कैलाली जिल्ला कारागारमा चलान भएको दोस्रो दिनमै मृत्यु भएका युवकबारे सत्यतथ्य छानबिन गर्न एक टोली गठन भएको छ।
बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा असार १ गते चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति उपचारका क्रममा मृत्यु भएको थियो।
घटना शंकास्पद भन्दै विरोध सुरू हुनुका साथै आफन्तले शव बुझ्न नमानेपछि बुधबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवल्दार नरेश साउद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समयसीमा दिएका छन्।
मृतक पालीको शवको पोष्टमर्टम अझै हुन सकिरहेको छैन।
आफन्तले पालीको शरीरमा चोटपटक देखिएको हुँदा उनको कुटपिट गरी हत्या भएको दाबी गर्दै आएका छन्। हत्याको आशंकासहित बुधबार डडेल्धुरामा बजार र राजमार्ग समेत अवरूद्ध गरिएको थियो। त्यहाँको उद्योग वाणिज्य संघ आफ्ना साधारण सदस्य पाली मृत्यु घटनाको निष्पक्ष छानबिनको मागसहितको विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिएको छ।
यो पनि:
कारागार चलान भएको दोस्रो दिनमै बन्दीको मृत्यु