मिथिलाक कथासभ : अध्याय ८
हवाईजहाजले आकाशमा फन्को मारिरहँदा मैले (सबिना श्रेष्ठ) झ्यालबाट चियाएर जनकपुरको पहिलो झलक हेरेकी थिएँ।
जनकपुरलाई मैले जस्तो देख्ने चाहेकी थिएँ, त्यस्तै पाएँ — पोखरी नै पोखरीको सहर।
पहिलो झलककै मेरो नजरमा पाँच–छवटा पोखरी परे।
जनकपुरबारे एउटा कहावत छ — बावन कुटी, बहत्तर कुण्ड! फिरही सन्तजन झुन्डही झुन्ड!
अर्थात्, जनकपुरमा ५२ आश्रम र ७२ वटा पोखरी छन्। अनि यो सहरमा साधुसन्तहरू प्रशस्त भेटिन्छन्।
...
‘मिथिलाक कथासभ’ शृंखलाका अघिल्ला अध्यायहरूमा हामीले रामानन्दी र दसनामी सम्प्रदायका दुई जना साधुले तीन सय वर्षअघि सीताको जन्मभूमि खोज्दै आउँदा कसरी प्राचीन मिथिला वा अहिलेको जनकपुर पत्ता लगाएका थिए र कसरी यहाँ मन्दिरहरू बने, मठहरू बने र कसरी बस्ती विकास भयो भनेर विस्तारमा बताएका थियौं।
यो अध्यायमा हामी जनकपुरका पोखरीहरूको कुरा गर्दैछौं। केही पोखरीको कथा उनै साधुहरूसँग जोडिन्छ भने केही पोखरी साधुहरू यहाँ आउनुभन्दा धेरै अगाडि अर्थात् त्रेतायुग वा प्राचीन मिथिला सहर बन्ने बेलाकै हुन् भनेर विश्वास गरिन्छ।
जनकपुरका प्रत्येक पोखरीको आ–आफ्नै कथा र विशेषता छ। ती सबै कथा र विशेषता एउटै अध्यायमा समेट्न साध्य हुँदैन। त्यसैले यो अध्यायमा हामी प्रमुख पाँच पोखरीको चर्चा गर्नेछौं।
सुरूमा पौराणिक कथासँग जोडिएका पोखरीको कुरा गरौं।
तपाईंहरूले इक्ष्वाकुवंशी राजा निमिलाई त सम्झनुभएकै होला? कि बिर्सिनुभयो? वा, उनका बारेमा हामीले लेखेको अध्याय पढ्नु नै भएको छैन कि?
बिर्सिनुभयो वा पढ्नुभएको छैन भने यो कथा शृंखलाको पहिलो अध्याय ‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’ मा इक्ष्वाकुवंशी राजा निमिबारे विस्तृतमा पढ्नुस् है!
छोटकरीमा भन्दा, इक्ष्वाकुवंशी राजा निमिले आफ्नो शासन व्यवस्था कायम रहोस् भनेर महायज्ञ गराउन खोजेका थिए। त्यस निम्ति उनी आफ्ना कुलपुरोहित महर्षि वशिष्ठलाई निम्तो गर्न गए। तर महर्षि वशिष्ठ त्यो बेला इन्द्रको यज्ञमा व्यस्त हुन्छन्। त्यसैले उनी राजा निमिलाई आफू नआउञ्जेल कुर्न भन्छन्। निमिले भने वशिष्ठको आदेश नमानी अर्कै पुरोहित राखेर महायज्ञ सुरू गर्छन्। यसबाट क्रूद्ध बनेका वशिष्ठले राजा निमिलाई ‘तिम्रो देह भष्म होस्’ भनेर श्राप दिन्छन्।
महर्षि वशिष्ठको श्रापले निमिको देह भष्म हुन्छ।
त्यसपछि महायज्ञमा आएका अन्य पुरोहितहरूले निमिको मृत शरीरलाई पवित्र पानीमा मथेर नयाँ शरीर जन्माउँछन् र त्यसको नाम ‘मिथि’ राखिदिन्छन्। तिनै मिथिको नामबाट पहिले विदेह भनिने यो सहरलाई ‘मिथिला’ भन्न थालिएको किम्बदन्ती छ।
यो किम्बदन्तीमा पुरोहितहरूले राजा निमिको मृत शरीरलाई जुन पवित्र पानीमा मथेर ‘मिथि’ को जन्म गराएका थिए, त्यो पवित्र पानी गंगासागर पोखरीको हो भन्ने जनविश्वास छ। त्यसैले यो पोखरीलाई जनकपुरकै सबभन्दा महत्वपूर्ण र प्रख्यात पोखरी मानिन्छ। यहाँ हरेक साँझ गंगा आरती हुन्छ। पोखरीको सफाइ र संरक्षण अभियानसँगै साँझको आरती सुरू गरिएको हो।
गंगासागर पोखरीको सफाइ अभियान २०७० फागुन ११ गते सुरू भएको थियो। त्यसको तीन महिनापछि अर्थात् २०७१ जेठ २५ गते भारतको वनारसबाट पुजारी झिकाएर आरती र पूजा गर्न थालिएको अभियानकर्मी रामअशेष यादव बताउँछन्। उनीहरूबाटै तालिम लिएपछि अहिले यतैका पुजारीले गंगा आरती गर्छन्।
‘यो आरती जनकपुरको समृद्धिको मन्त्र हो,’ उनले भने, ‘आरती सुरू गरेपछि गंगासागर पोखरी पहिलेको तुलनामा सफा भएको छ। अरू पोखरीले पनि यसैको सिको गर्दै आरती सुरू गरेका छन्।’
यादवका अनुसार यो क्षेत्रमा गंगासागरको प्रभाव यति फैलियो, अहिले महोत्तरी मठ्यानीको लक्ष्मीसागरमा पनि महालक्ष्मी आरती सुरू भएको छ। यसको निम्ति तालिम दिन गंगासागरका पुजारी लिएर यादव स्वयं महोत्तरी गएका थिए।
यति मात्र होइन, गंगासागरकै प्रभावले जलेश्वर र वीरगन्जको घडिअर्वामा पनि आरती हुन थालेको छ।
‘हामीले जनकपुरको दूधमती नदी पनि सरसफाइ गरेका थियौं। जानकी नवमीको दिन यहाँ पनि आरती हुन्छ,’ यादवले भने।
उनले हामीलाई गंगासागर पोखरीसँग जोडिएको अर्को कथा पनि सुनाए, जुन त्रेतायुगका राजा सीरध्वज जनकसँग जोडिन्छ।
राजा जनक हरेक दिन हात्ती चढेर भारतको गंगा नदीमा नुहाउन जाँदा रहेछन्। जनकपुरबाट गंगा नदीसम्म जाँदा एकदिन भगवान रामका बुवा दशरथको नजर उनको हात्तीमा परेछ।
त्यति बेला राम र सीताको विवाहको कुरा चल्दै थियो। राजा जनकको हात्ती देखेपछि दशरथले दाइजोमा त्यही हात्ती माग्न रामलाई भनेछन्।
यसले राम दोधारमा परे।
आफ्नो बुवाको मन हात्तीमा बसेको छ भन्ने उनले बुझे। सँगसँगै, त्यो हात्तीबिना आफ्ना ससुराबुवा जनक कसरी हरेक दिन गंगा स्नान गर्न जालान् भन्ने चिन्ता पनि भयो।
भगवान विष्णुका साक्षात अवतार मानिने रामले समस्या समाधानको उपाय निकाले।
उनले गंगा मातालाई पुकारेर आफ्नो दुबिधा सुनाए, ‘हे माता, तपाईं महाराज जनकका लागि सागरको रूप लिएर जनकपुर आइदिनुहोस्। त्यसो भयो भने उहाँलाई जनकपुरदेखि हात्ती चढेर गंगा नदीसम्म जाने कष्ट हुने छैन।’
श्रीरामको आग्रहमा साक्षात गंगा जनकपुर आइन्।
त्यसपछि राजा जनकलाई गंगा स्नान गर्न नदीसम्म धाइरहनुपरेन। जनकको हात्ती प्राप्त गर्ने राजा दशरथको इच्छा पनि पूरा भयो।
यसरी श्रीरामको आग्रहमा गंगा माताले जनकपुरमा लिएको रूप नै गंगासागर हो भन्ने जनविश्वास छ। त्यसैले यो पोखरीलाई यहाँ निकै पवित्र मानिन्छ। मान्छेको जन्मदेखि न्वारन, पास्नी, ब्रतबन्ध, विवाह हुँदै मृत्युसम्मका १६ संस्कारमा यहाँको जल नभई हुँदैन।
गंगासागर नजिकै छ, धनुषसागर पोखरी। यो पोखरीको कथा पनि त्रेतायुगसँग जोडिन्छ।
कथाअनुसार राजा जनकले आफ्नी छोरी सीताको विवाह त्यो व्यक्तिसँग गरिदिने संकल्प गरेका हुन्छन्, जसले हजारौं वर्षअघि भगवान शिवले जनकपुरमा छाडेको धनुष उचालेर त्यसमा ताँदो चढाउन सक्छ।
थुप्रै सूरवीरहरू सीतासँग विवाह गर्ने लालसामा धनुष उचाल्न आउँछन् तर भएभरको बल लगाउँदा पनि डेग हल्लाउन सक्दैनन्।
अयोध्याका राजकुमार राम भगवान शिवको धनुष उचाल्न मात्र सफल हुँदैनन्, त्यसमा ताँदो चढाएर बाण हान्न खोज्दा उनको हातैमा धनुष तीन टुक्रा हुन्छ। ती तीन टुक्रामध्ये एउटा टुक्रा स्वर्गलोक पुग्छ, दोस्रो पाताल पुग्छ र तेस्रो टुक्रा मिथिलामै रहन्छ।
धनुषको जुन टुक्रा पाताल पुग्यो भन्ने कहावत छ, त्यो पाताल अन्त कहीँ नभएर धनुषसागर नै भएको विश्वास गरिन्छ।
‘रामले भाँचेको धनुषको दाहिने भाग आकाशमा गएको थियो, जुन अहिले भारतमा पर्ने रामेश्वरमको समुद्रमा तैरिइरहेको अवस्थामा भेटिन्छ। त्यही भएर धनुषाधाम दर्शन गर्न नसक्नेले रामेश्वरम दर्शन गर्दा यहाँ आएजत्तिकै धर्म कमाउँछन् भन्ने विश्वास छ,’ धनुषाधामका पुजारी भरत दास भन्छन्, ‘धनुषको देब्रे भागको टुक्रा पातालमा खस्यो, जुन जनकपुरमा रहेको धनुषसागर पोखरी हो। बीचको टुक्रा भने यहीँ धनुषाधाममै छ।’
अब हामी जनकपुरको तेस्रो महत्वपूर्ण पोखरीको कुरा गरौं, जसलाई परशुराम कुण्ड वा परशुराम ताल भनिन्छ। यो पोखरीको कथा पनि त्यही शिवजीको धनुषसँग जोडिन्छ।
किम्बदन्तीअनुसार भगवान शिवले आफ्नो धनुषको सुरक्षा जिम्मा ऋषि परशुरामलाई दिएका थिए। त्यसैले रामले धनुष भाँचेको थाहा पाएपछि परशुराम रिसले चूर भएर जनकपुर आइपुग्छन्। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन भन्ने बुझेका परशुराम आफ्नो रिस शान्त पार्न एउटा पोखरीमा तपस्या गर्छन्। पोखरीमा तपस्या गरेपछि बल्ल उनको रिस शान्त हुन्छ।
यसरी परशुराम ऋषिले रिस शान्त पार्न तपस्या गरेको भएर यो पोखरीलाई परशुराम ताल वा पोखरी भनिएको विश्वास गरिन्छ।
एकदिन हामी रिपोर्टिङ क्रममा परशुराम पोखरी गएका थियौं। त्यहाँका महन्त राधामोहन दासले हामीलाई अर्को कथा पनि सुनाए, जुन अघिल्लोभन्दा फरक छ।
यो कथाअनुसार एकदिन आफ्नो बुवाको आग्रहमा परशुरामले आफ्नी आमाको हत्या गर्छन्। बुवाले आज्ञापालन गरेको खुसीमा परशुरामलाई वरदान माग्न भन्छन्। वरदानमा परशुराम आफ्नी आमाको जीवनदान माग्छन्।
परशुरामका बुवाले ‘तथास्तु’ भनेपछि उनकी आमा जीवित हुन्छिन्। तर आमा मारेको पाप पखाल्न उनी पोखरीमा स्नान गर्न आउँछन्।
‘परशुरामले पाप पखाल्न स्नान गरेकाले यो पोखरीलाई परशुराम पोखरी भनिएको हो,’ महन्त राधामोहनले भने।
परशुराम पोखरीमा जितिया र छठ पर्वको चार दिनपछि एकादशीमा ठूलो मेला लाग्छ। करिब चार बिघामा फैलिएको यो पोखरीमा हामी पुग्दा सौन्दर्यीकरणका नाममा शिवलिंग, ठूलो कमलको फूल, पुल लगायत संरचना बन्दै थिए।
अब हामी पौराणिक कथाबाट आजभन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरमा फर्कौं।
सत्रौं–अठारौं शताब्दीमा दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोर दास जनकपुर आएपछि अन्य साधु पनि सीताको जन्मभूमि पछ्याउँदै जनकपुरधाम आएका थिए। त्यही क्रममा भगवान रामको जन्मदिन पारेर रामरहुनाथ दास भन्ने साधु बंगालबाट धनुष सर (पोखरी) आए। उनले चतुर्भज गिरीका चेलाहरूले बनाएको झुपडीनजिकै आफ्नो पाल टाँगे।
एकदिन उनी जंगलमा हिँडिरहेका थिए। धनुष पोखरीबाट उत्तर–पश्चिमतिरको पोखरीमा उनले केही गरगहना टल्किरहेको देखे। उनी जब ती गरगहना टल्किरहेको ठाउँतिर अघि बढे, जंगलका बाघहरू उनलाई देखेर गर्जन थाले।
रामरहुनाथ दास बाघसँग डराउँदैनन्। उनी नडराएको देखेपछि बाघहरूले पनि उनलाई झम्टने आँट गर्दैनन्।
रहुनाथले गहना टल्किरहेको ठाउँमा पुगेर राम्ररी हेर्छन्। त्यहाँ राजा जनकको खजानागृह रहेको पत्ता लाग्छ। त्यसपछि उनले नै त्यो पोखरीलाई रत्नसागर नाम दिन्छन्।
रामरहुनाथ दास त्यहीँ खरको सानो झुपडी बनाएर आफ्नो बाँकी जीवन बिताउँछन्।
त्यस्तै, राम दास भन्ने अर्का एक साधु थिए, जसले भारतको सीतामढीमा दिक्षा पाएका थिए। रामको राज्य अयोध्या, प्राचीन मिथिला र हनुमानको वासस्थान पत्ता लगाउने क्रममा साधुहरूले सीता जन्मिएको ठाउँ पनि फेला पारेका थिए। त्यो ठाउँ जनकपुरबाट ३२ माइल दक्षिण–पश्चिममा पर्ने सीतामढीमा रहेको विश्वास गरिन्छ।
सीता जन्मिएको ठाउँ फेला परेपछि धेरै साधुहरू त्यहाँ आफ्नो कुटी बनाएर बसेका थिए। तिनैमध्येका राम दास साधु सीतामढीबाट राजा जनकको दरबारनजिक बस्न जनकपुरधाम आउँछन्।
एकदिन उनी दरबारको पश्चिमतिर हिँडिरहेका हुन्छन्। त्यहाँ उनले अस्तव्यस्त पोखरी फेला पार्छन्। त्यो पोखरीको पानी धमिलो हुन्छ। किनारमा झारहरू उम्रिएका हुन्छन्। राम दासले त्यो पोखरी सीता कुण्ड भएको र हरेक बिहान त्यहाँ नुहाइधुवाइ गरेर सीता राजपुरोहित सतानन्दको आश्रममा संस्कृत सिक्न जान्थिन् भन्ने पत्ता लगाउँछन्। त्यसपछि उनी पोखरीको उत्तरी किनारमा कुटी बनाएर बस्न थाल्छन्।
राम दासभन्दा धेरै वर्षअघि एक अदृश्य प्राणी उक्त पोखरीमा आएको कहावत पनि छ। त्यो अदृश्य प्राणीले पोखरीनजिक आफ्नो घर बनाउँछ। पछि जब राम दास पनि त्यहाँ बस्न आउँछन्, तब त्यो अदृश्य प्राणी राम दासको तपस्या भंग गर्न मौका कुरेर बस्न थाल्छ।
राम दासले सीतामढीबाट आउँदा आफ्नो साथमा ‘श्रीमद मिथिला महात्मय’ भन्ने धार्मिक किताब ल्याएका हुन्छन्, जसमा जनकपुर, सीताको जन्म र रामसँग सीताको विवाहको महिमा हुन्छ। उक्त महिमामा सीतालाई कसरी पुज्ने, के–के चढाउने लगायत पनि वर्णन गरिएको हुन्छ।
पोखरीनजिक बनाएको सानो कुटीबाट राम दास हरेक दिन किताबका खण्डहरू ठूलो स्वरमा बाचन गर्छन्। त्यो अदृश्य प्राणीले नित्य उनको बाचन सुन्न थाल्छ। जब उसले सीता यही पोखरीमा खेल्ने र नुहाउने गर्थिन् भन्ने थाहा पाउँछ, तब ऊ रामदासको तपस्या भंग गर्नु त टाढाको कुरा, आफैं डराएर त्यहाँबाट भाग्छ।
जसरी जनकपुरमा सीता नुहाउने र खेल्ने पोखरी छ, यहाँ धेरै पोखरी भगवान नुहाउने र खेल्ने कथासँग जोडिएका छन्। लक्ष्मण सागर त्यसैमध्ये एक हो, जहाँ लक्ष्मण नुहाउँथे र पहलमानी गर्थे भन्ने विश्वास गरिन्छ।
अर्को दशरथ तलाउ भन्ने पोखरी छ, जुन राजा दशरथलाई नुहाउन बनाइएको हो भन्ने भनाइ छ।
मैथिली साहित्यका महाकवि विद्यापतिले चौधौं शताब्दीमा रचना गरेको ‘भूपरिक्रमा’ किताबमा पनि जनकपुरका केही पोखरीको उल्लेख पाइन्छ। उक्त किताबमा गंगासागर, सीता कुण्ड, दशरथ कुण्ड, विषहरि (बिसहरा) पोखरी, परशुराम कुण्ड लगायतको वर्णन छ।
भूपरिक्रमामा यी पोखरीको नाम उल्लेख हुनुले जनकपुरमा त्रेतायुगका पात्रहरू जनक, दशरथ, राम, सीता लगायतको चर्चा चौधौं शताब्दीका विद्यापतिको समयभन्दा धेरै पहिलेदेखि थियो भन्ने थाहा हुन्छ।
यिनै संकेत पछ्याउँदै सत्रौं–अठारौं शताब्दीमा साधुहरू जनकपुर खोज्न आएका थिए कि? के बेर!
जनकपुर नगरपालिकाले तयार पारेको ‘जनकपुर टाउन प्रोफाइल–२०४८’ अनुसार यहाँ जम्मा ५८ वटा धार्मिक पोखरी थिए। माछा पाल्ने र निजी गरेर ४० हेक्टर क्षेत्रफलमा फैलिएका ८२ पोखरी थिए। तीमध्ये २४.१ प्रतिशत ठिक अवस्थामा रहेको, ४३.१ प्रतिशत नराम्रो अवस्थामा रहेको र ३२.८ प्रतिशतले आफ्नो अस्तित्व नै गुमाइसकेको नगरपालिकाको प्रोफाइलमा उल्लेख छ।
अहिले जनकपुरका पोखरी र मन्दिरको विवरण राख्ने र अवस्था हेर्ने काम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गर्छ। जनकपुरको सांस्कृतिक एवं धार्मिक पर्यटन विकास र सम्पदाहरूको संरक्षण गर्ने हिसाबले परिषद स्थापना गरिएको प्रशासन अधिकृत चिरञ्जीवी ढुंगाना बताउँछन्।
जनकपुरलाई ५२ कुटी र ७२ कुण्डको सहर भनिए पनि पछिल्लो समय निजी पोखरी बन्ने क्रम बढ्दै गएकाले पोखरीको संख्या त्योभन्दा धेरै भएको उनको भनाइ छ। सन् १९११ मा जनकपुरको जानकी मन्दिर निर्माण गर्दा नै कतिपय नयाँ पोखरी बनाइएको उनले जानकारी दिए।
‘जनकी मन्दिर केही अग्लो भागमा छ। त्यति उचाइमा बनाउन धेरै माटो ल्याउनुपरेको थियो। माटो निकालेपछिका खाडलहरूमा कति पोखरी बने,’ उनले भने, ‘मडहा भन्ने पोखरी जानकी मन्दिरको भातको माड खन्याउन बन्यो। त्यस्तै, तेलहा भन्ने पोखरी जानकी मन्दिरको तेल हाल्ने नाममा बनेको थियो। जानकी मन्दिर निर्माणताका त्यस्ता धेरै पोखरी बनेका छन्।’
जति नयाँ पोखरी थपिँदै गएका भए पनि पौराणिक पोखरीहरू भने मासिँदैछन्। कति अतिक्रमणमा परेका छन् भने कति लुप्त भइसके।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निकालेको प्रतिवेदन–२०६२ अनुसार यहाँका पौराणिक पोखरीमध्ये अहिले ४९ वटा बचेका छन्। ती पनि प्रशंसा गर्न सकिने स्थितिमा नरहेको प्रतिवेदनमा छ। पाँचवटा पौराणिक पोखरी त लोप नै भइसके।
प्रतिवेदनअनुसार ‘जनक सरोवर’ वडा नम्बर १, वकिल टोलमा थियो। यो पोखरीको विषयमा अहिले मुद्दा चलिरहेको छ।
त्यस्तै, ‘अमृत कुण्ड’ जनकपुर अञ्चल अस्पतालबाट दक्षिणतिर थियो। यहाँ अहिले बाक्लो बस्ती छ। ‘पयश्विनी सर’ (पोखरी) मानकी होटलको पश्चिमतिर थियो भने ‘बलदेव सर’ कन्या माध्यमिक विद्यालयको पूर्वमा थियो। पहिले पोखरी भएको ठाउँमा अहिले निजी घरहरू बनिसकेका छन्।
यति मात्र होइन, गोपाल धर्मशालादेखि पूर्वतिर ‘गोपाल पोखरी’ थियो। त्यो पोखरी पनि अहिले हराइसक्यो।
जनकपुरका पोखरी यसरी हराउनुका साथै अतिक्रमणको चपेटामा पनि उत्तिकै परेका छन्। तेलहा पोखरी, मडहा पोखरी, चन्द्रकुप पोखरी, रामसागर, मुरली सर, पुरन्दर सर, पाकवती सर, लक्ष्मण सर, पापमोचनी सर लगायत पोखरी अतिक्रमणको शिकार छन्।
पोखरीहरू लोप हुनु र अतिक्रमणमा पर्नुका पछाडि मठ–मन्दिर सञ्चालक र गुठीहरूले राम्ररी ध्यान नदिनु मुख्य कारण भएको परिषदका प्रशासन अधिकृत ढुंगाना बताउँछन्।
‘कतिपयले पैसाका लागि पोखरी र मन्दिरका जग्गा बेचेका उदाहरण पनि छन्। हुन त कानुनले कुनै पनि बहानामा त्यस्ता सम्पदा बेच्न नपाउने भनेको छ। तर नियममा छिद्रा खोजेर सम्पदा बेच्ने प्रवृत्ति छ,’ उनले भने, ‘राम मन्दिर अगाडिको बगैंचा पनि व्यक्तिको नाममा गइसकेको थियो। हामीले थाहा पाएर रोकियो। यस्ता धेरै सम्पदा क्षेत्रका जग्गा थाहै नपाई बेचिएका छन्।’
जनकपुर सहरको परिचयमा पोखरीसँगै ५२ वटा कुटी पनि जोडिन्छ।
हामीले अघिल्लो अध्यायमा जनकपुर आएका साधुहरू कसरी विभिन्न मन्दिरका महन्त भए र कसरी उनीहरूका नाममा जग्गाहरू आए भनेर चर्चा गरेका थियौं। जुन साधुहरूका नाममा कुनै जग्गा थिएन, उनीहरू धेरैजसो पोखरीको डिलमा कुटी बनाएर बस्थे। जग्गावाला साधु र स्थानीयले दिएको खाना, चामल र पैसाका भरमा उनीहरूको गुजारा चल्थ्यो। पछि उन्नाइसौं शताब्दीतिर राज्यको जग्गामा बनेका कुटीमा सानो भवन वा मन्दिर बनाउन अनुमति दिइयो।
‘सन् १८६१ मा पूर्वी तराईको भू–भागमा राजस्व नियमावली जारी गरिँदा भाडामा जग्गा लिने किसानहरूले आजीवन त्यो जग्गा उपभोग गर्न पाए। उक्त नियमावलीले साधुहरूलाई पनि आफू बसेको भूमिमा मन्दिर बनाउने छुट दियो,’ मानवशास्त्री रिचर्ड बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाम’ मा लेखेका छन्, ‘त्यसपछि ती साधुहरूले राज्यको जग्गा कम्तिमा आफू जीवित रहुञ्जेल र राज्यलाई राजस्व तिरूञ्जेल उपभोग गर्न पाउने भए।’
त्यतिखेर बनेका कुटीहरू अहिले मन्दिर वा सानो भवनका रूपमा छन्। धेरै कुटीका नाम भगवान र पोखरीको नामसँग जोडिएका छन्। श्री गंगासागर कुटी, श्री रामजानकी कुटी, श्री लक्ष्मणशरण कुटी, श्री सीता कुञ्ज लगायत यसका उदाहरण हुन्।
कतिपय कुटी जाति विशेष छन्। जस्तो– कलवार कुटी, मुसहर कुटी, श्री कुशवाहा कुटी, श्री सोनार कुटी आदि।
जनकपुर सहर निर्माण क्रममा जुन–जुन समुदायका मान्छे आए, उनीहरू आ–आफ्नो नाममा कुटी बनाएर बस्न थालेका थिए। यसै आधारमा जनकपुरलाई ५२ कुटीको सहर भनिए पनि कुटीको संख्या धेरै भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जनाएको छ।
यहाँ प्रश्न उठ्छ, जनकपुरमा कुटीहरू धेरै छन् भने किन ५२ कुटी मात्र भनियो होला?
यस विषयमा मानवशास्त्री बरघर्टले आफ्नो किताबमा लेखेका छन्, ‘५२ भनेको कुटीहरूको ठ्याक्कै संख्या नभई साधुहरूले एउटा शुभ अंकका रूपमा भनेको हुनुपर्छ। नेपाल राज्यमा जनगणना सुरू हुनुअघि ५२ लाख जन थियो भनेर भन्ने चलन थियो। त्यस्तै, वैष्णव र दसनामी सम्प्रदायका साधुहरूले पनि आफ्नो आध्यात्मिक कुलका रूपमा ५२ अंकलाई जोड्दै आएका छन्।’
जनकपुरमा कुटीहरू बन्ने क्रम कहिलेबाट सुरू भयो भनेर अध्ययन गर्दा मानवशास्त्री बरघर्टले एउटा बिन्तीपत्र फेला पारेका थिए। त्यो बिन्तीपत्र सीता कुण्ड कुटीका महावीर दासले नाम उल्लेख नभएका एक राणालाई पठाएका थिए। ती राणा सन् १८९५ मा जनकपुर भ्रमणमा आएका थिए।
बिन्तीपत्रमा लेखिएको छ, ‘मेरो बुवा जानकी दासले यहाँको मठाधीश अधिकार कमलशरणलाई दिएका थिए। कमलशरणले त्यो अधिकार मलाई लेखेरै दिनुभएको छ। त्यस हिसाबले सीता कुण्डको मठाधीश म हुँ। तर मटियानी मठका मठाधीश देव ठाकुरले आफू यहाँको मठाधीश हुँ भनेर मलाई थर्कायो र तरबारले काट्नेसम्मको धम्की दिँदै बलपूर्वक यहाँबाट निकाल्यो। मेरो मठ अहिले देव ठाकुरले अर्कैलाई दिइसक्यो जुन सरासर गलत हो। म यहाँको मठाधीश हुँ भन्ने प्रमाण मसँग छ। त्यस कारण मलाई न्याय गरियोस् महाराज। तपाईंले जे आज्ञा गर्नुहुन्छ, म मान्नेछु।’
जनकपुरमा रहेका साधुहरूसँग पहिले जग्गा भोगचलनको अधिकार थिएन। उनीहरू अस्थायी रूपमा बस्थे र ठाउँ परिवर्तन गरिरहन्थे। सीता कुण्ड कुटीका महावीर दासले लेखेको बिन्तीपत्रअनुसार सन् १८९५ मा साधुहरू कुटी बनाएर स्थायी बसोबास गर्न थालिसकेको देखिन्छ।
मानवशास्त्री बरघर्टले पनि सन् १८३१ मा पूर्वी तराईका लागि राजस्व नियमावली जारी हुनुअघि यहाँ कुनै कुटी थिएनन् भनेका छन्। नारायण दास नामक साधु आएपछि ५२ कुटीको अवधारणा सुरू भएको विश्वास गरिन्छ। उनी रत्नसागर पोखरीका मठाधीश थिए। उनी यहाँ सन् १८७६ तिर आएको मानिन्छ।
यस हिसाबमा बरघर्टले लेखेका छन्, ‘जनकपुरका मठाधीशहरूले नै ५२ कुटीको अवधारणा स्थापित गराएका हुन्। ती कुटीहरू सन् १८७० देखि १८८० तिर बनेको हुनुपर्छ। तर त्यति बेला ३५ वटाभन्दा बढी कुटी थिएनन्।’
सन् १७९३ मा राजा रणबहादुर शाहले लेखेको एउटा अभिलेख पनि फेला परेको छ। उक्त अभिलेखमा ‘जनकपुरका मठाधीशहरूले परमानन्द दासलाई जानकी मन्दिरको मठाधीश पद दिए र उनको निधारमा चन्दनको टीका लगाएर आशिर्वाद दिए’ भनिएको छ। त्यसमा ५२ कुटी भनेर उल्लेख छैन। यस आधारमा ५२ कुटीको अवधारणा त्यति बेलासम्म नआइसकेको बरघर्ट आकलन गर्छन्।
‘कुटीहरूले गर्ने रितिथिति त जनकपुरमा पहिल्यै कायम थियो। ५२ कुटीको अवधारणा भने उन्नाइसौं शताब्दीपछि मात्र आएको हुनुपर्छ,’ उनले किताबमा लेखेका छन्।
जसरी बरघर्टले जनकपुरका ५२ कुटीलाई शुभ अंकका रूपमा राखिएको हुनसक्ने अनुमान गरेका छन्, जनकपुरका ७२ कुण्ड (पोखरी) पनि कुनै शुभ अंकसँग जोडेर भनिएको हुन सक्छ।
जे होस्, यी दुवै अंकसँग जनकपुरको विगत र वर्तमान गाँसिएको छ। यो संख्या घट्न नदिनु र संरक्षण गर्नु सबैको जिम्मेवारी हो।
जनकपुरमा पोखरीसँग जोडिएको एउटा उक्ति पनि छ-
पग–पग पोखैर माछ मखान
मधुर बोल मुस्की मुख पान
विद्या वैभव शान्तिक प्रतीक
सरस क्षेत्र मिथिलांचल थिक
अर्थात्, मिथिला क्षेत्रमा पाइलैपिच्छे पोखरी, माछा र मखान पाइन्छ। यो मिथिलाको पहिचान हो। कथा शृंखलाको अर्को अध्यायमा आइतबार हामी मिथिलाका माछा, पान, मखान र अन्य खानाहरूको कथा भन्नेछौं।
तपाईंहरू पनि हामीसँग जनकपुरका परिकारहरूको स्वाद चाख्न आइतबार आउनुस् है!
यी पनि पढ्नुहोस्: