स्याङ्जामा आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएको छ।
वडा प्रहरी कार्यालय वालिङले कुटपिट अरोप संलग्न रहेको आरोपमा वालिङ नगरपालिका– ८ का साजन पंगेनीलाई पक्राउ गरी बुधबार अदालतबाट ७ दिन म्याद लिएको हो।
कुटपिटमा संलग्न वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले बताए।
‘हामीले कुटपिटका घटनामा संलग्नको खोजीकार्य तीव्र पारेका छौं,’ उनले भने, ‘अहिलेसम्म भेटिएका छैनन्।’
मंगलबार वडाध्यक्ष खनाल र पंगेनीले आँधीखोला संरक्षण अभियन्ता मेघ आले र दिनकर नेपाललाई बाटो छेकेर रड प्रहार गरेका थिए।
आले र नेपालले वडाध्यक्ष खनाल र पंगेनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।
कुटपिटमा संलग्न खनाल नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।
कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।