भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले अहिलेसम्म नौपटक जिब्रो छेडेका छन्। यसपालि उनका २७ वर्षीय छोरा सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिँदै छन्।
बुद्धकृष्ण पेसाले एम्बुलेन्स चालक हुन्। त्यसअघि दाइ कृष्णचन्द्र बाग श्रेष्ठले बाह्रपटक जिब्रो छेडाएपछि बुद्धकृष्णले जिम्मेवारी सम्हालेका थिए। यसबीच जुजुभाइ बासँ श्रेष्ठले पनि आठपटक आफ्नो जिब्रो छेडाएका छन्।
यो वर्ष आफ्नो छोराले पहिलोपटक जिब्रो छेडेर पुस्तादेखिको जिम्मेवारीलाई निरन्तरता दिन आँटेकामा बुद्धकृष्णले खुसी व्यक्त गरे र भने, 'पोहोर–परार नै मैले यो वर्षबाट जिब्रो नछेड्ने घोषणा गरिसकेको थिएँ। छोराले 'बा अब म छेड्छु' भनेपछि निकै खुसी भएँ। उसले पहिल्यैदेखि जिब्रो छेडेको हेर्दै आएको छ। त्यसैले उसलाई धेरै कुरा थाहा छ।'
काठमाडौं उपत्यकाबाहिरका रूटमा गाडी चलाउने सुजन सानैदेखि बुवाको पछि लागेर जिब्रो छेडेको हेर्न जान्थे। एकपटक त उनी मञ्चमै पुगेछन्। उनलाई अकस्मात देखेपछि बुद्धकृष्णले सोधेछन्, 'तिमी यत्रो भीडमा कसरी यहाँसम्म आएको?'
उत्तरमा सुजनले भने, 'मलाई त हिँड्नै परेन। अरूले च्याप्दै च्याप्दै आइपुगेँ। म पनि तपाईंजस्तै जिब्रो छेड्ने।'
यसरी सानैदेखिको रहर २७ वर्ष उमेरमा बल्ल पूरा हुँदैछ। पहिलोचोटि जिब्रो छेड्न लागेका भए पनि सुजनको अनुहारमा पीडाको डरभन्दा उत्साह बढी छ।
'म त सानैदेखि आँटिलो मान्छे,' सुजनले भने, 'जे गर्नुपरे पनि अगाडि सर्थें। त्यसैले होला, डर त थोप्पो लागेको छैन। बरू वर्षौंदेखि परिवारले सम्हाल्दै आएको परम्परा धान्न पाउँदा खुसी छु।'
बुद्धकृष्ण भने पहिलोपटक जिब्रो छेड्दा उत्साहभन्दा बढी डर लागेको बताउँछन्।
आफ्नो अनुभव साट्दै उनले भने, 'छेड्छु भनिसकेको थिएँ तर मञ्चमा गएपछि बेहोस हुने हुँ कि भन्ने डर थियो। तर गर्छु भनेर बाचा गरेपछि गर्नैपर्यो। यसरी डराउँदै डराउँदै नौपटकसम्म जिब्रो छेडिसकेँ।'
जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर ब्रत बस्नुपर्छ। त्यसो गर्दा जिब्रोको स्वाद हराउने र जिब्रो नरम हुन्छ भन्ने मान्यता छ। जिब्रो छेड्न भनेर बोडेको लाकुछेँका नकर्मीहरूले वर्षौंदेखि फलामे नटुचा (मुल सुइरो) बनाउँदै आएका छन्। यो वर्षका लागि ११ इन्चको नटुचा तयार भइसकेको छ।
नकर्मीको घरमा तेलमा डुबाएर राखिएको यो नटुचा शनिबार सुजनको जिब्रोमा छेडेर परम्परा पुस्तान्तरण हुनेछ।
यसअघि जिब्रो छेडेका मान्छेको अनुभवमा कसैले सुइरोमा छोइदियो वा कुनै लुगा सुइरोमा अल्झियो भने त्यसको पीडा असह्य हुन्छ। त्यही भएर जिब्रो छेडेपछि नगर परिक्रमा गरिरहँदा भीडलाई पर राख्न मान्छेहरू खटिएका हुन्छन्।
'हामीले जिब्रो छेडेको नै संस्कृति, परम्परा जोगाउन र धर्म कमाउन हो। धर्म कमाउन गाह्रै त हुन्छ नि!' बुद्धकृष्णले उदाहरण दिँदै भने, 'मान्छेहरू धर्म कमाउन मुक्तिनाथसम्म जान्छन्। त्यहाँ पनि महादेव नै हो, यहाँ पनि महादेव नै हो। तर दु:ख गरेर त्यहाँसम्म जानु भनेको धर्म कमाउन हो। आफूले गरेको धर्मले आफैंलाई राम्रो हुन्छ।'
रथ पूजा आयोजक समितिका अध्यक्ष गणेशमान चक्रधरका अनुसार जिब्रो छेड्न जति गाह्रो भए पनि आफूले पनि छेड्न पाए हुन्थ्यो भन्ने संख्या बोडेमा धेरै भेटिन्छ।
'जिब्रो छेड्दा पीडा हुन्छ भनेर मान्छेहरू डराउनुपर्ने हो, तर बोडेका मान्छेहरू जिब्रो छेड्न लालायित छन्,' उनले भने, 'एउटै व्यक्तिले ३२ पटकसम्म पनि जिब्रो छेडेका छन्।'
उनका अनुसार ३२ पटक जिब्रो छेड्ने व्यक्ति बेखानारायण हायश्रेष्ठ हुन्। उनले १९९१ सालदेखि २०२२ सालसम्म जिब्रो छेडेका थिए।
उनी जिब्रो छेड्दा रगत आएको आफूले कहिल्यै नदेखेको बताउँछन्। यसलाई उनी भगवानको शक्तिसँग तुलना गर्दै भन्छन्, 'सानो घाउ हुँदा त हामीलाई कत्ति दुख्छ र रगत आउँछ, तर त्यसरी जिब्रो छेडेको मान्छेको रगत आएको मैले अहिलेसम्म देखेको छैन।'
परम्पराअनुसार जिब्रो छेडिसकेपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ। सहर परिक्रमा गरूञ्जेल जिब्रोबाट सुइरो झिक्नुहुन्न। बोडेकै महालक्ष्मी मन्दिर घुमेपछि बल्ल सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ।
सुइरो निकालेपछि घाउ छिटो निको होस् भनेर महालक्ष्मी मन्दिरको माटो जिब्रोमा दलिन्छ। यो माटोले जिब्रोको घाउ निको पार्न औषधिको काम गर्छ भन्ने जनविश्वास छ।
बोडेको जिब्रो छेड्ने परम्पराका पछाडि दुईवटा किम्बदन्ती प्रचलित छन्।
पहिलो किम्बदन्ती
बोडे नजिकै नीलबाराहीमा एउटा ख्याक (भूत) सधैं मान्छेको रूप धारण गरेर आउँथ्यो। ऊ प्रायः खेतीपातीमा सघाउँथ्यो र भोजभतेरमा सहभागी हुन्थ्यो। वनदेवी रिसाएका बेला भने ऊ आफ्नो असली रूप देखाउँदै मान्छेलाई साह्रै दुःख दिन्थ्यो। त्यही भएर त्यहाँका मान्छे बसाइसराइ गरेर बोडे आए।
तर बस्ती सर्दा पनि ख्याकले दुःख दिन छाडेन।
दु:खबाट मुक्ति पाउने उपाय खोज्दै जाँदा एकदिन एक तान्त्रिकले ख्याकलाई आफ्नो पासोमा पारे। पासोमा परेपछि गाउँलेहरूले आफूलाई सताएको बदला दिन ख्याकको खुट्टा तान्ने, लुगा फुकाल्ने, कपाल तानिदिने, जिब्रो छेड्नेजस्ता गतिविधि गर्न थाले।
ख्याकले दु:ख सहन नसकेर गाउँलेहरूसँग माफी मागे र अबदेखि गाउँलेलाई कहिल्यै नसताउने बाचा गरे।
त्यसपछि गाउँलेहरूले हरेक वर्ष जिब्रो छेड्न राजी भए मात्र उसलाई मुक्त गर्ने सर्त राखे।
तान्त्रिकको पासोमा परेको ख्याकले गाउँलेहरूको सर्त मञ्जुर गर्यो।
ऊ हरेक वर्ष जिब्रो छेडाउन बोडे आउन थाल्यो। मान्छेले उसलाई अरू दुःख दिएनन्। जिब्रो छेडेर नगर परिक्रमा गराई छाड्न थाले।
तर यहाँ एउटा आपत् के पर्यो भने, ख्याकलाई जिब्रो छेडेर दु:ख दिएको निलबाराहीलाई चित्त बुझेन। बोडे नगरमाथि अनेक दु:ख आइपर्न थाल्यो।
एकदिन निलबाराहीले तान्त्रिकको सपनामा आएर भनिन्, 'ख्याक पनि देवीदेवताकै एउटा स्वरूप हो। त्यसैले उसलाई दुःख नदिनू। बरू उसको बदलामा आठौं वर्षबाट अरू मान्छेको जिब्रो छेडाउनू।'
त्यही समयदेखि नगरलाई दु:खबाट मुक्त गर्न मान्छेको जिब्रो छेडेर जात्रा चलाउन थालियो।
दोस्रो किम्बदन्ती
परापूर्व कालमा निलबाराहीका मान्छे बोडेतिर आवतजावत गर्दैनथे। उनीहरू खेतीपातीमै रमाइरहेका थिए। उनीहरूलाई आफ्नो ठाउँ छाडेर बाहिर जान डर पनि थियो।
एकदिन उनीहरूले बोडेबाट कोही आगो बोकेर, सुइरोले जिब्रो छेडेर आइरहेको देखे। उनीहरू त्यो मान्छेको पछि लागे। त्यो मान्छे महालक्ष्मी मन्दिरमा पुगेपछि गायब भयो।
यो क्रम केही दिनसम्मै चल्यो। हरेक दिन लगातार पछ्याएपछि उनीहरूले त्यसरी आउने मान्छे भगवान भैरव हुन् भन्ने थाहा पाए।
यो घटनापछि उनीहरूले वर्षको एकपटक भए पनि महालक्ष्मी मन्दिर परिक्रमा गर्नुपर्छ भन्ने बुझे र कुनै एक जनाले जिब्रो छेडेर मन्दिर परिक्रमा गर्न थाले। यसो गर्दा खेतीपाती सप्रियो।
त्यसपछि नै जिब्रो छेड्ने व्यक्तिले आगो भएको अर्धचन्द्राकार महादीप बोक्ने र जिब्रो छेडेको सुइरो महालक्ष्मी मन्दिरमा ठोकेर मन्दिरको माटो घाउमा दल्ने परम्परा चलेको जनविश्वास छ।
बुद्धकृष्णलाई भने जिब्रो छेड्ने मान्छेलाई ख्याक मान्ने किम्बदन्ती चित्त बुझेको छैन। यस्तो कथाले नकारात्मक सन्देश दिन्छ भन्ने उनको भनाइ छ।
'वर्षौंदेखि आफ्नो परम्परा जोगाउँदै आएको मान्छेलाई ख्याकसँग तुलना गर्दा कति नरमाइलो लाग्छ होला!' उनले भने।
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। वास्तविक घटनाभन्दा कल्पना नै यसमा हाबी हुन्छ। सबभन्दा ठूलो कुरा त यो परम्पराले निरन्तरता पाइरहनु हो। र, त्योभन्दा ठूलो कुरा नयाँ पुस्तामा पनि यो परम्परा पछ्याउने रूचि जाग्नु हो।
भोलि वैशाख २ गते तपाईंहरू पनि बोडेको यो जात्रामा सामेल हुन आउनुहोस् है!