघमा निमित्त प्रअ नियुक्त गरेको थियो।
दंगिशरणका गाउँपालिका अध्यक्ष शम्भु गिरी कांग्रेसबाट निर्वाचित भएका हुन्। त्यही भएर गाउँपालिकाले व्यवस्थापन समितिको निर्णयभन्दा फरक निर्णय गरेर अधिकारीलाई निमित्त प्रअ नियुक्तिको पत्र दिएको हो। जैसी निमित्त प्रअ भएपछि सिनियर शिक्षक हुँदाहुँदै जुनियरलाई निमित्त प्रअ दिएको भनेर गाउँपालिकामा उजुरी दिएका थिए।
व्यवस्थापन समितिका अध्यक्ष वलीले भने निमित्त प्रअ नियुक्त गर्ने अधिकार आफूलाई भएको हुँदा सोही अधिकार प्रयोग गर्दै जैसीलाई निमित्त प्रअको जिम्मेवारी तोकेकाले पालिकाले निमित्त प्रअको जिम्मेवारी तोकेका व्यक्तिलाई आफूहरूले नचिन्ने प्रतिक्रिया दिए ।
‘हामीले बाबुरामजीलाई हप्ता दिन पहिले नै स्पष्टीकरण सोधेका थियौं र उहाँले अहिलेसम्म पनि त्यसको जवाफ दिनुभएको छैन,’ अध्यक्ष वलीले भने, ‘जबसम्म उहाँले स्पष्टीकरणको जवाफ दिनुहुन्न तबसम्म विव्यसले उहाँलाई चिन्दैन र उहाँलाई प्रअको कुर्सीमा बस्ने अधिकार रहँदैन।’
निमित्त प्रअ जैसीले माघमै आफूलाई विवसले निमित्त प्रअमा नियुक्त गरेको र उहिलेदेखि नै आफूले काम गर्दै आएको हुँदा एकाएक अर्कै व्यक्ति आफ्नो कुर्सीमा बस्न नमिल्ने बताए।
‘म विद्यालय नपुग्दै बाबुरामजी विद्यालय गई मेरो नामको नेम प्लेट हटाई मेरो कुर्सीमा खादा माला लगाएर बसेको देखेपछि म त आश्चर्यमा परेको थिएँ,’ जैसीले भने ‘अनि मैले मेरो पद र कुर्सीको अपमान भएको ठानी विद्यालय व्यवस्थापन समितिलाई मेरो ठाउँ देखाइदिन भन्दै विद्यालयमा बोलाएको थिएँ।’
विद्यालयमा विवाद भएपछि र पटक-पटक पत्राचार गर्दा पनि बेवास्ता गरे शिक्षासम्बन्धी ऐन कानुनमा टेकेर सिनियर शिक्षकलाई प्रअ नियुक्त गरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए।
‘विवाद भएपछि हामीले प्रअ नियुक्त गर्नु स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘यसमा हाम्रो आग्रह-पूर्वाग्रह छैन र हामीले विद्यालयमा राजनीति गर्न खोजेको हुँदै होइन।’
यो पनि पढ्नुस्: