बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार अदालत पेश गरिँदै छ।
प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई चैत २२ गते बिहान २ बजे तेल चोरी गर्दागर्दै नियन्त्रणमा लिएको थियो।
ना ४ च ५७८७ नम्बरको कारमा आएका उनीहरूले तुलसीपुरको बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल निकाल्दै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए।
आफैंले कारमा ल्याएका दुइटा जर्किनमध्ये एउटा २० लिटरको जर्किन भरी तेल निकालेर अर्को जर्किनमा भर्ने तयारी गर्दागर्दै प्रहरीले केसी र रावतलाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा उक्त कार तुलसीपुर- ८ का दिलीप विकको रहेको खुलेको थियो। विक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।
यो पनि:
कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल
पक्राउ परेका दुई युवाको बयानका आधारमा करिब दुई हप्ता पहिले कारधनी विकलाई पनि पक्राउ गरिएको डिएसपी मल्लले बताए।
कारधनीले नै दुई युवालाई डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका पहिलेदेखि नै प्रहरीले गर्दै आएको थियो। तर, कारधनी विकले भने आफू निर्दोष रहेको कुरा बताउँदै आएका थिए।
उनले सेतोपाटीसँग आफूले कार अघिल्लो दिन नै एक जना साथीले मागेको हुँदा दिएको भन्दै आफूलाई घटनाबारे कुनै जानकारी नभएको तथा आफूलाई फसाउन खोजिएको भन्दै बचाउ गरेका थिए।
कारधनीको घटनामा संलग्नता भए/नभएकोबारे प्रहरीले स्पष्ट केही बताएको छैन। तर प्रहरी अधिकारीहरू भने प्रहरीले सबै घटना विवरण बारेको बयान अदालतलाई पठाएको जानकारी दिएका छन्।
‘हामीले डिजेल चोरीको घटनाबारे पक्राउ परेका सबैसँग बयान सकेर त्यो लिखित रूपमा सरकारी वकिलसमक्ष पठाइसकेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘अब त्यसबारे अदालतले आज के निर्णय गर्छ भन्ने कुरा हामीलाई थाहा भएन।’
मंगलबार पनि डिजेल चोरीमा संलग्न सबैलाई प्रहरीले अदालत पठाएको थियो। तर, अदालतले आज पनि पेशी तोकेका कारण उनीहरूलाई अदालत पठाउन थालिएको प्रहरीले जानकारी दिएको छ।
बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट पटक/पटक डिजेललगायत विभिन्न सामग्री चोरी भइरहेको गुनासोको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारमा आएर डिजेल चोरी गर्ने क्रममा दुई युवालाई पक्राउ गरेको थियो।